वैदेशिक रोजगारको ठगीविरुद्ध आईटी आर्मीद्वारा वैदेशिक रोजगार विभाग घेराउ

Break n Links
Break n Links

आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गरेको छ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरिएको हो।

आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ गरेको हो।

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए।

‘लाखौँ लाख युवासँग खर्बौं रकम ठगी भइरहेको छ। ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौँ लाख अवैध असुली भइरहेको छ। विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौँ। असुली भएको रकम फिर्ता गराउन चाहन्छौँ’, साहले भने।

उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको उनले बताए।

साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए। नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ।

नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए। यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आईटी आर्मीको माग छ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ। ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’, उनले भने।

असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे। यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

आजपा स्थायी कमिटीका सदस्य रविन्द्रसिंहले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए। अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउँन विभाग घेराउ गरेको उनले बताए।

आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले नेपालमा सदियौँदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए। नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए।

आजपा निकटको आईटी आर्मीले आज विभाग घेराउ गर्यो भने आजै अदालतको आदेशविपरीत काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गरेको तोडफोडको विरुद्धमा शान्ति सुरक्षा एवं क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा कवाड व्यवसायीले प्रदर्शन गरका छन्।

हजारौँको सहभागितामा निकालिएको सो र्यालीमा सहभागिहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका विरुद्धमा चर्को नाराबाजी समेत गरेका छन्।

‘बालेन चोर, कुर्सी छोड’, ‘हामी यहाँ छौँ, बालेन तिमि कहाँ छौँ’, ‘कवाड व्यवसायीलाई सुरक्षा दे’ लगायतका नारा उनीहरुले लगाएका छन्। यस्तै प्रदर्शनमा ‘छोटे राजाहरुको आतंक बन्द गर, कवाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ जस्ता नाराहरु आन्दोलनकारीले लगाएका छन्।

काठमाडौँ महानगरपालिकाले अदालतको आदेशविपरित तोडफोडमा उत्रिएपछि कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ उपत्यकाभित्र कवाड व्यवसायीहरुको सुरक्षा, समृद्धि र सम्मानका लागि बाध्य भएर आन्दोलनमा उत्रिएको कवाड व्यवसायीका नेता संजय साहले जनाएका छन्।

प्रकाशित मिति: : 2024-06-16 15:23:00

प्रतिकृया दिनुहोस्