सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालकाे कानुनलाई मान्य हुने गरेर आए टिकटकसँग कुनै आपत्ति नभएकाे बताएकी छन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारकाे बैठकमा बोल्दै उनले टिकटक नाममा कुनै समस्या नभएकाे बताएकी हुन्।
‘नेपालका कानुनहरु, नेपालको समाज, हाम्राे आफ्नाे सामाजिक महत्व छ। यो सबैलाई पनि मान्य हुने गरेर कुनै पनि हाम्रा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरु आउँछन् भने हामीलाई टिकटकलगायत कसैसँग पनि आपत्ति छैन, मन्त्री शर्माले भनिन्, ‘मुख्य कुरा के हाे भने टिकटक नाममा हाम्रो कुनै समस्या होइन। टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो आफ्नाे स्वनियमनको व्यवस्था थिएन, सबैले पनि स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’
उनले फेसबुक सञ्चालकहरुसँग भेटेर नेपालमा सामाजिक सञ्जाल दर्ताकाे विषयमा पनि कुरा भएकाे बताइन्।
‘हिजाे मात्रै हामीले फेसबुक सञ्चालकहरुसँग छलफल गर्याैँ, भेटेका छौँ। साउथ एसिया हेर्ने, नेपाल हेर्ने विदेशीहरू नै आउनुभएकाे थियाे। उहाँहरूसँग पनि एउटा छलफल भएकाे छ। उहाँहरुसँग हामीले उहाँहरुलाई नेपालको नियम कानून र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौँ। हामीलाई फाेकलपर्शन पनि चाहिन्छ, यहाँ दर्ता भएको हुनुपर्छ। अहिलेसम्म कुनैपनि सामाजिक सञ्जाल दर्ता हुने व्यवस्था पनि थिएन, दर्ता भएका पनि छैनन्। त्यस कारण दर्ता भएर राम्रोसँग चलाउनुपर्छ।टिकटकलगायत सामाजिक सञ्जाललाई हामीले कानुनी दायरामा ल्याउने प्रयत्न गरेका हौँ’, उनले भनिन्।