गृहमन्त्री लामिछानेसँग बेलायतका राजदूत फेनको शिष्टाचार भेट

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्।

बिहीबार गृह मन्त्रालयमा भएकाे भेटमा राजदूत फेनले गृहमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिए।

भेटमा गृहमन्त्रीले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गरे।

यसैगरी उनले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र बञ्चितीकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा रहेकाे बताए।

जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिए।

गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले तिनले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको गृहमन्त्रीको भनाइ छ।

विकासमा साझेदारी अनन्तकालसम्म रहने अपेक्षा गर्दै राजदूत फेनले आफ्नो आग्रहलाई स्वीकार गरी भेट दिएकोमा गृहमन्त्रीलाई धन्यवाद दिए।

प्रकाशित मिति: : 2024-03-28 13:44:00

प्रतिकृया दिनुहोस्