अब को छ र बाबुरामसँग? आफैँले बटारेको, आफैँ बटारिएको राजनीतिको यो बाटोमा अब बाबुराम एक्लै छन्- सहयात्री श्रीमती हिसिला अनि छोरी मानुषीका पारिवारिक साथमा…।
‘आफ्नो उद्देश्यको पूर्ति गर्न संघर्षरत हुन कहिल्यै डराउने छैन…’ २०३५ सालको वैशाख १ गते नयाँ वर्षका दिन इन्जिनियरिङ पढ्दै गरेको २४ वर्षे ‘गोर्खे’ ठिटोले आफ्नो एउटा डायरीको पानमा लेखेको थियो, ‘मलाई आफ्नो शक्तिमा पूर्ण भरोसा छ र ज्ञान हासिल गर्न र आत्मानुशासनमा रहन कहिल्यै चुक्नेछैन...।’
त्यसको करिब १७ वर्षपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे मागपत्र बुझाउँदा त्यो ठिटो अलि पाको भइसकेको थियो। ४० को उकालो लाग्दै गर्दा त्योबेला डा. बाबुराम भट्टराई ‘संयुक्त जनमोर्चा’का संयोजक भइसकेका थिए।
२०५२ साल माघ २१ गते देउवालाई दिइएको त्यो ४० बुँदे मागपत्र फगत एउटा ‘डेलिगेसन’मात्रै थिएन, बरु त्यो एउटा भयानक युद्धको निम्तो थियो। २०५२ साल फागुन १ गते रोल्पाको होलेरीलगायत देशका केही प्रहरी चौकीमा आक्रमण गरेर माओवादीले राज्यविरुद्ध उद्घोष गरेको ‘जनयुद्ध’का एक परिकल्पनाकार थिए डा. बाबुराम भट्टराई।
‘आर्किटेक्ट इन्जिनियरिङ’ पढ्दा जति ‘स्केच’हरू बनाए, सायद त्योभन्दा धेरै जीवनमा राजनीतिक दस्तावेजहरू कोरिसकेका छन्। जनयुद्धको त्यस्तै एउटा स्केचमाथि कुँदिएका ४० बुँदाका सारा अक्षरहरू बाबुरामकै थिए। जसमा त्योबेला नेकपा माओवादीको एउटा राजनीतिक जीवन पनि लेखिएको थियो।
करिब १० वर्षपछि ‘युद्ध’ सकेर संसदीय राजनीतिक यात्राको क्यानभास बनेको ‘१२ बुँदे’सम्म आइपुग्दा ती बाबुरामहरूका मन फाटिसकेका थिए। जसलाई संसदीय राजनीतिको यो यात्राले छिन्नभिन्न बनाइदियो।
आफैँले खनेको जगमा धेरै बेर अडिनै नसक्ने बाबुरामको राजनीतिक जीवनमा अहिले उनी एक्लै छन्। अनि कुनैबेला उनी आफैँले कल्पना गरेका ‘एक स्त्री’ र एक सन्तान।
जसलाई उनले करिब ४७ वर्षअघि त्यही डायरीमा आफ्ना ‘तन्नेरी’ कल्पनामा यसरी सजाएका थिए- ‘आफूलाई यो घोषित मार्गबाट विचलित नगराई यसैमा लाग्न अरू प्रेरणा दिने कुनै स्त्री भेटिए विवाह गरेर व्यक्तिगत जीवन चलाउन पनि हिचकिचाउने छैन। किनकि सन्तानोत्पादनद्वारा मानवको वंश कायम गर्नु पनि मानिसको एउटा कर्तव्य हुन्छ। परन्तु वासनाले आफूलाई वशमा पार्न कहिल्यै दिने छैन।’
