अफताव आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु

फाइल तस्विर
फाइल तस्विर

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको छ।

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा आलमसहित ११ जनाविरुद्ध दायर मुद्दाको आइतबारबाट अन्तिम सुनुवाइ रौतहट जिल्ला अदालतमा सुरु भएको हो।

रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा मुद्दाको पेसी तोकिएको हो।

यसअघि गत २२ कात्तिकमा न्यायाधीश बाबुकाजी बाँनियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो। त्यसपछि वादी तथा प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीले बहस नोट बुझाइसकेका छन्।

१८ कात्तिक २०७६ रौतहट जिल्ला अदालतमा उनीहरुसवरुद्ध मुद्दा दर्ता भएको थियो।

पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते रौतहट गाविसको राजपुर फरहदवा वडा नम्बर ४ मा रहेको प्रतिवादी आलमको काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको र सो क्रममा घाइते भएकालाई आफ्नै इँटा भट्टाको चिम्नीमा जलाएर मारेको आरोप आलममाथि लगाइएको छ। तर, आलमले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति: : 2024-02-11 14:18:00

प्रतिकृया दिनुहोस्