क्यानाडामा दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा परी मृत्यु भएको छ। अन्टारियो प्रान्तको दक्षिणमा पर्ने लण्डनमा मंगलबार बिहान ५:२३ मा तीन कार ठोक्किदा दुई बेग्लाबेग्लै कारमा रहेका उनीहरूको निधन भएको हो।
कार दुर्घटनामा निधन हुनेमा सिन्धुपाल्चोकका एक युवक र सोलुखुम्बुकी एक युवती रहेको एनआरएन क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए।
उनीहरु लण्डनस्थित फ्यानस कलेजमा अध्ययनरत रहेका थिए।
दुई वर्षअघि क्यानडा पुगेका उनीहरु बिहान काममा जान लागेको समयमा कार दुर्घटनामा परेको दुलालले बताए।
दुर्घटनामा आठजना घाइते भएका छन्। घाइतेमध्ये दुई नेपाली विद्यार्थीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।
स्थानीय एक मोटर पार्टस् कम्पनीमा कार्यरत उनीहरू बिहानी सिफ्टको काममा जाने क्रममा दुर्घटनामा परेका हुन् ।
स्थानीय सुरक्षाकर्मीक अनुसार कम्पनीतिर गइरहेका दुई कारमध्ये अघिल्लो कार विपरीत दिशाबाट आइरहेको कारसँग ठोक्कियो । अघिल्लो कार पछिल्लो कारसँग ठोक्किएपछि स्थिति नियन्त्रणबाहिर गयो ।
एकैतिर गइरहेका दुई कारमध्ये एउटामा चार र अर्कोमा पाँच नेपाली विद्यार्थी थिए । नेपाली विद्यार्थी चढिरहेको एक कारका नेपाली चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ।