बङ्गलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री दाहालले उनलाई पठाएको बधाई सन्देशमा बङ्गलादेशको नेतृत्वसँग मिलेर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेको जानकारी दिएका थिए।

त्यसअवसरमा राजदूत भण्डारीले परराष्ट्रमन्त्रीमा डा हसन महमुद नियुक्त भएकामा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले उनलाई सम्बोधन गरेर पठाएको बधाईपत्र हस्तान्तरण गरेको ढाकास्थित नेपाली राजदूतवासले साेमबार जनाएको छ।

त्यसअवसरमा नेपाल–बङ्गलादेशबीचको आर्थिक सहयोगलाई थप मजबुत बनाउने उपायबारे विचार आदानप्रदान भएको थियो। परराष्ट्रमन्त्री महमुदले आफूले गरेको नेपालको  औपचारिक स्मरणको स्मरण गर्दै दुई देशबीचको उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गरे।

उनले व्यापार, पर्यटन, ऊर्जा, जलवायु परिवर्तन र जनस्तरको सम्पर्कका क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए। हामीले हाम्रा देशहरूबीचको ऊर्जा व्यापारलाई यथाशीघ्र अघि बढाउन मिलेर काम गर्नुपर्छ र वार्तालाई तीव्रता दिनुपर्नेमा जोड दिए।

राजदूत भण्डारीले परराष्ट्र मन्त्रालयको परामर्श, ऊर्जासम्बन्धी संयुक्त सञ्चालन समिति, वाणिज्य सचिवस्तरीय बैठकलगायत विभिन्न द्विपक्षीय संयन्त्रमा भएका प्रगतिबारे परराष्ट्रमन्त्रीसँगविचार आदान–प्रदान गरेका थिए।

उनले द्विपक्षीय साझेदारीबारे प्रकाश पार्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा घनीभूत सहकार्य आवश्यक भएको बताएका थिए।

प्रकाशित मिति: : 2024-01-29 17:10:00

प्रतिकृया दिनुहोस्