मोदीभक्त ‘गोदी मिडिया’को हेलिकप्टर उडान

भारतीय प्रधानमन्त्री ‘नरेन्द्र मोदी’को भक्तिगान गाएर कहिल्यै नथाक्ने ‘टीभी, रेडियो, पत्रपत्रिका र अनलाइन’लाई मानिसहरू ‘गोदी मिडिया’ भन्छन्।

लोकतन्त्रको घाँटी निमोठ्न तम्सिएका मोदीको गोदमा बसेर ‘मोदी-मोदी, हिन्दू-मुस्लिम र पाकिस्तान’ भट्याइरहने मिडिया हो- ‘आजतक’।

त्यहीँ आजतकले लोकसभा निर्वाचनअघि ‘भारतीय मतदाताको दिल छाम्न’ र ‘खुलेआम मोदीको माहोल तताउन’ महत्वाकांक्षी उडान भर्दैछ।

आजतकले आफ्ना दर्शकलाई हेलिकप्टरमार्फत् ‘राजतिलक’ देखाइरहेको छ। कतिपयले आजतको ‘हेलिकप्टर सट’लाई पत्रकारितामा नयाँ प्रयोगसमेत भनेका छन्।

आजतकले हिजो आज आफ्नो ‘लोगो झुन्ड्याएको हेलिकप्टर’ गाउँ-ठाउँमा उडाइरहेको छ।

उडिरहेको हेलिकप्टरमा ‘स्टार एंकर’ तथा कार्यकारी सम्पादक अञ्जना ओम कश्यप एकाएक देखिन्छिन्। हेलिकप्टरबाट ओर्लिएपछि कपालका धर्सा उडाउँदै दर्शक-श्रोतालाई स्वागत गर्छिन्। र, उनी आफ्नो टीमलाई हेर्न जम्मा भएको भीडतिर लाग्छिन्।

त्यसो त आजतकले बेलामौकामा ‘केही नयाँ, केही फरक’ उट्पट्याङ गरिरहेकै हुन्छ। त्यसमा पनि अञ्जना ‘भ्रामक सूचना र भड्काउ समाचार’की खेलाडी नै मानिन्छिन्।

उनी भारतभरका ‘गोदी एंकर’मध्ये सबैभन्दा बढी भारतीय जनता पार्टी, राष्ट्रिय स्वयंसेवक संघ र प्रधानमन्त्री मोदीप्रति पूर्णबफादार छिन्। कतिसम्म भने- ‘मैं हूं अञ्जना ओम कश्यप’ भन्नुपर्ने ठाउँमा ‘नमस्कार, आप देख रहे हैं हल्ला बोल आपके साथ मैं हूं अञ्जना ओम मोदी...’ भन्न भ्याउँछिन्।

हिन्दू-मुस्लिमको अराजक बहस, मोदीकाे अनावश्यक गुनगान र छिमेकी पाकिस्तानलाई सराप्दै ‘हल्ला बोल’ चलाउँछिन्।

एंकर अञ्जनाकाअनुसार ‘राजतिलक’ले लोकसभा निर्वाचनअघि सय गाउँ-सहरको उडान भर्नेछ। उनको दाबी छ- ‘सामाजिक र राजनीतिक वार्तालापको केन्द्रमा उडिरहेछ राजतिलक’।

हेलिकप्टरमा आधारित ‘चुनावी कभरेज’ आजतकले अहिलेसम्म गरेको सबैभन्दा महत्वाकांक्षी प्रचार हो। हवाई मार्गबाट जनतामाझ पुग्ने आजतक र अञ्जनाको विचार उल्लेखनीय भएपनि ‘एकतर्फी रिपोर्टिङ’ले लोकतन्त्रको आत्मा मार्दैछ।

प्रकाशित मिति: : 2024-04-18 07:40:00

प्रतिकृया दिनुहोस्