उखरमाउलो गर्मीबाट बच्चालाई कसरी जोगाउने?

मिनु गोले

काठमाडाैं
getty image
getty image

उदयपुर गाईघाटकी जानुका रिजालले महाराजगञ्जस्थित कान्ती बाल अस्पतालमा तीन दिन बिताइसकिन्। सास फेर्न गाह्रो मानिरहेका ९ महिनाको छोरालाई लिएर उनी यहाँ आएकी हुन्।

‘उतैको अस्पतालमा नि चेक गरेको हो त्यहाँ त केही भएको छैन भन्नुभयो तर बच्चालाई ठिक नभएपछि यहाँ लिएर आएकी हुँ’, उनले भनिन्। कान्तीमा चेकजाँचपछि डाक्टरले बच्चालाई अक्सिजनको कमी भएको भने। उपचारपछि उनी फर्किने तरखर गर्दै थिइन्। डाक्टरका अनुसार अत्यधिक गर्मीका कारण ती शिशुलाई सास फेर्न कठिनाइ भएको हो।

चितवनकी हिरामाया न्यौपाने पनि दुई वर्षकी छोरी लिएर कान्तीमा आएकी छिन्। उनकी छोरीलाई निमोनिया भएको छ। सिटिस्क्यानपछि उनी रिपोर्टको पर्खाइमा छिन्। तर, रिपोर्ट उनले दुई दिनपछिमात्रै पाउनेछिन्।

‘गर्मीमा पनि बच्चाहरूलाई निमोनिया हुँदोरहेछ। अनि सास फेर्न गाह्रो हुँदो रहेछ’, उनी भन्छिन्, ‘त्यसमाथि मेरो बच्चालाई रुघाखोकीले पनि सताइरहेको छ।’

छिनछिनमा ज्वरो आउने अनि फेरि हराउने खालको बिरामी छोरा लिएर मनिका श्रेष्ठ पनि अस्पताल धाइरहेकी छिन्। उनका छोरा नौ वर्षका भए। बच्चाको पेट दुख्छ अनि बान्ता पनि भइरहेको छ।

उनीहरूमात्रै होइन कान्ति बाल अस्पतालमा यतिबेला बिरामी बालबालिका र आफन्तको भीडभाड थामिनसक्नु छ।

मौसम परिवर्तन र गर्मीसँगै बालबालिकालाई ज्वरो, टाइफायड, हेपाटाइटिस, भाइरल हेपाटाइटिस झाडा-बान्तालगायतका समस्याका कारण अहिले अस्पतालमा जचाउँने र भर्ना हुने बालबालिकाको संख्या बढिरहेको कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल बताउँछन्।

उनकाअनुसार गर्मीका कारण बालबालिकाहरूमा स्वासप्रश्वासमा समस्या हुने, रुघाखोकी लाग्ने तथा निमोनिया हुनेजस्ता समस्याहरू बढी देखापरिरहेका छन्। त्यस्तै अन्यत्र अस्पतालबाट रेफर भएर आउने बिरामी बालबालिकाहरू पनि उत्तिकै छन्।

तराईका जिल्लाहरूमा मात्रै नभई यसपालि पहाडतिर पनि गर्मीको डिग्री उकालो लागिरहेको छ। काठमाडौं पनि यसपालि औसतभन्दा धेरै नै तातिएको छ।

तराईका केही जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

बालबालिकालाई कसरी जोगाउने?

गर्मीका कारण बालबालिकाहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असरहरू देखिन सक्छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पुर्‍याउन अपिल गरिरहेको छ।

सामान्य असर देखिएमा यस्तो किन भइरहेको छ भन्नेबारे प्रस्ट बुझाएर नआत्तिन र नडाराउन प्रेरित गर्नुपर्छ। गर्मीमा बालबालिकालाई हलुका र फिक्का रंग भएको कपडा लगाइदिनुपर्छ।

बालबालिकामा असर हुन नदिन बेलाबेलामा पिसाब गरे कि गरेनन् भनेर ख्याल गर्नुपर्छ। गाढा पहेँलो पिसाब भए पानी नपुगेको हुनसक्छ। यस्तो अवस्थामा उनीहरूलाई पर्याप्त पानी र झोलिलो खाने कुरा खुवाउनुपर्छ।

सबै उमेर समूहका व्यक्तिमा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, अधिक टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या देखिन सक्छन् यस्ता लक्षण देखिए तत्काल बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ।

पानी पिउने, कागती पानी, नरिवलको पानी तथा फलफूलको रस, काँक्राजस्ता खानेकुरा खानु स्वस्थकर हुन्छ। मही, फलफूलको जुस, कागनी र सख्खर मिसाई बनाइएको सर्बत, सातुजस्ता खानेकुरा बालबालिकालाई दिइरहन र गर्मीबाट हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन डा.पौडेलको अनुरोध छ।

प्रकाशित मिति: : 2024-06-15 11:10:00

प्रतिकृया दिनुहोस्