मन्त्री र सचिबबीच पानी बाराबार
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको ‘छत्रछाया’ पाएपछि सहसचिव रामकुमार महतोको मनोमानीले अहिले मन्त्रालयका सारा कर्मचारी आजित हुन थालेका छन्। यहाँसम्म कि मन्त्रालयका सचिवमाथिसमेत सहसचिव महतोकै दबदबा छ।
कार्यालय सहयोगीबाट सरकारी जागिर सुरु गरेका महतो खरिदार हुँदै हाल उनी सहसचिव भए। कर्मचारी प्रशासनमा निकै विवादास्पद छवि बनाएका उनलाई सामान्य प्रशासनमन्त्री अनिता देवीले जाजरकोटबाट झिकाएकी हुन्। सामान्य प्रशासन आउनुभन्दा अघि उनी त्यहाँ ‘सिडिओ’ थिए।
त्यसअघि सिराहामा कार्यरत हुँदा उनलाई जुवा खेल्दै गर्दा प्रहरीले रंगेहात पक्राउ गरेको थियो। तर, ‘पावरफुल’ कर्मचारी भएका कारण उनीमाथि मुद्दा नै चलेन।
उनी मधेशका धेरै कार्यालयहरूमा बसिसकेका छन्। सिराहा, धनुषा, सर्लाही र अन्य जिल्लाका नगरपालिकामा बस्दा उनले अकूत सम्पत्ति कमाएको भन्ने चर्चा कर्मचारीवृत्तमा छ।
माओवादी निकट भएर पदको ‘लाभ’ लिँदै आएका उनलाई अहिले फेरि जनता सामाजवादीकी मन्त्री अनिता देवीको रोजाइमा परे।
‘एउटा दलको निकट भएर के हुन्छ? जो मन्त्री भएपनि हातमा लिन सके त फाइदै-फाइदा भइहाल्छ नि’ उनका एकजना सहपाठी भन्छन्, ‘त्यस्तै क्षमता होला। नत्र जाजरकोटबाट त्यो पनि अर्को पार्टीको मन्त्रीले झिकाएर मन्त्रालयमा ल्याउनु भनेको असामान्य कुरा नै हो।’
पार्टी फरक भएपनि ‘मधेस’को नाता लगाएर उनले राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई सजिलै प्रभावमा पार्नसक्छन्।
सचिव र सहसचिवबीच टकराव
सहसचिव महतोलाई मन्त्री अनिता देवीले काखी च्यापेपछि मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अलि तर्किन थालेका छन्। कर्मचारी ‘सरुवा-बढुवा’को जिम्मेवारी पाएका सहसचिव महतोले सचिव सिंहलाई समेत टेर्दैनन्।
सचिव विनोदप्रकाश सिंह कर्मचारी सरुवा व्यवस्थित हुनुपर्ने अडानमा छन्। उनी हाल कर्मचारी व्यवस्थापनतर्फ लागेका छन्। तर, सहसचिव महतो मन्त्रीको सचिवालयलाई बढी प्राथमिकता दिन्छन्। र, सचिवालयका कर्मचारीले भनेको काममा मात्रै लाग्छन्।
कर्मचारीको सरुवा-बढुवाका सबै कामहरू मन्त्रीकै सचिवालयले ‘फाइनल’ गरिदिन्छ। जहाँ मन्त्री अनिता देवीकै श्रीमान र भाइ-भतिजाहरूको राइँदाइँ चल्छ।
देशभरिका लगभग ३०० स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत छैनन्। त्यहीँका कर्मचारीहरूको ‘निमित्त’को भरमा चलेका स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले भने अधिकृतस्तरका कर्मचारीलाई ‘निमित्त’ तोकेर पठाइदियो। त्यो पनि आधाभन्दा थोरै स्थानीय तहमा।
ती निमित्ति भएर जानेहरू भने सबै सहसचिव महतोकै आसपास घुमिरहने कर्मचारीहरू थिए। निमित्तहरू धेरैजसो वन, कृषि, शिक्षा, लेखाका कर्मचारी हुन्। स्थानीय तहमा त्यस्ता प्राविधिक समूहका कर्मचारीभन्दा प्रशासनिक समूहका कर्मचारी पठाउने प्रचलन छ।
मन्त्री अनिता देवी आउनुभन्दा अघि लगभग २०० स्थानीय तह निमित्तको भरमा चलेका थिए। उनी आएपछि उनको सचिवालय र सहसचिव महताेले ‘बार्गेनिङ’ गरिरहँदा थप अरु पनि स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतहरूको ठाउँ रित्तो भएको छ। मन्त्रालय स्रोतका अनुसार अहिले देशभरिका लगभग ३०० भन्दा धेरै स्थानीय तहहरू प्रमुख प्रशासकीयबिनै चलिरहेका छन्।
सरुवा बढुवा र पदस्थापनमा सहसचिव महतो र मन्त्री यादवको सचिवालयको यो मनपरीबाट मन्त्रालयका सचिव सिंह पनि दिक्क भएका छन्। यसबाट दुई अधिकारीबीचको टकराव झन गहिरिएको छ।
सचिव सिंहको ‘बाध्यता’
