मध्य तथा पश्चिमी तराईमा अत्यधिक गर्मीको सम्भावना

आगामी ३ दिन देशका मध्य तथा पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाे छ।

आजदेखि ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै तातो हावाकाे असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएकाे छ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाकाे अनुरोध छ।

प्रकाशित मिति: : 2024-06-11 13:19:00

प्रतिकृया दिनुहोस्