खेलाडीको रुपमा मैदानमा नभए पनि बाहिरबाट देशको समर्थनमा हुनेछु: सावित्रा भण्डारी

नेपाली महिला फुटबलर सावित्रा भण्डारी 'साम्बा' ले खेलाडीको रुपमा मैदानमा नभए पनि  मैदान बाहिरबाट देशको समर्थनमा गर्ने बताएकी छन्।

वाफ महिला च्याम्पियनसिपकाे फाइनल खेल खेल्न नपाएपछि उनले यस्ताे बताएकी हुन्।

‘खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु। र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थेँ, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु’, उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्।

फुटबल खेलाडी भएपछि आफूले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्ने बताएकी छन्।

‘वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौँ, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ’, साम्बाले भनेकी छन्, ‘क्लबले सधैँ मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु।’

उनले नेपाली टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जाने विश्वास गरेकी छन्।

‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ। हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौँ’, उनले भनेकी छन्, ‘प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुन: एकपटक एकजुट भएर जित हासिल गर्नेछौँ भन्ने विश्वास मैले राखेको छु।’

देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्त्वपूर्ण रहेकाे भन्दै सावित्राले भनिन्, ‘जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ। नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु। नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला।’

साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्रालाई गुइनगाम्पले फिफा विन्डोअन्तर्गत राष्ट्रिय टिममा खेल्न अनुमति दिएकोमा बिहीबार हुने फाइनल खेल फिफा विन्डोपछि हुने हुनाले सावित्रा फाइनल खेलमा उपलब्ध नहुने जनाएकाे हाे।

प्रकाशित मिति: : 2024-02-29 11:21:00

प्रतिकृया दिनुहोस्