यसअघि अर्थ मन्त्रालय जान खोजेका सिंहलाई कृष्णहरि पुस्करले मात खुवाइदिए। पुस्कर दोस्रोपटक अर्थ छिर्न सफल भए। आफूले चाहेको शक्तिशाली मन्त्रालय जानका लागि पुस्करसँग कसैले सक्दैनन्। सिंहका विश्वासिला पात्र मानिने रामदत्त पाण्डेलाई अहिले सामान्य प्रशासन मन्त्रालयको प्रशासन शाखामा राखिएको छ।
कर्मचारी सरुवा, बढुवा र पदस्थापनका लागि सबै काम कारबाही गर्ने शाखा यही हो। आफूलाई मनपर्ने कर्मचारीहरूको मनपरी सरुवा र पदस्थापन गर्ने उनीहरूले मननपरेका र ‘कुरा नमिलेका’ कर्मचारीहरूलाई भने दुःख दिने गरेका छन्। अर्को सिंहका विश्वासिला पात्र मानिने कुलशेखर अर्याललाई पनि सोही शाखामा छन्।
सिंह गृहसचिव हुँदा अर्याललेसँगै काम गर्ने मौका पाएका थिए। जसले गर्दा दुई जनाबीच नजिकको सम्बन्ध बनेको छ। यस्तै काम गर्न सहज र सबै जानकारी भएकाले सचिव सिंहले अर्याललाई त्यहाँ ल्याएका हुन्।
सँग-सँगै शाखा अधिकृत हरिशरण न्यौपानेलाई पनि सचिव सिंहकै जोडबलमा सामान्य प्रशासन मन्त्रालय भित्र्याइएकाे हो। उनी पनि प्रशासन शाखामै अटाएका छन्। उनी पनि विश्वासिला पात्रको सूचीमा छन्। उपसचिव विजय सुवेदी पनि सिंहमातहतकै कर्मचारी हुन्।
विवादास्पद छवि भएका उनी यसअघि नगरपालिका पुगेका थिए। काम गर्न नसकेपछि उनलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका सरुवा गरिएको थियो। अरुलाई गन्दै नगन्ने स्वभाव भएका उनी धेरै दिन त्यता टिक्न सकेनन्। स्रोतका अनुसार सचिव सिंहकै जोडबलमा उनको पुनः मन्त्रालय प्रवेश भएको हो। तर, उनले कुनै जिम्मेवारी पाएका छैनन्।
सचिव र सहसचिवकै खेल चलिरहँदा मन्त्रालयका अन्य कर्मचारी भने रुष्ट भएका छन्। उनीहरू मन्त्रालयभित्र भइरहेको बार्गेनिङको धन्दा रोकिनुपर्ने बताउँछन्।
मन्त्री र सचिवबीचको सम्बन्ध ‘पानी बराबर’
मन्त्री र सचिवबीच सम्बन्ध निकै चिसिएको छ। कर्मचारी सरुवामा सिधै मन्त्रीको सचिवालयले भूमिका खेल्दा त्यस्तो भएको बुझिएको छ। सचिव सिंहले कर्मचारी सरुवाको लागि लगेको फाइल सचिवालयको दराजमा थन्क्याएका छन्।
सचिव सिंहलाई ‘हुन्छ हुन्छ’ भन्दै टार्दै आइरहेको सचिवालयले भने उनलाई थाहै नदिई कर्मचारीको खटनपटन गर्दै आएको छ। जबकि सचिव मातहतबाट आएका औपचारिक फाइलहरू भने सहसचिव महतोले सचिबालयमै थन्क्याएका छन्।
कर्मचारी सरुवामा सचिव सिंहले आफनो मान्छे हाल्न खोजेकाे भन्दै सचिवालयले मन्त्रीलाई कुरा लगाएपछि अहिले मन्त्री र सचिवबीच पनि चिसोपना बढेको छ।
‘न मन्त्रीज्यूले सचिवज्यूको कुरा सुन्नुहुन्छ न सचिवले मन्त्रीज्यूका कुरा’ मन्त्रालयका एकजना कर्मचारी भन्छन् ‘हामीले त के नै गर्नसक्छौं र मन्त्रालय आयो दिन बितायो गयो। सबै काम मन्त्रीज्यूकै सचिवालयले भ्याइहाल्छ नि!’
सचिवालयको दादागिरी
सामान्य प्रशासन मन्त्रालयमा मन्त्री यादवको सचिवालयका कर्मचारीले सरुवा, बढुवा र पदस्थापनमा सिधैं हस्तक्षेप गर्न थालेपछि सिंहदरबारमात्रै होइन देशभरिका कर्मचारीहरूमा असन्तुष्टि बढ्न थालेको छ।
निजामती कर्मचारीहरूको मूल्याङ्कन, पदस्थापन तथा सरुवा र बढुवाको काम गर्ने यो मन्त्रालयको मुख्य काम भनेको सरकारी कार्यालय र मन्त्रालयहरूमा कर्मचारीको व्यवस्थापन र खटनपटन गर्नु नै हो।
मन्त्रीले आफ्नो निजी सचिवालयमा भाइ भतिजाहरू भरेकी छिन्। मन्त्री यादवकै भाइ नवरतन साह ‘स्वकीय अधिकृत’ छन्। कुनै पद नदिए पनि मन्त्रालयमा मन्त्री यादवले आफ्नै श्रीमान सञ्जय साहलाई पनि सक्रिय बनाएकी छिन्।
त्यसपछि उनीहरूसँग मिलेर मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव कमलप्रसाद चुँडालको मनोमानी चलिरहेको छ।
कर्मचारीहरूले उनीहरूको त्यो ‘दादागिरी’का कारण काम गर्ने वातावरण नै नभएको गुनासो गरेका छन्। यस्तै कर्मचारी सरुवामा सचिवालयका कर्मचारीहरूको मिलिभगत अहिले छताछुल्ल छ।