संसद् भवनमा कांग्रेस संसदीय दलको बैठक, गृहमन्त्री लामिछानेले लगाएका आरोपबारे छलफल

File Photo
File Photo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएकाे छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न बाेलाइएकाे बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरकाे ल्होत्से हलमा केहीबेरअघि सुरू भएकाे हाे।

बैठकमा आजै लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ। त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ।

कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको समेत संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ। तर प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसलगायत विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको मागबमोजिम उनलाई सदनमा बोल्न दिने सहमति गरेका थिए।

प्रतिनिधिसभाको आइतबारको बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकारसम्मेलन मार्फत सहकारीको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गर्न संसदीय समिति नबनेसम्म आफ्नो पार्टीले संसद् बैठक अघि बढ्न नदिने बताएका थिए। कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिलाउनुपर्ने र सहकारीको रकम अपचलनमा संलग्न जोसुकै होस् कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै आएको छ।

प्रकाशित मिति: : 2024-05-20 10:43:00

प्रतिकृया दिनुहोस्