व्यक्तिगत जीवन, राजनीतिक यात्रा अनि राजनीतिका ‘वाद’ र जीवन सिद्धान्तका वैचारिक बाटाहरूमा आफूलाई धेरै नै मन्थन गरिहिँड्ने बाबुराम अहिले राजनीतिको त्यही बाटो लगभग एकल यात्री बनेका छन्। जुन बाटोमा उनी जीवनका लगभग ४५ वर्ष उकाली-ओराली गरे।
आफैँले परिकल्पना गरेको एउटा आन्दोलन थियो, ‘जनयुद्ध’। जहाँ उनले प्रचण्डलाई आफ्नो नेतृत्व स्वीकार गरे। जंगल युद्ध लड्दा उनी सधैँ अघिल्लै मोर्चामा रहे। बाहिरी मोर्चा आफूले सम्हालेर भट्टराईले जहिल्यै प्रचण्डलाई रहस्यमी बनाइरहे।
राजनीतिक सिद्धान्तका ठेलीहरूमा आफूलाई निकै घोटिसकेका बाबुरामको त्यही ‘विभूती’ हो प्रचण्डले घसेको, जसलाई प्रचण्डले ‘राजनीतिको चन्दन’ बनाए। राजनीतिको त्यही ‘तीलक’ आज प्रचण्ड जीवनको एउटा ‘शक्ति’ बनेको छ, जसको गुरुत्वमा देशका ‘नयाँ’-पुराना सबका सब पार्टीहरू बेसुर नाचिरहेका छन्।
जनयुद्ध थियो, बाबुराम थिए र त्यो हतियारको युद्ध भए पनि एउटा राजनीतिक आन्दोलन थियो। बाबुराम थिए तर उनको छायामा प्रचण्ड झुल्किन्थे।
आफ्नै राजनीतिक जीवनको उचाई छेकिरहेको यो भयानक छायाबाट संसदीय राजनीतिको छोटो यात्रामै बाबुराम अलग भए।
युद्धताका भारतसँग लड्नका लागि ‘सुरुङ युद्ध’को परिकल्पना गरेका प्रचण्ड र बाबुरामबीच भारत र नेपालका संसदीय राजनीतिक दलहरूलाई हेर्ने दृष्टिकोणमा सधैँ बेमेल रह्यो। जसको परिणाम हो- २०७२ सालपछिको अलग बाटो।
आफ्नो राजनीतिक कद होचिने डर बोकिरहेका प्रचण्डले युद्धकै बेला पनि पटक पटक बाबुरामलाई ‘कारबाही’ गरे। अघोषितरुपमा प्रचण्डले ‘बन्दी’ पनि बनाएका उनै बाबुराम पछि संसदीय यात्रामा प्रचण्डका एक ‘तालुकदार’ पनि भए।
संसदीय यात्राको सुरुवातमै २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनबाट ठूलै संसदीय हिस्सा बटुलेको माओवादी सत्ताको खेलमा भने धेरै लामो यात्रा गर्न सकेन। जंगलबाट आएर सिधै प्रधानमन्त्री बनेको ९ महिनामै प्रचण्ड ढले। बाबुराम प्रधानमन्त्री बने।
संविधानसभाको म्याद सकिँदै गर्दा सरकार सम्हालेका बाबुराम भट्टराईले न संविधान नै जारी गर्न सके, न संविधानसभा जोगाउन नै। बरु त्यसलाई विघटन गर्न लगाएर प्रचण्डले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको प्रमुख बनाइदिए। नेपालको संसदीय इतिहासमा यस्ता राजनीतिक घटनाहरू बिरलै दर्ज भएका छन्।
खिलराज रेग्मीले सम्हालेको मन्त्रिपरिषद्ले २०७० सालमा संविधानसभाको दोस्रो चुनाव गरायो। जहाँ माओवादी खुम्चियो। नेपाली काँग्रेस पहिलो दल बनेर आयो। नेपाली काँग्रेस(सुशील कोइराला)कै नेतृत्वमा २०७२ साल मंसिर ३ गते नेपालले नयाँ ‘लोकतान्त्रिक गणतन्त्रात्मक’ संविधान पायो।
