वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न सरकारसँग प्रभु साहको माग

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसँग गरेका छन्।

आर्थिक नगरी वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरी सरकारले सोहीअनुसार यहाँ लगानी गर्नुपर्ने मागसमेत उनले गरेका छन्।

आजपा पर्सा जिल्ला कमिटीले आज वीरगञ्जको टाउनहलमा आयोजना गरेको ‘वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत भेलालाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन्।

वीरगञ्जबाट देशको कुल राजस्वमध्ये ८० प्रतिशतभन्दा बढी उठ्ने गरेको छ। मुलुककै आर्थिक नगरी वीरगञ्जबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए।

‘वीरगञ्ज देशकै आर्थिक नगरी हो। यहाँ सबैभन्दा बढी आर्थिक कारोबार हुन्छ, सरकारको राजस्व पनि अन्तभन्दा यहाँबाट धेरै उठ्ने गरेको छ। आर्थिक नगरी वीरगञ्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारले ढिला गर्नुभएन। यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकारले यहाँबाट राजस्व उठाउने र अन्त गएर लगानी गर्नु हामीलाई स्वीकार्य छैन। वीरगञ्ज आर्थिक राजधानी हो र यहाँ त्यही अनुसार सरकारले लगानी पनि गर्नुपर्छ।’

बारा, पर्सामा देशकै सबैभन्दा बढी उद्योग व्यापार हुने ठाउँ हो। जसको केन्द्र भनेको वीरगञ्ज हो। वीरगञ्जमा सरकारले न्यनू लगानी गरिरहेको बताउँदै उनले आर्थिक नगरीको विकासका लागि सरकारले बढी भन्दा बढी बजेट दिनुपर्ने माग समेत गरे। तर हालै आएको सरकारको बजेटले समेत न्याय नगरेको बताउँदै उनले वीरगञ्जलाई आजपाले जसरी पनि आर्थिक राजधानीको रुपमा घोषणा गराएर सोही अनुसार विकासका आयोजना पनि ल्याउँने बताए।

वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउन आजपाले पहल थालेको बताउँदै अध्यक्ष साहले त्यसका लागि यहाँका उद्योगी, व्यापारी, नागरिक समाज, बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दललगायतका सबैको साथ सहयोगको आवश्यकता रहेको बताए।

सबै मिलेर एकढिक्का भई अगाडि बढने हो भने सरकारले आर्थिक राजधानीको रुपमा घोषणा गरेर विकासका आयोजना पनि सोहीअनुसार दिने उनले बताए।

देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठ्ने ठाउँका साथै उद्योग व्यापार सबैभन्दा बढी भएको वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उदेश्यले आयोजित भेलामा सहभागीलाई उनले धन्यवाद व्यक्त गरे।

भेलामा उद्योगी, व्यापारी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, बुद्धिजीवी, नागरिक समाजसहित विभिन्न क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

भेलामा सहभागीहरुले वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउनका लागि आजपाले पहल गरेकोमा धन्यवाद दिँदै त्यसका लागि संघर्षमा समेत उत्रिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैबीच आजपा पर्सा जिल्लाको सम्पन्न जिल्ला भेलाले विश्वराज पटेलको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।

प्रकाशित मिति: : 2024-05-29 18:52:00

प्रतिकृया दिनुहोस्