ओलीकाे प्रश्न- बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, संक्रमणकालीन न्याय किन नटुंग्याएको?

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायको काम पीडितको इच्छाविपरीत गएर नटुङ्गिने बताएका छन्।

सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भन्ने कुरामा एमाले स्पष्ट रहेको ओलीले बताए। मानवअधिकार एलाइन्सले मंगलबार आयोजना गरेको मानव अधिकार रक्षकहरूको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितमाथि मेरो सहमति छ भनेर जबरजस्ती हस्ताक्षर गराउन नमिल्ने बताए।

ओलीले माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने पक्षमा नै नरहेको बताए। त्यसकै परिणाम १८ वर्षसम्म त्यसलाई नटुङ्ग्याएर पीडित माथि अन्याय गरिएको उनको भनाइ छ।

हिंसा मच्चाउनेहरू १८ वर्षअघि नै सत्तामा पुग्दा पनि पीडितले न्याय नपाएको भन्दै ‌ओलीले आपत्ति जनाए। 'टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्ने दुवै सरकारमा छन्, सङ्क्रमणकालीन न्यायको काम किन नटुङ्ग्याएको?’, ओलीले प्रश्न गरे।

आफू सरकारमा रहँदा सङ्क्रमणकालीन न्याय टुङ्ग्याऊँ, पीडितलाई न्याय दिऊँ भनेर लागेको भए पनि उनीहरूले बेवास्ता गरेको ओलीले बताए। ‘उहाँहरूलाई नचाहिँदासम्म वास्ता गर्नुहुन्न, चाहिएपछि भोली नै टुङ्ग्याउनु पर्‍यो, पर्सिनै टुङ्ग्याउनु पर्‍यो भन्नुहुन्छ’, ओलीले भने।

अहिले पनि सङ्क्रमणकालीन न्यायलाई पीडित मैत्री बनाएर टुङ्ग्याउनु पर्छ भनेर एमालेले भनिरहेको उनले बताए। तर पीडितलाई अन्याय हुने गरी यो विषय टुङ्ग्याउन नसकिने उनले प्रष्ट पारे। ओलीले पहिला सत्य निरूपण गरेर त्यस पछि मात्र त्यसको निरूपण गर्नुपर्नेमा जोड दिए। मारिएको व्यक्ति फिर्ता नआउने भए पनि सबैभन्दा पहिला पीडितलाई चित्त बुझ्ने गरी अन्तराष्ट्रिय मान्यता अनुसार सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनु पर्ने ओलीको धारणा छ।

नेपालले हिंसाको अति जटिल अवस्था पार गरेर आएको ओलीले बताए। ‘हिंसा किन भयो, कसका लागि भयो कसैले पुष्टि गर्न सकेको छैन’, उनले भने।

शान्तिपूर्ण ढङ्गले सरकारमा पुगेर देश र जनताको पक्षमा काम गर्न सकिने अवस्था हुँदा हुँदै माओवादीले हिंसात्मक आन्दोलन सुरु गरेको ओलीको धारणा छ। ‘हिंसा बिसाएर फेरि आउनुपर्‍यो, हिंसा बिसाएर त्यही प्रणालीमा आउँदा केमा फरक परेको थियो’,उनले भने।

माओवादीले २०५२ बाट सुरु गरेको हिंसा २०६३ सालमा छाडेर आउँदा चुनाव नलडी भाग लिएर माओवादी संसद् र सरकारमा पुगेको ओलीले बताए। त्यही व्यवस्थामा सत्तामा पुग्न १७ हजार मानिस किन मारिए भन्ने कुराको जवाफ माओवादीले दिन नसकेको ओलीले टिप्पणी गरे।

माओवादीको हिंसाकै कारण विदेश जाने लहर सुरु भएको ओलीले बताए। द्वन्द्वको बेला हिंसात्मक पक्ष र राज्य पक्ष दुवैले मानिसको क्रूर किसिमले हत्या गरेको उनको भनाइ छ। जम्मा सत्ता, सरकार र सांसद लिनको लागि माओवादीले देश ध्वस्त बनाएको उहाँले टिप्पणी गरे।

मानव अधिकार उलङ्घनकर्ताले आफ्ना कमजोरी लुकाउन अनेक कुरा गर्ने बताए। त्यसका विरुद्ध निर्भिकताका साथ लड्ने साहस चाहिने उनले बताए। नेपालका मानव अधिकारकर्मी त्यो आँटका साथ अघि बढेका भन्दै ओलीले प्रशंसा गरे।

नेकपा एमालेको नीति राजनीतिक हितका लागि अरू कुनै पनि मानवीय, संवैधानिक, कानुनी अधिकार उल्लङ्घनको गर्ने नरहेको उनले प्रष्ट पारे। ‘नेकपा एमालेले मानव अधिकार उलङ्घन गर्दैन, मानव अधिकार उल्लङ्घनको पक्षमा उभिँदैन, मानव अधिकारको उलङ्घनकर्तालाई संरक्षण गर्दैन’, उनले भने।

एमालेको मानव अधिकार संरक्षणको पक्षमा ऐक्यबद्धता रहेको ओलीले प्रष्ट पारे। ‘हामी सधैँभरि तपाईँहरूको साथमा छौँ’, ओलीले भने।

नेपाली जनताको शान्तिको चाहनाले हिंसा र मानव अधिकार उलङ्घनको कहालीलाग्दो अवस्थालाई अन्त्य गरेको ओलीले बताए।

अनर्गल कुरा गरेर, पश्चगामी र प्रतिगामी कुरा गरेर देशमा अशान्ति मच्चाउने कुरा उचित हुनै नसक्ने उनले बताए। अहिले देशमा विभिन्न नाममा यस्ता खालका अनुचित क्रियाकलाप भएका ओलीले बताए।

विविधतामा एकता नै नेपालको पहिचान भएको ओलीले बताए। एकताबद्ध भएर नेपाललाई शान्तिपूर्ण, विकासको बाटोमा अघि बढेको, मानव अधिकार सहितको राष्ट्रको रूपमा अघि बढाउनु पर्ने उनले प्रष्ट पारे। समृद्ध नेपाल सुखी नेपालीको लक्ष प्राप्त गर्नका लागि सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानु पर्ने ओलीको धारणा छ।

प्रकाशित मिति: : 2024-02-13 18:16:00

प्रतिकृया दिनुहोस्