बारा विस्फोट: थप दुई जना पक्राउ

फाइल तस्विर
फाइल तस्विर

निजगढ नगरपालिका- ७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ।

प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका- २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालिका- १ निवासी वर्षीय ४१ शिवशंकर साह र कवाडी सङ्कलन सर्लाही ईश्वरपुर नगरपालिका- ७ निवासी ४६ वर्षीय बिल्टु महताेलाई प्रहरीले पक्राउ गरेको हो।

यो सँगै पक्राउ पर्नेको सख्या पाँच पुगेको छ। प्रहरीले यसअघि निजगढ- ९ मा कवाडी संचालन गरी बसेका भारत मोतिहारी घर भएका भारतीय नागरिक राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ना ५ ख ९७२७ ट्रक चालक निजगढ नगरपालिका– ९ स्याक्तान टोलका ४२ वर्षीय बासु तामाङ्ग र सोही ठाँउका सह-चालक २५ वर्षीय टिकाराम पाख्रिन पक्राउ परेका थिए।

उनीहरुलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

ग्यारेजमा भएको विस्फोटमा परी तीनको मृत्यु भएको थियो भने तीनजना घाइते छन। निजगढ नगरपालिका– ९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ।

जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए। लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो।

यसैबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अनुरोधमा वीरगञ्जस्थित बयोधा अस्पतालले उपचारमा भएको खर्च रकममा छुट दिएको छ।

उपचारको क्रममा भएको खर्च रकम आफन्तले बुझाउन नसकेपछि अस्पताल प्रशासनले उनीहरुलाई छुट दिएको बयोधा अस्पतालका प्रशासक बिष्णु पटेलले जानकारी दिए।

प्रकाशित मिति: : 2024-03-05 13:25:00

प्रतिकृया दिनुहोस्