हङकङमा कार्यरत युवाको सहयोगमा गाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका विपन्न परिवारलाई नि:शुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। 

रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि  उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा २५ लाख ५० रुपैयाँ उपलब्ध गराएपछि वडा नं ९ का विपन्न परिवारका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ।

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका-९ मा रहेको   राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। 

वडा अध्यक्ष नरवहादुर मोक्तानका अनुसार कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र तिरण गरेर नि:शुल्क र अन्य सर्वसाधारणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको छ।

उनका अनुसार विपन्न परिवारलाई नि:शुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्नेछ। 

एम्बुलेन्स खरिदकालागि हङकङमा रहेका याम सेम्बु एक्लैले ५ लाख ३० हजार उपलब्ध गराएकाे र उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको जनाइएको छ।

एम्बुलेन्स सन्चालनमा आएपछि स्थानिय हर्षित भएका छन्। स्थानिय मिना खवासले वडामा एम्बुलेन्स सन्चालनमा आएकोमा पहल कदमी गर्ने जनप्रतिनिधिप्रति खुसी व्यक्त गरे। 

उनले भने, 'आपतकालीन अबस्थामा भनेको बेला कैले काहि एम्बुलेन्स पाउन सकिदैन, टाडा गएको हुन सक्छ। तर आफ्नै वडामा एम्बुलेन्स भएपछि ठुलो राहत मिलेको महसुस गरेका छौं।'
 
सहयोगीदातामध्येका अगुवाईकर्ता याम सेम्बुले आफूहरू जहाँ भएपनि गाउँको समस्यामा चिन्त्तित रहने गरेको बताए। गाउँको समस्यालाई आफ्नै समस्या ठान्दै एम्बुलेन्स सहयोग गरेको बताए।

अर्का सहयोगीदाता तथा अगुवाईकर्ता साङ्गेहाङ तुम्बाहाम्फे भन्छन्,  'हामीलाई हाम्रो गाउँ ठाउँको दुख सुख थाहा छ, हामीले एम्बुलेन्स सहयोग गर्दा बिपन्न परिवारलाई टेवा पुगोस भन्ने उदेश्य हो।'

प्रकाशित मिति: : 2024-02-16 11:47:00

प्रतिकृया दिनुहोस्