सुदूरपश्चिममा फेरि किचलोः शपथ लिएकै भोलिपल्ट अल्पमतमा मुख्यमन्त्री

सुदूरपश्चिम सरकारमा फेरि किचलो सुरु भएको छ। मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवादका बिचमा बिहीबार साँझमात्र एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री बनेकोमा भोलिपल्टै (शुक्रबार)देखि अर्को किचलो सुरु भएको हाे। 

मुख्यमन्त्री बनाउन समर्थन दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद टीका उप्रेती थापाले मख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेपछि अर्को किचलो सुरु भएको हो। उनले समर्थन फिर्ता ल्याएसँगै मुख्यमन्त्रीको शपथ लिएकै भोलिपल्ट सोडारी अल्पमतमा परेका छन्। 

नाउपाकी सांसद थापालाई पार्टीले मन्त्रीमा सिफारिस गरेको थियो। तर उनलाई बिहीबार मुख्यमन्त्री सोडारीले विना विभागीय मन्त्री बनाउने र पछि मन्त्रालय फुटाएर जिम्मेवारी तोकिने बताएपछि उनी रुष्ट बनेकी हुन्।

‘एक दिुई दिनमा मन्त्रालय फुटाएर मन्त्रालय दिने कुरा भएपछि मलाई चित्त बुझेन र मैले सरकारमा सहभागी नहुने निर्णय गरेँ’, सांसद थापाको भनाइ उदृत गर्दै उनका श्रीमान रतन थापाले फेसबुकमा लेखेका छन्।

मन्त्रालय फुटाउने विषय जनमुखी नभएकाले अब समर्थन नगर्ने सांसद थापाको भनाइ छ। 

यदि मुख्यमन्त्री सोडारीलाई सत्तारुढ दलका कुनै एक जनाले मात्र समर्थन नगरेमा उनी अल्पमतमा पर्छन्। 

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। 

नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य भए पनि ५ जना रेशम चौधरी पक्षमा भएकाले सोडारीलाई समर्थन गरेका छैनन्।  

५३ सदस्यीय प्रदेशसभामा काँग्रेसका १ जना प्रदेशसभा सदस्यको निधन भएपछि अहिले प्रदेशसभामा ५२ जना सदस्य छन्। बहुमतका लागि २७ जना प्रदेशसभा सदस्यको संख्या आवश्यक पर्छ।

नाउपाकी थापाले समर्थन फिर्ता लिएको घोषणा गरेसँगै सोडारी मुख्यमन्त्री पद संकटमा परेको छ। 

प्रकाशित मिति: : 2024-04-19 12:14:00

प्रतिकृया दिनुहोस्