हाल खेल क्षेत्रमा कसैकाे चर्चा छ भने उनी हुन्, क्रिकेटर अनिल साह। क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट प्रतियोगितामा उनको प्रदर्शन चर्चा योग्य रह्यो।
मधेसको भूमिमा हुर्किएका अनिल पहिलो पटक राष्ट्रिय टोलीबाट खेलका भने होइनन्। दुई वर्षअघि मात्र उनी राष्ट्रिय टोलीबाट खेलेका थिए। तर उनको प्रदर्शन सम्झना योग्य रहेन। र, राष्ट्रिय टाेलीबाट आउट भए। जीवनमा यो उनकाे दोस्रो झड्का थियो।
सायद उनले यसरी राष्ट्रिय टाेलीबाट बाहिरनुपर्छ भनेर साेचेका थिएनन्।
किनकी सन् २०१८ अगस्ट १ मा नेदरल्याण्डविरुद्धको खेलमा पनि राम्रो प्रदर्शन गर्न नसकेपछि उनी राष्ट्रिय टाेलीबाट बाहिरिनु परेको थियो। यो उनको अन्तर्राष्ट्रिय डेब्यू खेल थियो।
चार वर्षपछि सन् २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध दुई वटा खेल खेल्ने मौका पाए पनि उनी ६ र १ रनमै पेभिलियन फर्किए। जसले उनलाई दोस्रो पटक निराश बनाएको थियो। र, राष्ट्रिय टोलीबाट बाहिरिनु परेको थियो। सायद उनको जीवनकै निराश क्षण थियो कि!
तर जब दुई वर्षपछि राष्ट्रिय टाेलीमा फर्किने माैका पाए, उनको प्रदर्शन जादुमय भयो। घरेलु मैदानमा क्यानडाविरुद्धकाे सिरिजमा नेपालले क्लिन स्वीप गर्यो।
जहाँ उनको योगदान चर्चायोग्य र अनिल सम्झनयोग्य भए। पहिलो खेलमा नेपालसँग ७ रनले पराजित भएको क्यनाडालाई दोस्रो खेलमा नेपालले ४ विकेटले हरायो।
सोमबार नेपालले क्यानडासँग अन्तिम खेल खेल्यो। उक्त खेलमा क्यानडामाथि नेपालले ९ विकेटको जित हात पार्यो। त्यही खेलमा क्यानडाविरुद्ध नेपालका दुई खेलाडीले शतकीय पारी खेले।
जसमा विकेट किपर उनै अनिल साह र भीम सार्कीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो शतक प्रहार गरे। अनिलले १२४ बलमा दुई छक्कासहित १२ चौका प्रहार गरेर ११२ रन बनाउँदै अविजित रहे भने भीम सार्कीले पनि एक छक्कासहित ११ चौका प्रहार गरेर नटआउट रहे।
अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए। यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो हो।
क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शनी गरेका अनिल आफूले गरेको मेहनत हात परेको बताउँछन्। ‘क्यानडाविरुद्ध खेल जित्दा निकै नै खुसी लागेको छ’, साह भन्छन्, ‘देशको लागि योगदान दिन पाउँदा निकै गर्व महसुस हुन्छ।’
ती दुई झड्का अनिलका लागि सिकाइ बन्यो
पहिलो पटक सन् २०१८ र दाेस्रो पटक सन् २०२२ मा राष्ट्रिय टोलीबाट खेलेका अनिल राम्रो प्रदर्शन गर्न नस्कदा बाहिरिए। दुई पटक बाहिएर पुन: राष्ट्रिय टोलीमा फर्किएका उनले विस्फोटक ब्याटिङ गरे।
यो ब्याटिङले उनी आफैँलाई सन्तोष मिलेको छ। ‘सुरूदेखि नै म क्रिकेट खेल्छु भन्ने थियो, टोलीमा नहुँदा पनि म आफैँले क्रिकेट सिक्थेँ। बाहिर पनि प्रशिक्षण लिएको थिएँ’, अनिलले भने, ‘मैले आफूले आफूलाई मोटिभेट पनि गरेको थिएँ, टोलीमा फर्किएपछि मैले सोचेको जस्तै भयो।’
नेपालले पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ओडिआइको मान्यता पाउँदा अनिल नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य थिए।
सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे। पहिलो पटक नै बाहिरिएपछि उनले झन्डै ४ वर्षपछि सन् २०२२ मार्चमा उनले पपुवा न्युगिनीविरुद्ध दुई वटा खेल खेल्ने मौका पाए। यी दुई पटक नै उनी बाहिरिए।
त्यसपछि उनी नेपाली क्रिकेटबाट हराएसरह नै भए। नेपाली क्रिकेट टोलीमा एकपछि अर्का उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी जम्दै गएपछि उनले मौका पाइरहेका थिएनन्। तर, नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडाविरुद्ध अनिललाई समेट्दै टोलीको घोषणा गर्यो। प्रशिक्षक मोन्टी देसाइले कुशल भुर्तेललाई रेस्ट दिँदै उनलाई मौका दिए।
