उपनिर्वाचन: इलाम र बझाङको अन्तिम मतदाता नामावली प्रकाशित

निर्वाचन आयोगले वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरेको छ।

आयोगको बुधबारको बैठकले उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृति गरी प्रकाशन गरेको हो।

इलाम-२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको आयोगले उल्लेख गरेकाे छ। आयोगका अनुसार २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको छ।

त्यस्तै बझाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले अध्यावधिक गरेको देशभरको पछिल्लो मतदाता संख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ। जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन्।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन्। जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन्।

त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन्। जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन्।

आयोगले यसअघि २०८० वैशाख १० गते अध्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ।              
 

प्रकाशित मिति: : 2024-04-04 14:18:00

प्रतिकृया दिनुहोस्