आजको विषय प्रवेश गर्नुअघि एकैछिन काँग्रेस नेता नरहरि आचार्यसहितको समूहले २०६२ साल कात्तिक ६ गतेदेखि सुरु गरेको पहिलो ‘गणराज्य’ अभियानलाई सम्झन चाहन्छु।
राजा ज्ञानेन्द्रको निरंकुश शासन चरमोत्कर्षमा पुगेका बेला नेपाली काँग्रेसका ‘गणतन्त्रवादी’ नेताहरूको एउटा समूहले चलाएको अभियान थियो त्यो।
आज इन्टरनेटको सुविधा छ। हामीसँग सामाजिक सञ्जालहरू छन्। सामाजिक सञ्जालले सूचना प्रवाह गर्न खुबै सघाइरहेको छ। खासगरी राजनीतिक दलहरूलाई सञ्जाल सूचना प्रवाहका लागि भरपर्दो माध्यम बनेको छ। हुन त सञ्जालले अन्य व्यावसायिक बजारीकरणलाई एकखाले सहजता दिएको छ।
यसबीचमा सत्तारुढ दल नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियानको सूचना प्रवाह भइरहेको छ।
यसअघि नेकपा (एमाले)ले पनि झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा गर्दा सामाजिक सञ्जालको भरपुर प्रयोग गरेको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर त्यो यात्राको प्रारम्भ गरेका थिए।
यसपटक काँग्रेस महामन्त्री गगन थापाले १३ गतेदेखि मेची पुलबाट ‘संवाद अभियान’ पनि थालेका छन्। यो उनको व्यक्तिगत अभियान हो।
उनकै पार्टी नेपाली काँग्रेसले भने १६ गतेदेखि ‘समुदायमा काँग्रेस’ अभियानको सुरुवात पनि सन्निकट छ।
काँग्रेसका विभिन्न तहका नेताहरु माघ १६ देखि २६ गतेसम्म वडास्तरमा खटिएका छन्।
केन्द्रीय नेताहरूका भाषण यो पटकको कार्यक्रममा कटौतिमा परे।
काँग्रेस केन्द्रीय कार्यालयले त्यो सूचना निर्देशनात्मक रुपमा सबै जिल्लामा प्रवाह गरेको छ। यो प्रकृतिको कार्यक्रम किन आवश्यक परेको छ त काँग्रेसलाई? मूल प्रश्न त यो पनि हो।
अक्सर नेताका भाषणबाट सुरु हुने काँग्रेसी कार्यक्रमको प्रकृति बदलिनुमा मुख्य कारण खोतल्ने प्रयास गरिनुपर्छ।
तल्लो तहका कार्यकर्तालाई केन्द्रसँग प्रत्यक्ष जोड्न यस्तो गरिनु परेको होला यो अनुमानको विषय हो। तर वास्तविकता के छ?
जहानियाँ राणा शासनविरुद्ध खडा भएको संगठन हो नेपाली काँग्रेस।
राणापछि राजाको प्रत्यक्ष पञ्चायती शासन हुँदा बलियो बनेको काँग्रेसको संगठनलाई माओवादीको सशस्त्र द्वन्द्वले तङ्गभङ्ग पारिदिएको थियो।
सात दल र माओवादीका बिचमा आपसी समझदारी भएपछि काँग्रेसको संगठन फेरि अघि बढ्यो।
दोस्रो जनआन्दोलनसम्म आइपुग्दा काँग्रेस फेरि एकपटक जुर्मुरायो। पछिल्लो पुस्ताले काँग्रेसको लोकतान्त्रिक मूभमेन्टलाई बुझ्ने अवसर पाए। फेरि तराई-मधेसको आन्दोलनले काँग्रेसको संगठनमा प्रत्यक्ष र अप्रत्यक्ष धक्का दियो।
पार्टीका संगठनको प्रभावलाई परखने माध्यम मध्येको मूल कडी आम-निर्वाचन पनि हो।
दोस्रो जन-आन्दोलनपछि काँग्रेसको संगठनले सोचे अनुसारको उपलब्धी हासिल गर्न सकिरहेको छैन। त्यसको दसी-प्रमाण दुई पटकको स्थानीय तह निर्वाचन, प्रदेशस्तरका र संघीय चुनावी नतिजाले देखाएकै हो।