त्यसको करिब ६ दिनपछि डा. बाबुराम भट्टराई एउटा लामो ‘अभीष्ट’को यात्रामा लागे। उनले आफ्नो माउ पार्टी नेकपा माओवादी छोडे। जनयुद्ध त १० वर्षअघि नै छुटिसकेको थियो जंगलमै।
दशकौँसम्म सँगसँगै यात्रा गरेका आफ्ना राजनीतिक सारथीहरूलाई छोडिहिँडेका बाबुरामसँग केही थान मान्छे थिए, उनकी श्रीमती थिइन् अनि पढ्दै गरेकी छोरी। जो बाबुराम भट्टराई-हिसिला यमीकी एकमात्रै सन्तान पनि हुन्- मानुषी यमी।
उनीहरूका ‘गुरु’ मोहन वैद्य किरण अनि अर्का ‘योद्धा’ नेत्रविक्रम चन्द विप्लव र बादलहरू त त्योभन्दा अघि नै प्रचण्डाकाशबाट फाटिसकेका थिए। टुक्रा टुक्रा मनहरू बाँधेर बसिटिकेका बाबुराम पनि त्यसपछि आफ्नो एउटा बाटोमा लागे, जहाँ उनले नेपाली राजनीतिलाई ‘अग्रदिशा’दिन भन्दै ‘नयाँ शक्ति’ जन्माए, पार्टीविहीन भएको करिब ८ महिनापछि।
अर्थात् २०७३ साल जेठ ३० गते।
खजमज्जिएको नेपाली राजनीतिको यो बाटोमा बाबुरामको नयाँ यात्रा आफैँमा एउटा अभीष्टमात्रै थियो। जहाँ उनका ‘आखाँ’हरू त्यसको कुनै भेउ पाउनै सकेनन्।
रित्तो सिद्धान्त, भुत्तो राजनीति
‘माओवादी अनि यस्ता परम्परागत कम्युनिस्ट पार्टीहरूको औचित्य अब नेपाली राजनीतिबाट समाप्त भइसकेको छ’, आफैँले रचेको एउटा ‘क्रान्तिकारी’ पार्टी परित्याग गर्दै त्योबेला भट्टराईले भनेका थिए, ‘तरकारी काट्न चक्कु चाहिन्छ भने खसीको निम्ति खुकुरी…।’
र, जीवनमा बाबुरामले राजनीतिक जीवनमा उध्याएका कुनै त्यस्तो खुकुरी छैन, जसको धारले त्यो ‘परम्परागत’ अनि ‘पुरानो’लाई ताछेर वा काटेर ‘नयाँ शक्ति’को ‘आँखा’मा तेज भर्न सकेको होस्।
‘सम्भव छ हाम्रै पालामा…’ भन्ने नयाँ शक्तिको त्यो पुरानै नारामुनि केही त्यस्ता अनुहारहरू थिए, जो प्रचण्डसँग असन्तुष्ट थिए तर बाहिर निस्किने बाटो पहिल्याउन सकेका थिएनन्।
२०७३ को लाग्दो असारमा खचाखच दशरथ रंगशालामा बाबुरामले देशका सबैजसो राजनीतिक नेताहरूलाई बोलाएका थिए। ‘नयाँ शक्ति घोषणा’को साक्षी बस्न। तर सबैको नजर ‘हिरोइन’ करिश्मा मानन्धरमाथि नै थियो। करिश्मा त्यसपछि एमालेतिर पनि मोडिइन्।
केही समय देशभरि चलेको ‘नयाँ शक्ति’को लहरबाट उत्साहित भएका बाबुरामले २०७४ सालको आम चुनाव आउँदै गर्दा राजनीतिका फेराहरू फेर्न थालिसकेका थिए।
चुनावपछि बाबुरामले बल्ल चाल पाए, राजनीतिको त्यो लहरले हाँगाहरूमात्रै हल्लाएको थियो। बतास बनेर ती पुराना पातहरू त झार्नै सकेको रहेनछ। आफ्नै क्षेत्र गोरखाबाट बाबुराम भट्टराई र अरु एकाध ठाउँमात्रै उनको पार्टीले जित्यो।
