करिब–करिब विश्वका आधाभन्दा धेरै राष्ट्रका जनताले सन् २०२४ भित्र आफ्नो कार्यकारी सरकार फेर्दैछन्। त्योमध्ये नेपालको छिमेकी भारत पनि एक राष्ट्र हो। जसको चुनाव विश्वको सबैभन्दा ठूलो ‘प्रजातान्त्रिक’ अभ्यासका रुपमा पनि चिनिन्छ।
आगामी साता भारतमा आम चुनाव सुरु हुनेछ। विश्व राज्य र क्षेत्रहरूमा करिब–करिब सात चरणमा हुने यो चुनावमा लगभग एक अर्ब भारतीयले मतदान गर्नेछन्। ‘लोकसभा’का लागि हुन लागेको यही चुनावले प्रधानमन्त्रीको तय गर्नेछ।
अहिले भारतका सारा सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म चुनावी प्रक्षेपणले भरिएका छन्। सार्वजनिक ठाउँहरूमा राखिएका डिजिटल बोर्डहरू पनि चुनावी सन्देश र नेताहरूका अनुहारहरूले भरिएका छन्। र, जति पनि यस्ता चुनावी संकेतहरू छन् त्यहाँ जम्मै ‘मोदी’मात्रै छन्।
करिब १० वर्ष भारतको सत्ता केन्द्रमा रहेका मोदी यो चुनावबाट पनि फेरि प्रधानमन्त्री हुने दौडमा छन्। र भारतीय राजनीतिक समाज हेर्दा यस्तो लाग्छ उनले अब जित घोषणा हुनमात्रै बाँकी छ। अरु त सब भइसकेको छ।
नरेन्द्र दामोदरदास मोदी। सन् २०१४ सम्म उनको परिचय गुजरात राज्यको एक मुख्यमन्त्रीका रुपमा मात्रै थियो। त्यसअघिसम्म राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) र भारतीय जनता पार्टीका ‘होलटाइमर’ कार्यकर्ता। किशोरकालदेखि आफ्नो उर्जाशील जीवन उनले आरएसएसमा बिताए। त्यसपछि भाजपाको होलटाइमर हुँदै उनी पार्टीको सचिवसम्म भए।
राजनीतिमा आउनुअघि उनी आफ्ना बुवासँग रेल स्टेशनहरूमा चिया बेच्थे। पछि उनले आफ्नै चिया स्टल पनि खोले। अहिले पनि उनलाई भन्नेहरू ‘चायवाला’ प्रधानमन्त्रीका रुपमा ब्यंग्य गर्छन्।
आरएसएसको अभियानकै बेला देशयात्रामा निस्किएका मोदी एक साधक पनि हुन्। महाराष्ट्रको एक सामान्य परिवारमा जन्मिएका मोदी भारतीय संरचनाअनुसार एक ‘पिछडा वर्ग’मा सूचीकृत समुदायका हुन्। उनका बुवा आमाले जन्माएका छ जना छोराहरूमध्ये नरेन्द्र मोदी तेस्रो सन्तान हुन्।
भारतीय राजनीतिको एउटा विरासत छ, जहाँ खानदानी राजनीतिले स्थान पाउँछ अर्थात् राजनीतिमा पनि वंशवाद छ। मोदी एक त्यस्तो राजनीतिज्ञ हुन् जो आफ्नै बलबुतामा एउटा शक्तिशाली राष्ट्रको शक्तिशाली प्रधानमन्त्री बने। बनिरहेका छन् र फेरि पनि बन्नेवाला छन्। उनका पितापूर्खा कोही पनि राजनीतिमा थिएनन्।
खासगरी हिन्दु धर्मको एउटा प्रमुख धार्मिक संस्थानजस्तै बनेर राजनीतिमा उदाएको भारतीय जनता पार्टीभित्र मोदी यसरी चम्किए कि अहिले भारतीय लोकतन्त्रलाई उनको त्यही चमक भतभती पोल्ने राप बनेको छ। चुनावी वर्षकै सुरुवातमा मोदी आफैले ‘प्राण प्रतिष्ठा’ गरेको ‘राम मन्दिर’ त्यसकै एउटा उदाहरण हो जसलाई भारतीयले एउटा उत्सवमात्रै होइन ‘महान पर्व’जसरी मनाए।
गुजरातको मुख्यमन्त्री छँदा नै उनको शासन एक ‘कठोर’ सत्ताका रुपमा परिचित थियो। जबदेखि भारतीय जनता पार्टी अनि भारतीय राजनीति मोदीमय हुन थाल्यो उनको छबि पनि झन कठोर अनि क्रुर ‘प्रजातन्त्रिक’का रुपमा छिप्पिँदै जान थालेको छ। तर अनेक आलोचना, विवाद र तमाम प्रपञ्चका बीच पनि मोदी अझै उस्तै अनि उही राजनीतिक चमक लिएर छाइरहेका छन्।
