मन्त्रीहरुको सपथ ग्रहणमा ढिलाइ, कर्मचारीहरु कुरेको कुरै

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहणमा ढिलाइ भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा बुधबार नियुक्त भएका १६ मन्त्रीहरुको साँझ ५ बजे सपथ ग्रहण गर्ने समय तालिका तय भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रधानमन्त्रीले नियुक्त गरेका मन्त्रीहरुको राष्ट्रपतिले सपथ ग्रहण गराउने व्यवस्था रहेको जसअनुसार शीतल निवासस्थित राष्ट्रपति कार्यालयले सुरुमा साँझ ५ बजेका लागि समय तोकेको थियो। यद्यपि, मन्त्रीहरुको तयारी नपुगेको भन्दै त्यो समय साढे ६ बजेका लागि सारिएको थियो। उक्त समयले पनि सीमा नाध्दासम्म सपथ हुन सकेको छैन।

सुरुमा एमाले, माओवादी र रास्वपाका १४ मन्त्रीका सपथ ग्रहण गराउने भनिएको थियो तर अन्तिम समयमा आएर एकीकृत समाजवादीले पनि मन्त्रीहरुको नाम टुंग्याएपछि उनीहरुको प्रतीक्षामा समय सारिएको थियो।

समयमै मन्त्रीहरुको सपथ ग्रहण हुन नसक्दा सिंहदरबारस्थित रातिसम्म कुर्न बाध्य भएका छन्। मन्त्रालयहरुमा पदभार ग्रहणका लागि सबै तयारी पूरा भएको छ तर मन्त्रीहरु कतिबेला आउँछन् भन्ने टुंगो लागेको छैन।

प्रकाशित मिति: : 2024-03-06 19:26:00

प्रतिकृया दिनुहोस्