सुनथराली विमानस्थलमा ३८ वर्षको व्यग्र प्रतिक्षापछि विमान

कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ कोटबाडास्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भयो। ३८ वर्षको व्यग्र प्रतिक्षापछि विमानस्थल उद्घाटन हुँदा जनता उल्टिएर हेर्न आए।

२०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको एक लाख लगानीबाट निर्माण सुरु भएको विमानस्थलको सोमबार औपचारिक उद्घाटन भएको हो।

आइतबार दोस्रो पटक परीक्षण उडान सफल भएपछि सोमबार सुनथराली विमानस्थलको भव्य उद्घाटन गरिएको छ। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलको उद्घाटन गरेका हुन्।

रक्षामन्त्री खड्कासँगै पर्यटनमन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, तत्कालीन मुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेलगायतका उच्च पदस्थ व्यक्तिले सुनथराली पुगेर विमानस्थलको भव्य उद्घाटन गरेका हुन्।

निर्माण सम्पन्न भएको दुई वर्ष बिते पनि औपचारिक उद्घाटन हुन सकेको थिएन। पहिलो परीक्षण उडान २०७३ माघ २९ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका थिए।

२०५८ फागुन ११ गते विमानस्थल निर्माणको काम गरिरहेका नहरीनाथ-१ का टेकबहादुर विष्टसहित ३६ जना कामदारको नेपाली सेनाले निर्मम हत्या गरी एउटै चिहान बनाएको थियो। द्वन्द्वका कारण निर्माण प्रभावित भएपछि शान्ति सम्झौतापछि मात्रै विमानस्थल निर्माणले गति लिएको थियो।

जहाज हेर्नका लागि कालिकोटका गाउँगाउँबाट हजारौँको संख्यामा स्थानीय नागरिक सुनथराली विमानस्थलमा पुगेको नहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिए। साना बालबालिकादेखि जेष्ठ नागरिकसम्म जहाज हेर्नैकै लागि विमानस्थल पुगेका छन्।

प्रकाशित मिति: : 2024-02-26 17:25:00

प्रतिकृया दिनुहोस्