माघ महिनाको अन्तिम हप्ता हिमाली क्षेत्रमा जाडो बिदापश्चात् विद्यालय खुल्ने समय हो। जाडो मौसमलाई बिट मार्दै शैक्षिक संस्थाहरु विस्तारै बालबालिकालाई स्वागत गर्ने क्रममा म पनि विद्यालयको प्राङ्गणमा एउटा कुर्सी राखेर त्यस माथि बसेर न्यानो घामको आतिथ्यमा कुरिरहेँ।
विस्तारै विस्तारै साना(साना बालबालिकाहरु अर्थात् मेरा विद्यार्थीहरु विद्यालयमा आउन थाले। पहिलो दिन अलि कमै उपस्थित भए। दोस्रो, तेस्रो दिन हुँदै चौथो दिनबाट विद्यालयमा करिब ८० प्रतिशत विद्यार्थी उपस्थित भइसकेका थिए।
त्यसपश्चात् विद्यालयको दैनिक कार्य सञ्चालन सुरु भयो। कक्षाकोठा जाने, पढाउने, आउने फेरि जाने क्रम चलिरह्यो। यसो गर्दा मैले विद्यार्थीहरु त्यति मन लगाएर शिक्षण कार्यमा सहभागी भएको देखिनँ। लामो हिउँदे बिदाको प्रत्यक्ष असर परिरहेको होजस्तो लाग्यो। अनि सोचेँ, विद्यार्थीलाई शिक्षण कार्यमा सक्रिय सहभागी गराउनका लागि केही फरक तरिका अपनाउन पर्यो भन्ने लाग्यो।
आउँदो शुक्रबार पूरै दिन खेल मात्र खेल्ने भन्ने कुरा विद्यार्थीलाई लाइन लगाएर मात्र के भनेको थिएँ, विद्यार्थीहरुमा खुसीको सिमा नै रहेन। पूरै जोस-जाँगरका साथ विद्यालयको मैदान नै गुञ्जयमान हुने गरी 'हुन्छ सर!' भनिहाले।
मचाहिँ आउँदो शुक्रबारका दिन खेलिने खेलका लागि चाहिने सामग्रीहरुको जोहो गर्न थालेँ। साना बालबालिका भएकाले होला उनीहरुको शारीरिक अवस्थालाई ध्यानमा राखेर खेल चयन गर्नुपर्ने थियो भने त्यसै अनुरुपका सामग्री सँगै खेल मैदान पनि। जुन खेलले शिक्षण कार्यसँग सम्बन्धित रहि विद्यार्थीलाई मनोरञ्जन पनि प्रदान गर्नुपर्ने थियो।
शुक्रबार आयो। अरु दिनभन्दा सबेरै हामी सबै शिक्षकहरु विद्यालयमा खेल खेलाउनका लागि उपस्थित भयौँ। केही विद्यार्थीहरु हामीभन्दा पनि पहिला विद्यालयमा आइसकेका थिए। न त किताबको भारी, न त गृहकार्यको तनाव। आज पूरै स्वतन्त्र रुपमा विद्यालयमा आउन पाएकोमा विद्यार्थीहरु पनि पूरै दंग परेका थिए। केही समयपश्चात हामी सबै शिक्षकहरुले खेल खेलाउन सुरु गर्यौँ। विद्यार्थीको उत्साहपूर्ण उपस्थिति त्यसमा सबैको सहभागिताले झनै रौनक थपेको थियो।
सानादेखि ठूला विद्यार्थीहरुका लागि शारीरिक तथा मानसिक रुपले सक्ने खालका खेलहरु उमेर, तह तथा विषयवस्तुलाई ध्यानमा राखेर खेल चयन गरिएको थियो। जसले गर्दा सबै विद्यार्थीलाई खेल्न सजिलो भएको थियो। अचम्मको कुरा के थियो भने विद्यार्थीको उत्साहपूर्ण आवाजको गुञ्जनले त्यहाँ वरिपरि रहेका अभिभावक पनि आएर खेलको मजा लिइरहेका थिए। आफ्नो बच्चाले जितेको खुसी तथा हारेको दु:ख प्रष्ट देखिन्थ्यो अभिभावकमा। यसरी त्यो दिन विद्यार्थी, अभिभावक तथा शिक्षकहरुले बालबालिकाको विविध प्रतिभाहरु प्रत्यक्ष अवलोकन गर्ने मौका पाएका थिए।
यो एउटा क्रियाकलाप मात्र हो, विद्यालयमा यस्ता कयौँ क्रियाकलाप छन्, जसले गर्दा विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग गर्ने गर्दछन्। जसरी खेल क्षेत्रले गर्ने गर्दछ।