र, राष्ट्रिय टोलीमा पुनरागमन गरेको खेलमै उनले कीर्तिमान बनाए। उनी नेपालबाट ओडीआईमा सर्वाधिक छिटो (१९ बलमा) अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाउन सफल भए।
त्यसपछि सिरिजको अन्तिम खेलमा त उनले आफ्नो करियरको पहिलो शतक पूरासमेत गरे। यो सबै रिजल्ट लकडाउनले गर्दा भएको उनी बताउँछन्।
‘मैले लकडाउनकै समयमा क्रिकेटमा अझै बढी ध्यान दिएँ, त्यसबेला कतै जान पाइँदैन थियो। त्यसपछि घर पछाडि नै नेट बनाएर खेल्न थालेँ’, अनिल भन्छन्, ‘त्यहीबेला आफ्नो ब्याटिङलाई, आफ्नो शैलीलाई बुझेँ। के–के कमजोरी रहेछ भनेर त्यसपछि त्यो कुरालाई सुधार्दै गएँ।’
मधेसकाे माटाेमा हुर्किएका ‘अनिल’
क्रिकेटर अनिल मधेसकाे माटाेमा जन्मिएर त्यहीँ हुर्किए। २०५४ सालमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ पतौरा भन्ने ठाउँमा उनको जन्म भएको हो।
सानैबाट क्रिकेट खेल्ने मोह आफूमा रहेको उनी बताउँछन्। उनी गाउँमा छँदा साथीहरूसँग टेनिस बलबाट क्रिकेट खेल्थे।
ठूलो परिवरमा जन्मेका अनिललाई क्रिकेट खेल्न त्यति सहज थिएन। उनी हजुरबुबा, आमा, अंकलआन्टी तथा बुबा–मम्मीसँगै बसेर हुर्किए। सानो छँदा क्रिकेट खेलेको परिवारले मन पराउँदैनथिए।
तर, पछि उनको बुबाले क्रिकेट खेल्न सहयोग गरेकाे अनिलले बताए। ‘मैलै पनि सुरूमा क्रिकेट खेल्दा परिवारबाट राम्रो सपोर्ट पाएको थिइनँ, पछि मैले खेल्दै गर्दा मेरो ड्याडी (बुबा)ले मलाई सपोर्ट गर्न थाल्नुभयो’, अनिल भन्छन्।
उनी २०१८ फेब्रुअरी १२ मा लिस्ट ‘ए’ मा डेब्यू गरेका थिए। जुन राष्ट्रियस्तरको पहिलो खेल थियो।
घरेलु प्रतियोगितामा भने उनले २०१८ देखि नेपाल पुलिस क्लबबाट खेले। त्यसपछि सन् २०२१ मा उनी पुलिस छाडेर मधेस प्रदेश क्लबमा गए। पुलिस क्लबमा रहँदा खासै कसैकाे नजरमा नपरेका उनी मधेस प्रदेशमा गएपछि सबैको नजरमा पर्न सफल रहे।
अनिलको उत्कृष्ट प्रदर्शनले मधेस प्रदेश सन् २०२२ मा पहिलो पटक सेमिफाइनलमा पुग्यो। यस्तै हालै सम्पन्न भएको प्रधानमन्त्री कपमा पनि उनले दमदार प्रस्तुति दिए। यस प्रतियोगितामा उनी सर्वाधिक रनकर्ता भए। उनले सर्वाधिक ३८६ रन बनाउँदै ‘प्लेयर अफ दी टुनामेन्ट’ भए।
प्रधानमन्त्री कपमा मात्र नभइ उनले नेपालले अन्य घरेलु प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, नेपालमा घरेलु प्रतियोगिता नभइरहँदा खेलाडीहरू मर्कामा पर्ने गरेकाे उनी बताउँछन्।
‘खेलहरू नभइरहँदा कहिलेकाहीँ विदेश जाने सोच पनि आउँछ, अझ पहिलाको कुराहरू सोच्यो भने आफैँलाई प्रेसर हुन्छ’, उनले भने, ‘तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भन्दा अहिले म के गर्न सक्छु भन्ने हो। अहिलेको कुरा सोचेर बस्यो भने प्रेसर कम हुँदोरहेछ।’
देशलाई योगदान दिन चाहान्छु: अनिल
सिनियर टोलीमा सुरूवाततिर डेब्यू गरेका अनिलको खासै सम्झनलायक प्रदर्शन छैन। तर, लामो समयपछि टाेलीमा फर्किएका उनले कीर्तिमानी नै बनाए।
देशलाई प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महसुस हुने उनी सुनाउँछन्। ‘सबै खेलाडीको सपना यही हुन्छ कि उसले देशको प्रतिनिधित्व गर्न पाओस्। अब म सिनियर टोलीमा होस् या ए टिममा त्यहाँ छनोटकर्ताहरू हुनुहुन्छ। म जता डिजर्भ गर्छु, उस्तै पर्छु’, मगंलबार बिएल नेपाली सेवासँगको कुराकानीमा उनले भने।
बुधबार बिहान क्यानले विश्वकप लिग टु खेल्न नेपाली टोलीको घोषण गर्यो। क्यानले अनिललाई पुन: एक पटक मौका दियो। क्यानडाविरुद्ध उत्कृष्ट कमब्याक गरेपछि उनले राष्ट्रिय टोलीमा मौका पाए।