त्यसमाथि गठबन्धन गरेर चुनाव लड्ने परिपाटीको जोडदार उभारले काँग्रेसको संगठन गर्नुपर्छ भन्ने भावनामा ह्रास आउन थाल्यो।
यी विविध कारणहरुले काँग्रेसको संगठन कमजाेर हुँदै गइरहेको देखाउँछ। त्यसमाथि पार्टीको आन्तरिक समीकरणले पनि संगठनमुखी भन्दा नेतामुखी काँग्रेस भएको देखायो।
यो पटक सुरु भएको अभियान ‘समुदायमा कांग्रेस’ले तल्लो तहका कार्यकर्तालाई निखारिने र मथिल्लोस्तरका नेतालाई निर्णय लिनसक्ने बनाउन सक्नुपर्ने देखाउँछ।
जिल्ला-जिल्लामा नेताहरू आउने गाडी सवारी साधनको लस्कर, होटल र पार्टी कार्यालयमा लावालस्कर त खुवै भए तर काँग्रेसको पहुँच जनतामा कमजोर हुँदै गयो। नेताहरूसँग बसेको, खाएको, नाचेको, हिँडेको तस्विर र भिडियो सामाजिक सञ्जालमा राख्यो अनि घर फर्कियो। यो अभ्यासले मात्रै संगठन मजबुत हुन नसक्ने अवस्था देखाउँछ।
हुन त सामाजिक सञ्जालको प्रयोगको विधि, आवश्यकता र उपयुक्ततालाई सही ठाउँमा सही मौकामा प्रयोग गरिनु प्रभावकारी ठहर्छ। तर, संगठनको चरित्रलाई उदाङ्गो पार्नेगरी प्रयोग गरिनुले नतिजा सकारात्मक दिन नसक्ने अवस्था पनि आउँछ।
यो पटकको अभियानले काँग्रेसका कार्यकर्ताहरूका स-साना अपेक्षा, पार्टी सञ्चालनको विधि र जनतासँग प्रत्यक्ष सरोकार रहेका विषयमा काँग्रेसलाई जोड्न सक्नुपर्ने चुनौतिका विषयमा महिनौँ छलफल गराउन सक्नुपर्छ।
काँग्रेसको बलियो पक्ष नै काँग्रेसले समुदायमा वर्षौंदेखि छाडेको लोकतान्त्रिक छाप हो। त्यसको आत्मालाई जोगाइराख्न सक्नुपर्ने चुनौती काँग्रेसजनमा छँदैछ।
संगठनको आन्तरिक प्रतिस्पर्धा, स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अपनाउने रणनीतिलाई व्यवस्थित गर्न नसक्नु काँग्रेसको समस्या हो।
पार्टीको विधान र नियमावलीसँगै समयअनुसारको मागलाई सामञ्जस्यता कायम गर्नमा काँग्रेस चुक्ने गर्दछ। यो पटकको अभियानले कार्यकर्तालाई ऊर्जा थप्ने पार्टीमा नयाँ पुस्तालाई जोड्ने विषयमा छलफल चलाउन सक्नुपर्ने दबाब पनि छ।
सहिद सप्ताहबाट सुरु भएको ‘समुदायमा काँग्रेस’ अभियानको समापन पूर्वसभापति सुशील कोइराला स्मृति दिवसमा हुने तय छ।
यसबीच सहिदहरूले लोकतन्त्र स्थापनामा दिएको आहुती, पुराना नेताहरूले संगठन निर्माण गर्न गरेको मेहनतको समेत चर्चा हुनुपर्छ।
त्यससँगै जनजीविका, सार्वजनिक सरोकारको विषयमा पार्टी कार्यकर्ताले लिनुपर्ने जिम्मेवारीबोधका विषयमा अभियानले परिणाम दिन सक्नुपर्छ।
अनि ती बिचरा गणतन्त्र बादी नेता आज कता हराये वा वोझल पारिये त? बास्तब मा नेपाल मा भयेको यो आज को गणतन्त्र को प्रथम मसिहा वा मार्ग दर्शक ती नेता मात्र थिये भन्ने मेरो सोचाई छ। अरु त सिर्फ तिनको योगदान को ब्याज खाने साहुकार मात्र देखिये होईन र ? नत्र के नै उपलब्धि ल्यायेको छ त आज को ब्यबस्थाले, सिर्फ बिसङ्गती, अनुशासन र नैतिकता बिहिन हाम्रो समाज मात्र होईन र? जय मात्रीभुमी!