रविलाई कांग्रेसको जवाफः सहकारी मन्त्री पनि दिँदैनौं, के–को प्रधानमन्त्रीको अफर गर्नू!

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–माओवादीकाे सत्ता गठबन्धन तोड्दै एमाले–रास्वपासहित अर्काे गठबन्धन बनाएपछि सत्ता राजनीति एकाएक गर्माएकाे छ। 

प्रधानमन्त्री प्रचण्डले भर्खंरै जाेडिएका सत्ताघटक एमाले–रास्वपालाई समेट्दै साेमबार सानाे आकारकाे मन्त्रिपरिषद् विस्तार गरेका छन्। तर ती मन्त्रीहरूलाई कुनैपनि जिम्मेवारी दिइएकाे छैन।

मन्त्रालय भागबन्डाका लागि गठित कार्यदलका सदस्य वर्षमान पुनले बताएअनुसार दलहरूबीच मन्त्रालय बाँडफाँटकाे काम भइरहेकाे छ। स्राेतकाअनुसार रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय कुनैपनि हालतमा छाड्न नमानेपछि भागबन्डाकाे काम अड्किएकाे हाे।

०००

गृहमन्त्रीका तीव्र आकांक्षी लामिछानेले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको हल्ला फिँजाएपछि महामन्त्री विश्वप्रकाश शर्माले कसैलाई पनि यस्तो प्रस्ताव नगरिएकाे बताएका छन्।

नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्यगर्न शुभकामनाl नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा छौँ हामीl केही पत्रकार मित्र शोधिरहनु भएको छ– के काँग्रेसले फलानालाई प्रधानमन्त्री अफर गरेको हो ? स्पष्ट गरौं- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन! जय नेपाल,’ शर्मा सामाजिक सञ्जालमा लेखेका छन्।

रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीकाे बताउँदै महामन्त्री गगन थापानिकट एक केन्द्रीय सदस्यले भने, ‘हाहाहा...! त्यस्तो हुनै सक्तैन। रविजी दिउँसै झ्यापमा हाे र! कि के हाे?’ नयाँ गठबन्धनमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री नपाउने अवस्था शिर्जना भएपछि प्रचण्ड र ओलीसँग रिसाएकाे झोकमा लामिछानेले त्यस्तो हल्ला फैलाएको हुनसक्ने उनकाे आरोप छ। 

कांग्रेस स्रोतकाअनुसार रवि लामिछानेले बरू महामन्त्री गगन थापालाई सम्पर्क गर्न खोजिरहेकाे र थापाले कुराकानी गर्नसमेत नमानेकाे बताइएकाे छ। स‍भापति लामिछानेले महामन्त्री मुकुल ढकालमार्फत् गगन थापासँग सम्पर्क गर्न खोजिरहेकाे स्रोतकाे दाबी छ। 

पूर्वगृहमन्त्री लामिछाने उपप्रधानसहित गृहमन्त्री माग्दै हिजोआज बालकोटदेखि प्रधानमन्त्री बालुवाटारसम्म धाइरहेका छन्। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री दिन नमानेकाे सुइकाे पाएपछि रन्थनिएका छन् उनी।

०००

चुनावी बाचा लत्याउँदै सत्तामा रुमल्लिएका लामिछानेले गृहमन्त्री पाउनुपर्ने अडानका सँगसँगै रास्वापाको केन्द्रीय पार्टी कार्यालयबाट मिथ्या समाचार फैलाउन थालेपछि पार्टीकै नेताहरू असन्तुष्ट छन्। कांग्रेसले प्रधानमन्त्रीकाे अफर गर्‍याे भन्ने हल्का महामन्त्री ढकालले नै फलाएकाे रास्वपाका एक केन्द्रीय सदस्यले जनाएका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेकाे बताएका छन्।

‘रविजीलाई कांग्रेसले पहिले पनि पत्याएको होइन र अहिले पनि पत्याउने कुरै भएन! उहाँलाई खै कुन कांग्रेसले प्रधानमन्त्रीकाे आफर गर्‍यो थाहा छैन। हेर्नुस्, हामीहरू रविजीलाई सहकारी मन्त्री पनि दिँदैनौं, के–को प्रधानमन्त्रीको अफर गर्नू,’ कांग्रेसकै अर्का एक सदस्य भन्छन्।

प्रधानमन्त्रीकाे सपना बाेकेर हिँडिरहेका लामिछानेले अहिले गृहमन्त्री नपाउने पत्ताे पाएपछि अर्काे पक्षबाट प्रधानमन्त्री अफर आयाे भन्दै हल्ला मच्चाइरहेको गगननिकट ती नेताले बताएका छन्।

प्रकाशित मिति: : 2024-03-05 19:37:00

प्रतिकृया दिनुहोस्