गुजरातका मुख्यमन्त्री हुँदा उनले गराएको दंगामा करिब १२ सयभन्दा धेरै मानिस मारिएका थिए। तीमध्ये धेरैजसो मुस्लिम समुदायका थिए। यो दंगाका लागि मोदीलाई नै जिम्मेवार ठहर्याइएको थियो। त्यसबारे कैयौं भिडियो ‘डकुमेन्ट्री’हरू बनेका थिए। त्यो हिंसाका बारेमा अघिल्लो वर्ष बिबिसीले बनाएको एउटा भिडियो डक्युमेन्ट्री भारतमा नचल्ने बनाइएको थियो। त्यतिमात्रै होइन मोदी सरकारले ‘राजश्व विभाग’ लगाएर बिबिसीको भारतस्थित कार्यालयमा छापा पनि मारेको थियो।
अहिले पनि भारतीय जनताले मोदीको आलोचना सुन्न, पढ्न र हेर्न लगभग पाउँदैनन्। सामाजिक सञ्जालहरूमा त्यस्ता ‘कन्टेन्ट’हरू बिल्कुल निषेध गरिएको छ। अनि भारतका लगभग धेरैजसो मिडियाहरूमा त उनकै सिधा ‘कन्ट्रोल’ छ। उनको आलोचना गर्ने धेरै चर्चित पत्रकारहरूले अहिले ‘युट्युब’मार्फत आफ्ना ‘कन्टेन्ट’ बेचिरहेका छन्। कतिपय आलोचक र पत्रकारहरूलाई त मोदी सरकारले जेलको हावा पनि खुवाइसकेको छ।
चुनावकै मुखमा पनि मोदी सरकारले इडी (डिरेक्टोरेट अफ इन्फोर्समेन्ट) लगाएर विपक्षीहरू तर्साइरहेको छ। चुनावी तयारीमा लागेका आम आदमी पार्टीका नेता तथा दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाल त्यसकै एक ताजा शिकार भएका छन्। बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरेर जेल कोचिएको भारतीय राजनीतिमा यो बिरलै घटना मानिन्छ।
भारतीय राजनीतिमा कुनै बेलाको ऐतिहासिक पार्टी राष्ट्रिय कंग्रेस त अहिले सिला खोज्नुपर्ने अवस्थामा छ। यो त्यही पार्टी हो जसले भारतीय राजनीतिमा ‘गान्धी’ परिवारको विरासत बोकेको छ। नाती पुस्तासम्म आइसकेको यो पार्टीलाई अहिले लामो समय विदेशमा बसेर फर्किएका राहुल गान्धी, उनकी दिदी प्रियंका गान्धीले धानिरहेका छन्। जसलाई उनकी आमा सोनिया गान्धीले ‘संरक्षण’ गरिरहेकी छिन्।
सन् २०१९ को चुनावमा पनि नमीठो पराजयपछि राहुले पार्टी अध्यक्षको जिम्मेवारी छोडेका थिए। त्यसपछि उनी देश यात्रामा लागे। भारतमा फैलिरहेको धार्मिक हिंसाका कारण उनले ‘भारत जोडो यात्रा’ थाले र ‘करुणा अनि प्रेम’को नारा लगाए।
भारतीय समुदायमा धार्मिक दंगा (खासगरी मुस्लिम र हिन्दू) सदियौं पुरानो हो तथापि त्यसका बाछिटाहरूले अहिले पनि भारतका कतिपय ठाउँहरू जलिरहेका छन् त्यसको ताजा उदाहरण मणिपुर हो। जब भारतीय राजनीतिमा भाजपा अनि ‘मोदी युग’ सुरु भयो यो धार्मिक सद्भाव झन यसरी खलबलिएको छ कि अहिले एउटा समुदायले अर्को समुदायलाई देखि सहन नसक्ने स्थिति छ। झन् चुनावको बेला त्यसको रुप अझ प्रस्ट हुन्छ।
मोदीलाई टक्कर दिनका लागि कंग्रेससहितका केही दलहरूले एउटा गठबन्धन बनाएका छन्– ‘इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स’ अर्थात् ‘इन्डिया’ गठबन्धन। दुई दर्जन साना ठूला राजनीतिक दलहरू मिलेर बनाएको यो गठबन्धनको नेतृत्व भारतका पुराना राजनीतिक खेलाडी मानिने मल्लिकार्जुन खर्गेले गरेका छन्। तर त्यहाँ पनि गान्धी परिवारकै निर्देशन चल्छ।
