केपी र रुद्रकली कतारी राजालाई ‘उपहार’

आमा फरक, बाउ एउटै

दुईदिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्तीका छावा उपहार दिने भएको छ।

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्किएका भाले केपी (खगेन्द्रप्रसाद) र पोथी रुद्रकलीलाई उपहार स्वरुप कतार पठाइने भएको हो।

केपी ४ वर्ष ७ महिना र रुद्रकली ५ वर्ष ६ महिनाका भए। उनीहरू चितवन प्रजनन् केन्द्रमा हुर्किएका हुन् भने तालिम प्राप्त हात्ती पनि हुन्। २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमणका क्रममा हात्ती उपहार दिने प्रतिबद्धता जनाएकी थिइन्।

आमा फरक, बाउ एउटै

केपी र रुद्रकलीका आमा फरक–फरक हुन्। उनीहरू पुजा कली र पोसी कलीबाट जन्मिका हुन्। तर केपी र रुद्रकली कुन आमाका हुन् भन्ने थाहा नभएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले बताए।

आमा फरक भए पनि उनीहरूको बाउ भने एउटै अर्थात् रोनाल्डो नै हो। पुनका अनुसार रोनाल्डोको प्रजनन् क्षमता चितवन राष्ट्रिय निकुञ्जमा भएका अन्य बिउ भालेको भन्दा उच्च छ।

किन केपी र रुद्रकलीलाई उपहारमा दिन लागियो?

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा छावा हात्ती १०–११ वटा रहेका छन्। ठुला हात्ती ५९ वटा छन्।

यी धेरै हात्तीमध्ये केपी र रुद्रकलीलाई सरकारले कतारी अमिर हमाद अल थानीलाई उपहार दिइँदैछ। किन यी दुई छावालाई नै उपहारमा दिन लागियो? वरिष्ठ संरक्षण अधिकृत पुनले बिएल नेपाली सेवासँग भने, ‘यी दुई छावा तालिम प्राप्त हुन्।’

उनले प्रजनन् केन्द्रमा हुर्काइएको, राम्रो तालिम प्राप्त गरेको र राम्रो प्रजनन् क्षमता भएको रोनाल्डो हात्तीबाट जन्मिएका केपी र रुद्रकलीलाई उपहारमा दिन लागिएको बताए।

‘सरकारले उपहारमा दिने भनेपछि जस्तोपयो त्यस्तो पनि दिनुभएन। राम्रो हात्ती दिनुपर्यो’, पुनले भने, ‘यी दुई हात्ती प्रजनन् केन्द्रमा राम्रोसँग हुर्किएकाले उनीहरूलाई नै उपहारमा दिन लागियो।’

कतारमा गएर यी हात्तीले प्रजनन् प्रकृयामा भाग नलिने पुनको भनाइ छ। ‘प्रजनन् प्रकृयामा सामेल गराउने भनेर हामीले पठाउने होइन’, उनले भने, ‘नर्मल्ली (सामान्यतया) पालेको हात्ती क्रस गराइँदैन।’ उनले कतारी हावा पानीमा यी हात्ती हुर्कन सक्ने बताए।

प्रकाशित मिति: : 2024-04-23 13:55:00

प्रतिकृया दिनुहोस्