प्रभु साहले भने- मानवअधिकार आयोगले मेरो चरित्रहत्या गर्‍याे, अब कानुनी लडाइँ लड्छु

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय मानवअधिकार आयोगले चरित्रहत्या गरेकाे भन्दै कानुनी लडाइँ लड्ने चेतावनी दिएका छन्।

उन आफूलाई मानवअधिकारको गम्भीर उल्लंघनकर्ताको सूचीमा राखेकोमा आयोगसमक्ष कुन घटनामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको भनेर सार्वजनिक गर्न चेतावनी दिएका हुन्।

आयोगले मानवअधिकारको उल्लंघन गरेको भनेर सार्वजनिक गरेको सूचीमा आफ्नो नाम समावेश गरेपछि साहले आफ्नोतर्फबाट बिहीबार एक वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मलाई मानवअधिकार उल्लंघनको दोषी देखाउने मानवअधिकार आयोगलाई चुनौती दिन चाहन्छु, मैले कुन घटनामा कहिले र कसको मानवअधिकार उल्लंघन गरेको छु? घटनामाको सत्य, तथ्य सार्वजनिक गर। यसरी मेरो चरित्र हत्या गर्ने र जनतालाई गुमराहमा राख्नु र बिनाआधार कसैको चरित्र हत्या गर्नु आफैँमा मावनअधिकारको उल्लंघन हो।’

मानवअधिकारजस्तो सम्मानित संस्थाको पदमा बसेर पूर्वाग्रह साँध्ने, कुण्ठा पोख्ने र जनतालाई भ्रमित पार्ने कार्य आफैँमा आपराधिक कार्य भएको साहको टिप्पणी छ।

उनले थप भनेका छन्, ‘यस कार्यमा संलग्न आयोगका पदाधिकारीहरुले आफ्नो कमजोरी तत्काल नसच्याए आयोगउपर कानुनी लडाइँ लड्न बाध्य हुने चेतावनी दिन चाहन्छु।।’

प्रकाशित मिति: : 2024-02-01 15:29:00

प्रतिकृया दिनुहोस्