संसदीय राजनीतिमा एउटा राजनीतिक शक्तिको मुख्य परीक्षा भनेकै चुनाव हो- राजनीतिक रुपमा बाबुराम त्यहीबेलै पराजित भइसकेका थिए। भलै उनले जितेका थिए, उनको आफ्नै क्षेत्रमा। चुनाव जित्नु भनेको राजनीति सिद्धान्तले जित्नु कदापि होइन।
‘नयाँ’देखि नयाँसम्मै
राजनीतिक यात्राको यो विरोधाभाष सिद्धान्त, बाटा र आफ्नै एकाङ्कीपनको शिकार बनेका बाबुरामलाई त्यसपछिमात्रै लाग्यो सायद, उस्तै उस्तै लाग्ने ‘नयाँ’ शब्दले नयाँ वाक्यसम्म बन्नसक्छ तर त्यसका अर्थहरू पुरानै हुन्छन्, लगभग।
पराजयको त्यो चोट बिसाउन बाबुराम त्यसपछि ‘मधेसवादी’ दलहरूका चौरचौतारी खोज्न लागे। हुर्किनै नसकेको उनको राजनीतिको त्यो गर्भसिद्धान्तलाई उनले तिनै ‘प्रचीन’ मतभेदमा रुमलिइरहेका मधेसवादी दलहरूमा समाहित गरे।
२०७६ सालतिर भट्टराईको नयाँ शक्तिलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित गरेर आफूलाई ‘समाजवादी पार्टी नेपाल’का नेताका रुपमा चिनाए। उनकी श्रीमती पनि उतै लागिन्, छोरी पनि एउटा प्यासिभ भूमिकामा बसिन्।
त्यसपछि महन्थ ठाकुर नेतृत्वको पार्टी पनि यहीँ मिल्न आयो। राष्ट्रिय जनता पार्टी नेपाल पनि गाभिएपछि त्यो ‘जनता समाजवादी पार्टी’ बन्यो।
आफूमात्रै नेता बन्न खोज्ने अनि आफ्नो मात्रै नेतृत्वलाई अस्तित्व मान्ने मधेसवादी नेताहरूको त्यो ‘पुरानै’ रोग थियो। जसलाई ती तमाम पार्टी ‘एकता’हरूले खासै असर गर्न सकेनन्। पार्टी एकतासँगसँगै एक से एक नेताभित्र हुर्किरहेको ‘नेतृत्व’ बन्ने लोभका कारण जनता समाजवादी पनि धेरै समय सिङ्गो रहन सकेन।
महन्थहरू उपेन्द्रलाई छोडिहिँड्ने बेलामा बाबुराम त्यो पार्टीभित्र उकुसमुकुस भइरहेका थिए। न निस्किने साहस गरिरहेका थिए, न टिकिरहने हिम्मत। त्यो उनको स्वभाव पनि थिएन, कोरा सिद्धान्तका साँघुरा घेराहरूमा आफूलाई सधैँ धुम्धुम्याइरहने बाबुराममाथि उपेन्द्रले यतिसम्म उपद्रो गरेका थिए कि पार्टीका हरेक निर्णय प्रक्रियाबाट बाबुरामलाई लगभग अलग गराइदिएका थिए।
उपेन्द्र पार्टीका अध्यक्ष थिए। बाबुरामलाई संघीय कार्यकारिणी परिषद्को अध्यक्ष बनाइदिएका थिए। तर त्यसका सारा अधिकारहरू आफैँमा निहीत बनाएर उपेन्द्रले बाबुरामलाई राजनीतिकरुपमै नीरिह पारिदिएका थिए।