मोदीहरूले सामान्यरुपमा हेरेपनि अहिलेका चुनावी प्रक्षेपणहरूले थुप्रै ठाउँमा यो गठबन्धनले भाजपा नेतृत्वको ‘नेशनल डेमोक्र्याटिक अलायन्स’ अर्थात् ‘एनडिए’लाई चुनौती दिनसक्ने संकेतहरू देखाएका छन्। यद्यपि यस्ता थुप्रै ठाउँहरूमा भाजपाले नयाँ नयाँ चुनावी ‘ट्रिक’हरू चलाइरहेको छ।
सन् २०१९मा एडिएले ३५२ सिट जितेको थियो तीमध्ये ३०३ सिट त भाजपकोमात्रै थियो। यसपालि भाजपाले ‘चार सय पार’को नारा लगाउँदै ‘फेरि मोदी सरकार’को प्रोजेक्सन गरिसकेको छ। सन् २०१४ मा पनि भाजपाले चुनावअघि नै मोदीलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेर भोट मागेको थियो।
जसले मोदीलाई यति शक्तिशाली बनाइदिएको छ कि अब पनि मोदी सत्तामै रहिरहने हो भने भारतीय लोकतन्त्र साँच्चिकै ‘मर्ने’ चिन्ता विश्लेषकहरूले गरिरहेका छन्। र, पनि भारतीय समुदायमात्रै होइन सारा विश्वभरि नै मोदीको ‘जयजयकार’ उत्तिकै छ।
‘मोदी शासन’को निरंकुश चरित्रले भारतीय लोकतन्त्रको विस्तारै हत्या हुँदै गरेको भन्दै यसपालि उनलाई चुनौती दिनका लागि ‘इन्डिया’ गठबन्धन पनि आक्रामक भएको छ। यो गठबन्धनले हालैमात्र सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अल्पसंख्यक समुदायको मन जित्न देशलाई ‘निरंकुशता’बाट बचाउनका लागि आफूहरूलाई भोटको अपिल गरेको छ। विभेद र कैयौ बाहानामा आक्रमण सहेर बाँचिरहेको भारतीय अल्पसंख्यक समुदायले आफूलाई मोदी सरकारले ‘दोस्रो दर्जा’को नागरिक बन्न बाध्य भएको बताउँछन्।
भारतीय ‘लोकसभा’मा ५४३ जना सांसद चुनिएर आउँछन्। सरकार बनाउनका लागि लगभग २७२ जना सांसदको मतैक्य हुनुपर्छ। र, चुनावी प्रक्षेपणहरूले यसपालि पनि भाजपाले सजिलै यो बहुमत पाउने र मोदी नै प्रधानमन्त्री बन्ने संकेतहरू देखाइरहेका छन्।
अप्रिल १९बाट सुरु हुने यो चुनाव लगभग ढेड महिना लामो हुनेछ। करिब ९७ करोडभन्दा बढी मतदाताले भाग लिँदै गरेको यो निर्वाचनका लागि लाखौं विद्युतीय उपकरणहरू प्रयोग हुनेछ। भारतीय ‘लोकतन्त्र’को एउटा सौन्दर्य के छ भने मतदाताहरूले ‘कसैलाई मत दिन्नँ’ भन्न पनि पाउँछन् र भोटिङ मेसिनमा त्यो अभिव्यक्ति दर्ज गर्न पनि पाउँछन्। ‘मत दिन्नँ’ भन्ने विकल्प सहितका विद्युतीय मतदान मेसिनहरू तयार गरिएका छन्।
भारतले यसपालि देश बाहिर रहेका करिब डेढ करोड भारतीय मतदातालाई मतदानमा सहभागी हुन आह्वान गरेको छ। एकजना मतदाताका लागि पनि चुनाव आयोगले मतदान गर्न पाउने व्यवस्था मिलाउँछ।
सञ्चारमाध्यमहरूका अनुसार यसपालि पूर्वोत्तर भारतमा पर्ने अरुणाचल प्रदेशमा एकजना महिलालाई मतदानको व्यवस्था मिलाउन मताधिकारीहरू २४ माइल हिँडेर पुग्दैछन्। सन् २०१९को चुनावमा गुजरातको गीर राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ने एकजना मतदाताका लागि त्यहाँ चुनावी बुथ खडा गरिएको थियो।