काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले केपी ओलीले ‘१० हजार कराेडको काण्ड’ लुकाएकाे बताएका छन्।
फुटपाथ विस्तार गर्न भत्काएको न्यूरोड सडक विभागले टाल्न थालेपछि साेमबार सामाजिक सञ्जालमार्फत बालेनले जनतालाई झुक्काउनका लागि केपीले १० हजार करोडको काण्ड लुकाएर अर्को काण्ड निकालेको बताएका हुन्।
‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला केपी ओलीज्यू! झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन,’ उनले भनेका छन्।
गिरिबन्धु टी–इस्टेटको जग्गा सट्टापट्टाको विषय ओझेल पार्न महानगरले न्युरोड क्षेत्रमा गर्न लागेको फुटपाथ विस्तार कार्यमा अवरोध गरिएकाे पनि उनले बताए।
'यही १० हजार करोडको काण्ड' लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा बनाउन लागेको फुटपाथ फेरि सडकमा परिणत गर्न थालेको आरोप लगाउँदै उनले लेखेका छन्, ‘अब बल्ल देश बन्ने भएछ! आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो।’
काठमाडौं महानगरले क्षेत्राधिकारभन्दा बाहिर गएर सडक भत्काएपछि सडक विभागले पत्र पठाएकाे थियाे।
दुई दिनभित्र सडकको पुनर्स्थापना नगरे सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएकाे थियाे। तर महानगरले सडक नबनाएपछि विभागले नै सोमबारदेखि सडक टाल्न थालेको छ।