होमस्टे सञ्चालकहरुका लागि व्यावसायिक क्षमता अभिवृद्धि तालिम

दाङमा एक हप्ते घरबास व्यवस्थापन तालिम सञ्चालन गरिएको छ।

पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको आर्थिक सहयोग, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को प्राविधिक सहयोगमा दाङकाे घोराहीस्थित कविला रिसोर्टमा तालिम सञ्चालन भएकाे हाे।

लुम्बिनी प्रदेश होमस्टे महासंघअन्तर्गत दाङ, प्युठान, रोल्पा, पूर्वी रुकुमका लक्षित होमस्टे सञ्चालकहरुको लागि यही फागुन १७ गतेदेखि सुरू भएकाे तालिम २३ गतेसम्म हुनेछ।

तालिममा ४ जिल्लाका रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका रनमा, मैकोट, तक, बाछिगाँउ र रोल्पा, प्युठान, दाङका विभिन्न गाउँका ४५ जना प्रशिक्षार्थी सहभागी छन्।

सामुदायिक होमस्टे सञ्चालकहरुका लागि ७ दिने व्यावसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएकाे थारु कल्याणकारी मञ्चका अशाेक चौधरी र होमस्टे महासंघ लुम्बिनी प्रदेश पर्यटन प्रबर्द्धन मन्चका उपाध्यक्ष पृथ्वी पुनले जानकारी दिए।

तालिमलाई लुम्बिनी प्रदेश पर्यटन परिषद मन्त्रालयले सघाएको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ।

पर्यटन परिषदका कार्यकारी निर्देशक बालकृष्ण गैरेले तालिमको उद्घाटन गरेका थिए। सो अवसरमा उनले होमस्टेलाई पर्यटनसँग जोडेर परिषद्ले योजना अगाडि बढाएको बताए।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पुनले आफ्नो संस्थाले हरेक ठाउँ पर्यटकीय गाउँ भन्ने नाराका साथ विभिन्न पर्यटन मेला, गोष्ठी, छलफल जस्ता कार्यक्रम आयोजना गर्दै आएको स्मरण गराए।

थारु कल्याणकारीका अध्यक्ष चौधरीले पर्यटन र होमस्टेका लागि बजारीकरणको ठूलो महत्व हुने बताए।

तालिमका संयोजक अजयराज भोगटीले गाउँको कला, संस्कृति र रहनसहनको प्रवर्द्धन र बजारीकरणमा नाथमले सघाउँदै आएको बताए।

पर्यटनका माध्यमबाट आर्थिक समृद्धि सम्भव भएको भन्दै उनले सहभागीको क्षमता र आयस्तर बढाउन सघाउने उद्देश्य कार्यक्रमले लिएको जानकारी दिए।

प्रकाशित मिति: : 2024-03-01 15:47:00

प्रतिकृया दिनुहोस्