बाल्यकालदेखि नै बालबालिका कुनै न कुनै प्रकारको शारीरिक गतिविधिमा संलग्न भएकै हुन्छन्। अझ भन्ने हो भने बच्चा आमाको गर्भभित्र रहँदा पनि खेलेर नै बसेको हुन्छ। जब बालबालिका यो प्रकृतिमा जन्म लिन्छन्, उनीहरु बगैंचाका विभिन्न प्रकारका फुलजस्तै हुन आउँछन्। जुन हरेक फूल कुनै न कुनै रुपमा राम्रा हुन्छन्। तर बालबालिकाको हकमा भने यो नियम लागू हुँदैन।
बालबालिका जन्मँदा प्रतिभाशाली भएर जन्मेका हुन्छन्। बालबालिकाहरु जान्ने/नजान्ने, सक्ने/नसक्ने, असल खराब हुँदैनन्। त्यस्तो बनाउने त हामीले हो। समाजले हो। उपयुक्त हेरचाह र अवसर पाउने हो भने उनीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटित हुन्छ। तर प्रश्न के हो भने बालबालिकाले आफूमा भएका प्रतिभा उजागर गर्ने मौका पाएका छन् त? चाहे त्यो विद्यालयमा होस् या घरमा, हामीले पनि यस कार्यमा कहिल्यै सघाएका छौँ? प्रश्न यहिँनिर छ।
आमाबाबाले आफ्नो जीवनकालमा हासिल गर्न नसकेका सफलता आफ्नो बालबालिकामा देख्न थाले। पछि आफ्ना बामे सर्ने बालबालिकालाई सकिनसकी ‘क ख रा’ सिकाउन थाल्छन्। खेल्ने, कुद्ने समयमा झोलाभरि पुस्तक बोकाएर विद्यालय जान सिकाउँछन्। जहाँ खेलको कुनै महत्व नै हुँदैनजस्तो वा यो क्षेत्रले कुनै अर्थ नै राख्दैनजस्तो गरेर। आमाबाबा आफू कक्षामा कहिल्यै प्रथम हुन सकेनन् तर बालबालिकालाई किन प्रथम नभएको भन्दै गाली गर्छन्।
विद्यालयमा आज के पढ्यौ? भनेर सोध्छौँ तर साथीलाई के सहयोग गर्यौ भनेर कहिल्यै सोध्दैनौँ। आफ्नो साथीलाई दुखी भएको बेला हँसाउन के मदत गर्यौ? भनेर कहिल्यै सोध्दैनौँ। विद्यालयमा बालबालिकाले आज खेले भन्दा रिसाउने अभिभावकले खेलले के व्यवहार परिवर्तन गर्यो भनेर कहिल्यै सोध्दैनौँ। सोध्छौँ त केवल के पढिस्? गृहकार्य गरिस् कि नाई? सरले पढाए कि नाई यस्तै यस्तै...।
अबाेध रुपमा जन्मिएका बच्चा सरल हुन्छ तर ठूलो बनाउने ध्यानमा बाबाआमाले रातदिन यसो नगर-त्यसो गर, यता नजाउ-उता नजाउ, त्यो नखाउ-यो खाउ, यता बस-त्यता नबस, यो लगाउ-त्यो नलगाउ भन्दै आफ्नै बालबालिकालाई कैदी बनाएका हुन्छौँ। यस्तोमा खेलको कुरा कताबाट आओस्। यसरी कयौँ प्रतिभावान र क्षमतावान बालबालिकालाई रित्तो, काम नलाग्ने बनाएर छोड्छौँ हामीले।
बाबाआमा तथा विद्यालयले कहिल्यै सोच्दैनन् कि बालबालिकाका पनि आफ्नै इच्छा रुचि हुन्छन्। ऊ पढ्न चाहन्छ, खेल्न चाहन्छ तर कहिले? कति बेला? यसो भनिरहँदा बालबालिकालाई पनि खेल आवश्यक पर्दछ, ऊ रमाउन चाहन्छ। उनीहरु खेलेर पढ्न चाहन्छन्। जसका लागि हामीले त्यस्तो वातावरण सृजना गर्न सक्दैनौँ? बालबालिकालाई शारीरिक तथा मानसिक रुपमा तयार गर्नका लागि खेल आवश्यक छैन र? एकचोटी सोचौँ।
खेलबिना बालबालिकालाई पूर्ण मानव बनाउन असम्भव नै हुन्छ भनेका छन् जर्मनका फैड्रिक फ्रोवेलले, जसले ई.स १८३७ मा बालबालिकाले खेलबाट सिक्ने ठाउँ किन्डर गार्डेनको सुरुवात गरी विश्वभरका बालबालिकालाई खेलबाट सिक्ने अवसर दिलाए। जुन आज प्रारम्भिक बालबालिकाका लागि शिक्षाको आधारको रुपमा स्थापित भएको छ।
अभिभावक तथा शिक्षकलाई साना बालबालिकालाई कस्ता खेल खेलाउने भन्ने ज्ञानको अभाव हो या इच्छा शक्ति, जसको प्रयोग बालबालिकामाथि गर्ने गरेका छैनौँ। अब यसो नगरौँ, आउनुहोस् सम्पूर्ण अभिभावक तथा शिक्षकहरुले बालबालिकाको निमिक्त जान्नैपर्ने केही खेलका नमुनाहरु।
