एमालेले किन त्याग्यो ‘शक्तिशाली’ मन्त्रालय?

काठमाडौँको राजनीतिक ‘उथलपुथल’ छोडेर बुधबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एउटा महायज्ञको समापन गर्नका लागि बाग्लुङको पञ्चकोट पुगे।

ओली नयाँ सत्ता समीकरणका एक मुख्य खेलाडी हुन्। २०७९ पुस १०मा पनि ओली नै थिए अहिले पनि ओली नै भए।

नयाँ बनेको ‘सत्ता समीकरण’का एउटा मुख्य साझेदारका रुपमा रहेको नेकपा एमालेले भने यसपालि सरकारमा प्रतिनिधित्वका लागि अलि ‘अचम्म’ लाग्ने निर्णय गर्‍यो। उसले सरकारको नेतृत्वमा कुनै त्यस्ता ‘वरिष्ठ’ नेताहरू पठाएन।

गत पुसमा भएको यस्तै गठबन्धन सरकारमा एमालेको नेतृत्व गर्दै उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री भएका थिए। उनैले त्यसबेला एमालेको भागमा परेका ८ मन्त्रालयहरूको नेतृत्व गरेका थिए।

तर, यसपालि एमालेले सरकारमा नेतृत्व गर्दै रघुवीर महासेठलाई पठायो। महासेठले भौतिक मन्त्रालय सम्हाल्नेछन् र उपप्रधानमन्त्री पनि हुनेछन्। उनीसँगै सरकारमा पदम गिरी, दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह, हरिप्रसाद उप्रेती र बलराम अधिकारी पनि छन्।

अघिल्लोपटक मन्त्री भएका बिमला राई अनि विष्णु पौडेलबाहेक अरु सबै दोहोरिएर मन्त्री भएका छन्। उनीहरूको ठाउँमा दामोदर भण्डारी र बलराम अधिकारी सरकारमा गएका छन्।

योसँगै यसपालि एमालेले ‘शक्तिशाली’ मन्त्रालयहरू पनि ‘त्याग’ गरेको छ। अर्थ र गृहमन्त्रालयमा अडान राखेको एमालेले अन्तिम समयमा सबै त्यस्ता शक्तिशाली मन्त्रालयहरू छोडेको छ।

अर्थ र परराष्ट्र मन्त्रालय पनि यसपालि माओवादीले नै लियो। गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नै दोहोरिए।

रवि पनि गृहकै अडानमा थिए। यसअघि पनि उनी गत पुस ११ देखि माघ १३सम्म गृहमन्त्री नै थिए। नागरिकताको मुद्दामा सर्वोच्चको फैसला पछि उनको दुवै पद गयो। अनि फेरि उपचुनाव लडेर उनी आएका हुन्।

प्रकाशित मिति: : 2024-03-06 15:56:00

प्रतिकृया दिनुहोस्