‘कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्सलगायत देशमा पठाइदिने भन्दै तीन सयभन्दा धेरै जनालाई ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय राजकुमार भट्ट, पोखराका २२ वर्षीय नविन विक र २३ वर्षीय पवन पन्त रहेका छन्।
फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि युरोप पठाउने आश्वासन देखाउँदै ठग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सोही आधारमा विदेश जान तयार भएकाहरूहरूलाई बैंक खातामा रकम जम्मा गर्न लगाएर भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
ठगी धन्दा चलाउँदै बसेका उनीहरूबाट पीडित भएकाहरूले जसको खातामा रकम जम्मा गरेको हो, उसैविरुद्ध उजुरी दिने गरेका थिए। तरउनीहरूले अरुकै खातामा रकम जम्मा गर्न लगाउने र चेक मार्फत रकम निकाल्ने गरेको पाइएको छ।
त्यही घटनामा रकम जम्मा गर्न खाता प्रयोग भएका राजकुमार बस्नेतविरुद्ध वैदेशिक रोजगार ठगी मुद्दा चलेको र अदालतले मागेको धरौटी तिर्न नसकेकाले डिल्लीबजार कारागारमा रहेको प्रहरीले जनाएको छ।
हालसम्म उनीहरूले ३०० सयभन्दा धेरै जनाबाट १५ करोड बढी रकम ठगिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। अहिले उनीहमाथि थप अनुसन्धान भइरहेको छ।