नेपाली दूतावासले थाइल्यान्डमा मनायो ‘गणतन्त्र दिवस’

बिएल संवाददाता

बैंकक, थाइल्यान्ड

बैंककस्थित नेपाली राजदूतावासमा मंगलबार ‘नेपालको १७औँ गणतन्त्र दिवस’ मनाइएको छ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले नेपालको झन्डोत्तोलन गरेर गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरे।

नेपाली जनताको आन्दोलन र परिवर्तनको आकांक्षासँग जोडिएको गणतान्त्रिक व्यवस्था प्राप्तिका लागि बलिदान गर्ने ज्ञात–अज्ञात शहीदको चर्चा गर्दै राजदूत वलीले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

गणतन्त्र दिवसको अवसरमा उनले थाइल्यान्डमा रहेका नेपालका नेपाली, थाई नेपाली र म्यान्माबाट आएका नेपालीहरूलाई पनि शुभकामना व्यक्त गरे।

१७ वर्षअघि देशमा जनताको शासन–व्यवस्था स्थापना भएको ऐतिहासिक त्याे दिन सम्झिँदै राजदूत वलीले नेपाल वा नेपालबाहिर रहेका नेपालीहरूले विकास र समृद्धिका लागि गर्नसक्ने याेगदानहरू औल्याए।

उनले गणतन्त्रको संस्थागत विकास झन् मजबुत बनाउँदै लग्ने हाे भने प्रवासमा रहेकाे नेपाली समुदायले पनि सरकारसँग थप सहयोगी हालहरू फैलाउनुपर्ने बताए।

थाइल्यान्डस्थित नेपाली राजदूतावासले सत्राैँ गणतन्त्र दिवस रचनात्मक तवरले मनाएको छ। राजदूत वलीले नेपालमा उत्पादन भएका वस्तुभाउको सम्भावित विस्तारका लागि थाइल्यान्डमा दौडधुप थालेका छन्।

‘नेपालले थाइल्यान्डमा के–के वस्तु निर्यात गर्न सक्दो रहेछ। विगतमा के गरेको रहेछ? हाम्रो सम्भावना के रहेछ? त्यसबारे मैले साेधीखाेजी गरिरहेकाे छु,’ उनले भने, ‘हामी त कस्ता भएका छौँ भने सबैको बजारजस्तै। सबै बनाएको खाइदिने, अरुले बनाएको लगाइदिने, अरुले बनाएको चढिदिने, अरुले दिएको शिक्षा पढिदिने। हाम्रो याेगदानचाहिँ के हाे नि?’

उनी नेपालमा उत्पादित खाद्यान्नदेखि जडिबुटीसम्मकाे बजारीकरणकाे लाेभलाग्दाे सम्भावना देख्छन्।

गणतन्त्र दिवसको अवसरमा राजदूत वलीले विदेशमा रहेका नेपालीहरूलाई कुनै न कुनै माध्यममार्फत् जन्मभूमिसँग जोडिनसमेत आग्रह गरे।

‘मुलुकको कुन क्षेत्रलाई कसरी उठाउन सकिन्छ, याेजना बनाउनुहाेस्! खासगरी विदेशमा रहने हामीहरू एकप्रकारले आफ्नो जीवन यहाँ बाँचिरहेका हुन्छौँ। हाम्रो जीवनसँग मुलुकको जीवनलाई चाहिँ जोड्न सकिन्छ कि त!,’ राजदूत वलीले भने।

गणतन्त्र दिवसको सन्दर्भमा आयाेजित कार्यक्रममा बैंककस्थित विभिन्न नेपाली संघ–संस्थाका पदाधिकारी, विश्वविद्यालयका प्राध्यापक, व्यापार–व्यवसायमा जाेडिएकाे नेपाली समुदायको उपस्थित थियो।

र, अन्तमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘गणतन्त्र दिवस’को अवसरमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

प्रकाशित मिति: : 2024-05-28 14:36:00

प्रतिकृया दिनुहोस्