१. शारीरिक संचालनका खेल
उफ्रिने, दौडने झुण्डिने आदि खेलहरु। यस्ता खेलले बालबालिकाको शारीरिक सन्तुलन कायम राख्न सहयोग पुर्याउँदछन्।
२. अभिनयात्मक खेल
बालबालिकालाई रहर लागेको कुनै पनि विषयवस्तु उसले देखेको, भोगेको, कल्पना गरेको आधारमा हाउभाउसहित आवाज परिवर्तन गरी अभिनयद्वारा रमाइलो गर्ने क्रियाकलाप अभिनयात्मक खेल हो।
३. सिर्जनात्मक खेल
अनुभव गरेर, अवलोकन गरेर, कल्पना गरेर कुनै पनि वस्तु तथा नयाँ कुरा सिर्जना गर्ने क्रियाकलाप हो। जस्तै चित्र कोर्ने, माटोका सामान बनाउने, काठको गाडी बनाउने आदि।
४. विषयवस्तुमा आधारित खेल
विषवस्तुमा आधारित खेलहरु प्राय पूर्व प्राथमिक कक्षा वा बालविकास केन्द्रमा खेलाइने गरिन्छ। कक्षामा जुन विषयवस्तु शिक्षण हुन्छ, त्यसै अनुरुपको खेल खेलाइन्छ। जस्तै हाम्रो परिवारको विषयवस्तु सिकाउँदा केही बालबालिकालाई बाबाआमा, काकाकाकी बनाई शिक्षण गर्नु।
५. अन्वेषणात्मक खेल
बालबालिकाले जन्मँदैदेखि इन्द्रीयहरुको प्रयोग गरी अनुसन्धान गरिरहेका हुन्छन्। उमेर बढ्दै जाँदा आफ्ना जिज्ञासाहरु पूरा गर्ने वस्तुहरुको प्रयोगबाट खोजपूर्ण खेल खेल्ने गर्दछन्। जस्तै पानीमा कागज, चप्पलको टुक्रा राख्दा के हुन्छ? खेलौना फुटाउँदा भित्र के हुन्छ? आदि खेल खेल्ने गर्दछन्।
६. निर्माणत्मक खेल
बालबालिकाहरुले काठका टुक्रा, ढुङ्गा आदिबाट घर बनाउने, बाेतलका ढकनबाट गाडी बनाउने आदि क्रियाकलाप निर्माणात्मक खेल हुन्। उनीहरुले आफूले भौतिक रुपमा देखेका वस्तुलाई कल्पना गरेर वस्तुहरु निर्माण गर्दछन्।
यसरी साना कक्षाका बालबालिकालाई शारीरिक, संज्ञानात्मक, भावनात्मक र सामाजिक विकासमा सक्रिय राख्नका लागि साथै टिम वर्क, नेतृत्व, जवाफदेहिता र धैर्यता सिकाउनका लागि पनि खेल आवश्यक छ।
बालबालिकाको आत्म विश्वास निर्माण गर्ने, आत्म सम्मान सुधार गर्ने, सामाजिक सीपहरु सिकाउन र आत्मियताको भावना आदान प्रदान गर्ने खेलले ठूलो मदत गर्दछ। जसका लागि हरेक विद्यालय होस् या घरले कुनै शुक्रबार कुर्नु पदैन। यस्ता खेल खेलाउनका लागि हामी जहिले जहाँ पनि सजिलै खेल खेलाउन सक्दछौँ। मात्र इच्छा शक्ति हुनुपर्यो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहमा बालबालिकाको सहभागिता प्रवर्द्धनसँग सम्बन्धित खेलकुद, बाल उद्यान, बालक्लब तथा बालसञ्जाल सञ्चालन र व्यवस्थापन गर्ने तथा वडालाई बालमैत्री बनाउने जस्ता कार्यहरु उल्लेख भएका छन्।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा १४ मा प्रत्येक बालबालिकालाई निजको उमेर र रुचिअनुसारको खेल खेल्ने र खेलकुदमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गरिएको छ। साथै प्रत्येक विद्यालयले नियमित पठनपाठनका अलावा खेलकुदको उचित व्यवस्था मिलाउनुपर्ने कानुनी प्रावधानसमेत रहेको छ। यस्तो कार्य गर्न हामी किन ढिलो गर्ने?
(लेखक हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनले नेतृत्व गरेको स्कुलमा बालमैत्री वातावरणमा अध्यापन भइरहेको छ।)