नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

बिएल संवाददाता

नवलपरासी (पश्चिम)

नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। 

गोली प्रहारबाट उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

विश्वकर्माको पाखुरामा गोली लागेको छ।

अहिले उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

सुस्ता गाउँपालिका–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकैको शनिबार साँझ ७ बजे विश्वकर्मामाथि गोली प्रहार भएको थियो। 

घाइते विश्वकर्माको लु ७८ प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ।

कसले गोली प्रहार गरेको भन्ने खुलेको छैन। गोली प्रहार गर्नेलाई प्रहरीले खोजी रहेको छ। तर यो समाचार तयार पर्दासम्म प्रहरीले कुनै क्लु भेटाउन सकेको छैन। 

प्रकाशित मिति: : 2024-02-04 11:54:00

प्रतिकृया दिनुहोस्