‘यादव’हरूको यो उकुसमुकुसबाट हुत्तिएर २०७९ असारमा पाँच ‘स’ (समतामूलक समृद्धि, समानुपातिक/समावेशी/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समुन्नत समाजवाद, स्वाधिनता/सार्वभौमसत्ता)का उनै र उस्तै सिद्धान्तका खोक्रा शब्दव्यञ्जनहरू गाँसेर फेरि बाबुरामले ‘नेपाल समाजवादी पार्टी’ बनाए।
यो चुनावी वर्ष पनि थियो। २०७९ सालको मंसिरतिर आम निर्वाचन हुने पक्का भइसकेको थियो। २०७४ सालको ‘वाम एकता’बाट छटपट्टिएका बामपन्थीहरू फेरि कोही नयाँ बाटो लागिसकेका थिए। केही आ-आफ्नै पुरानो हैसियतमा फर्किएका थिए। एमाले र माओवादीको त्यो ‘मिलन’ दुई वर्ष पनि राम्रोसँग टिक्न सकेन।
२०७९ को चुनावसम्म आइपुग्दा भट्टराई पनि एक्लै थिए। चुनावको अन्तिमतिर उनले आफ्नो चुनावी क्षेत्र(गोरखा-२) माओवादीका अध्यक्ष प्रचण्डलाई दिए। आफैँ चुनावमा खटिएर प्रचण्डलाई जिताए। आफूले +‘चुनाव नलड्ने’ घोषणा गरे। समानुपातिक सूचीमा पनि नरहने बाचा गरे।
त्यसको सट्टा उनले आफ्नी छोरी मानुषी यमीका लागि काठमाडौँको एउटा क्षेत्र मागेका थिए। अनि आफ्ना पार्टीका अर्का अध्यक्ष महेन्द्रराय यादवका लागि। काठमाडौँ-७ मानुषीले जित्न सकिनन्। यादव भने राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही-२ बाट निर्वाचित भए। यसपालि काँग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धन थियो। छोरीलाई जिताउनका लागि बाबुरामले आफ्नै पार्टीको चुनाव चिह्नसमेत त्याग गरेर माओवादीकै हँसिया हथौडा समाउने निधो गरे।
पार्टी छोडेको लगभग ७ वर्षपछि फेरि त्यही पार्टीको चुनाव चिह्नमुनि पुगेका बाबुरामले यादव(प्रत्यक्ष) र एकजना समानुपातिक गरी संघमा दुई जना तथा बागमती र गण्डकी प्रदेशमा एक-एक जना प्रदेश सांसद पाए। त्यो पनि सबै ‘हँसिया-हथौडा’वाला।
त्यसैको परिणाम हो- अब न ती सांसदहरू बाबुरामका रहे, न पार्टी नै सग्लो रह्यो। जुन पार्टीको चुनाव चिह्नबाट जितेको हो, आयोगले त्यही दलमै ती सांसदहरूलाई राखिदिन्छ। संवैधानिकरुपमा आयोगले दल होइन, चुनाव चिह्न चिन्ने हो।
दुई वर्षको यात्रा पूरा गर्न नपाउँदै राजनीतिको त्यही बाटोमा बाबुरामले फेरि अर्को बल्ड्याङ खाए। महिन्द्रराय यादव ती सांसदहरू अनि पार्टीका आधाभन्दा बढी केन्द्रीय सदस्यहरू लिएर प्रचण्डसँग मिल्न पुगिसकेका छन्। उनले अब नेपाल समाजवादी पार्टी, नेकपा माओवादीमा समाहित हुने घोषणा पनि गरिसकेका छन्।
र, आफैँले बटारेको, आफैँ बटारिएको राजनीतिको यो बाटोमा अब बाबुराम एक्लै छन्- सहयात्री श्रीमती हिसिला अनि छोरी मानुषीका पारिवारिक साथमा…।