रास्वपा केन्द्रीय समिति बैठक: इलाम– २ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक आज (सोमबार) मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्दैछ।

बैठकमा सरकारमा पुगेपछि पार्टीले खेल्नुपर्ने भूमिका विषयमा छलफल हुने जनाइएको छ।

पार्टी सह–महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार आजको बैठक मुख्यगरी तीनवटा एजेन्डामा केन्द्रीत हुनेछ। पहिलो– समसामयिक राजनीतिक विषय। दोस्रो– इलाम–२ को उपनिर्वाचन। तेस्रो– कर्णाली अभियानबारे।

‘समसामयिक राजनीतिक विषयमा छलफल त हुने नै भयो, त्यससँगै इलाम– २ मा उपनिर्वाचन हुँदैछ, त्यसबारे छलफल हुन्छ अनि कर्णाली अभियानबारे पनि छलफल हुन्छ’, बुर्लाकोटीले भने।

संविधानसभा अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित इलाम– २ मा उनको निधनपछि आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। सत्ता गठबन्धनमा रहेको रास्वपाले निर्वाचनमा गठबन्धन गर्ने वा आफ्नै उम्मेदवार उठाउने भन्नेबारे निर्णय गरेको छैन।

रास्वपा कर्णाली प्रदेश समिति विवादपछि विघटन भएको छ। कर्णालीमा प्रदेश समिति निर्माण तथा संगठन विस्तारबारे आजको बैठकले रणनीति बनाउने बुर्लाकोटीले जानकारी दिए।

प्रकाशित मिति: : 2024-03-11 11:21:00

प्रतिकृया दिनुहोस्