भारतमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु

Photo- newindianexpress
Photo- newindianexpress

भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट २९ जनाको मृत्यु भएको छ।

भारतीय मिडियाहरुका अनुसार विषाक्त मदिरा सेवनबाट ६० जनाभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गत जुन १८ मा तामिलनाडुको कल्लाकुरिची जिल्लाको करुणापुरममा भएको घटनामा मारिने अधिकांश दैनिक ज्यालादारी मजदुर रहेको बताइएको छ। मदिरा सेवन गरेपछि राति अबेरसम्म यी व्यक्तिलाई झाडापखाला, वान्ता, पेट दुख्ने र आँखामा जलन हुन थालेको प्रहरीले बताएका छन्।

प्रहरीले यस प्रकरणमा एक जनालाई पक्राउ गरेको छ भने उनको साथबाट करिब दुई सय लिटर विषालु मदिरामा मिथानोल मिसाइएको बरामद भएको छ।

घटनापछि प्रदेश सरकारले कल्लाकुरिचीका कलेक्टर–एसपीलाई बर्खास्त गरेको छ। उनको स्थानमा कलेक्टरमा एमएस प्रशान्त र एसपीमा रजत चतुर्वेदीलाई नियुक्त गरिएको छ।

२० भन्दा बढीलाई कल्लाकुरिची मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। १८ जनालाई पुडुचेरी जिपमेर र ६ जनालाई सलेममा पठाइएको थियो। उनीहरुको उपचारका लागि विल्लुपुरम, तिरुवन्नमलाई र सलेमबाट औषधि ल्याइएको छ।

कल्लाकुरिची अस्पतालमा चिकित्सकको विशेष टोली बोलाइएको छ। घटनास्थलमा स्वास्थ्य विभागका उच्च अधिकारीहरु उपस्थित छन्।

यस घटनापछि कल्लाकुरिचीका डीएम श्रवणकुमार जाटवाथको सरुवा गरिएको छ भने एसपी समय सिंह मीनालाई निलम्बन गरिएको छ।

यसबाहेक कल्लाकुरिची जिल्लाको निषेधाज्ञा शाखाका प्रहरीसहित ९ प्रहरी निलम्बनमा परेको मिडिया रिपोर्टमा उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2024-06-20 14:53:00

प्रतिकृया दिनुहोस्