आगामी तीन दिनसम्म देशका तराई र केही पहाडी भू-भागमा अत्यधिक गर्मी बढ्ने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बुधाबार, बिहीबार र शुक्रबारसम्म विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई र पहाडका जिल्लाहरुमा अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार ती भू-भागहरुमा ४० डिग्री वा साेभन्दा माथिसम्म तापक्रम बढ्ने र ताताे हावा तथा ताताे लहर चल्ने सम्भावना रहेकाे छ।
महाशाखाले त्यसबाट हुन सक्ने स्वास्थ्य असरबाट जाेगिनका लागि सबैमा अनुराेध गरेकाे छ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि स्वास्थ्य समस्याहरु हुने गर्छन्।
त्यसबाट जाेगिनका लागि गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ।