राप्रपाभित्र लिङ्देन खेदिरहेको ‘मिश्र-राणा’ ग्याङ

उमेश थापा

काठमाडौं

गत पुस तेस्रो सातातिर राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाँकेले अधिवेशनबाट निर्वाचित केही जिल्ला कार्यसमिति तथा क्षेत्रीय समितिका सदस्यहरूलाई हटाएर नयाँ व्यक्तिहरू नियुक्त गर्‍यो।

त्यो भनेको राप्रपाकै महामन्त्री धवल शमशेर राणाको ठाडो निर्देशन थियो। उनी बाँके जिल्लाकै हुन् र त्यहीँबाट निर्वाचन जितेर अहिले सांसद छन्।

जिल्लाको त्यो निर्णयमा अध्यक्ष राजेन्द्र लिङ्देनले सिधै हस्तक्षेप गरे। नयाँ नियुक्तिलाई खारेज गर्दै जिल्लाले हटाएकाहरूलाई नै पदस्थापन गर्न उनले निर्देशन दिए।

त्यसअघि गत साउनमा राप्रपाका पुराना नेता लोकेन्द्रबहादुर चन्दले आफूजस्तै पाका नेताहरूलाई आफ्नै घरमा डाके। त्यहाँ निम्त्याइएका दुई नयाँ अनुहार थिए, उनै धवल शमशेर राणा र नवप्रवेशी उपाध्यक्ष रवीन्द्र मिश्र।

खासमा त्यो ‘मिटिङ’ प्रकाशचन्द्र लोहनीले बोलाएका थिए। लोहनी राप्रपाको ‘केन्द्रीय निर्देशन समिति’का अध्यक्ष हुन्। त्यसमा धवल र रवीन्द्र पनि छन्।

पार्टीभित्र लिङ्देनको कार्यशैलीबारे त्यो बैठकले निकै निर्मम समीक्षा गर्‍यो। केही महिनाअघि मात्रै राप्रपा सरकार छोडेर निस्किएको थियो।

२०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा ‘अप्रत्यासित’ मत ल्याएको राप्रपाभित्र त्यो बेलै सरकारमा जाने वा नजाने भन्ने विषयमा व्यापक मतभेद थियो।

मिश्र र धवल अनि ती ‘पाका’ नेताहरू सुरुवातदेखि नै सरकारमा जान नहुने पक्षमा थिए। तर, पार्टीको केन्द्रीय समिति बैठकबाट लिङ्देनले सरकारमा जाने निर्णय गरिदिए।

अध्यक्ष लिङ्देन आफैँ उपप्रधानसहित तथा ऊर्जा, विक्रम पाण्डे सहरी विकास र ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए। दीपकबहादुर सिंह अध्यक्ष लिङ्देनकै मन्त्रालयमा ऊर्जा राज्यमन्त्री भए।

गठबन्धन सरकारबाट एमाले बाहिरिएपछि राप्रपा पनि बाहिरियो।

खासमा कट्टर राजावादीहरू र नरमपन्थबीच सरकारमा जाने कि नजाने भन्ने विषयमा ठूलो मतभेद थियो। गर्भसिद्धान्तमै ‘राजसंस्था र हिन्दूराज्य’को नारा बोकेको राप्रपाभित्र ‘गणतान्त्रिक’ मर्म बोकेको सरकारमा जाने या नजाने भन्नेबारे सुरुवातदेखि कै विवाद हो।

‘सरकारमा जानै हुन्न’ भन्ने मिश्र मार्काका एक पक्ष छ, जहाँ राप्रपाका पुराना र पाका नेताहरू छन्। राप्रपाबाट टुक्रिएका पुराना पार्टी अध्यक्षहरू पनि त्यसमा छन्।

‘सरकारमा नगए जनतालाई कसरी अनि के डेलिभरी गर्ने?’ भन्ने राजेन्द्र लिङ्देनको अर्को समूह पनि राप्रपामा छ जसले चाहन्छ कि राप्रपा कम्तीमा अढाइ वर्षजति सरकारमा बस्नुपर्छ। त्यतिञ्जेल चुनावका बेला गरेका ‘केही वाचा’हरू पूरा गर्न सकिन्छ भन्ने उनीहरूको मत छ।

यिनै मत, अभिमत र विवादहरूले अहिले राप्रपा चारैतिरबाट घेरिएको छ। त्यसमा अधिवेशनका बेला आफूले नै रोजेका महामन्त्री धवल शमशेर राणा पनि अर्कोतिर मोडिएपछि राप्रपाभित्र लिङ्देन लगभग एक्लिन थालेका छन्।

मतभेद र विवादका यी बाछिटाहरू अहिले पनि उस्तै छ।

केही दिनअघि कोशी प्रदेशसभाको अध्यक्षका लागि अम्बरबहादुर बिष्टलाई अघि सार्ने राप्रपाको निर्णयप्रति पनि ‘निर्देशन समिति’ आपत्ति जनायो। आपत्तिमात्रै होइन समितिका अध्यक्ष लोहनीले विज्ञप्ति नै निकालेर बिष्टको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिए।

तर, प्रतिपक्षमा रहेको एमालेलेसमेत समर्थन गरेपछि बिष्ट कोशी प्रदेशको समाभुखमा निर्वाचित भए।

खासमा केन्द्रीय समितिको निर्णय वा निर्देशनमा त्यो निर्देशक समितिले हस्तक्षेप गर्न पाउँदैन। राप्रपा केन्द्रीय समितिले बिष्टलाई सभामुखमा उठाउने निर्णय गरेपछि निर्देशक समितिको बैठक बसेको थियो।

त्यो बैठकमा सहभागी भएका पदाधिकारीहरूका अनुसार बैठकमा राप्रपाले उम्मेदवारी दिन नहुने भन्ने विषयमा कुरा त उठेको थियो। तर विज्ञप्ति नै निकालेर ‘निर्देशन’ दिने भन्नेबारे निर्णय नै भएको थिएन।

कोशी सभामुखका बारेमा निर्देशक समितिसँग पनि अध्यक्ष लिङ्देनलगायतका पदाधिकारीले राय मागेका थिए।

‘केन्द्रीय समिति वा कार्य सम्पदन समितिको निर्णयविरुद्ध जाने भन्ने त होइन तर हामीले ती निकायलाई खबरदारी गर्नुपर्छ भन्नेसम्म हो’ निर्देशन समितिमा रहेका एकजना पदाधिकारी भन्छन्, ‘हामीले छलफल त गरेका हौं तर त्यसरी विज्ञप्ति नै निकाल्ने भन्ने थिएन। पछि कताबाट सार्वजनिक नै भइसकेछ, लाेहनीजीले त्यत्राे वर्ष पार्टी चलाएकाे पारा पनि देखाउनुभयाे हाेला।’

निर्देशन समितिको यो ‘निर्देशन’पछि अध्यक्ष लिङ्देन आफैँ समितिले आफ्नो कार्यक्षेत्र र क्षेत्राधिकार नाघेर केन्द्रीय समितिलाई नै ‘निर्देशन’ दिन थालेको सार्वजनिकरुपमै भन्न थालेका छन्। 

राप्रपाको यो निर्देशन समिति भनेको कार्य सम्पादन अनि केन्द्रीय कार्यसमितिको एउटा ‘सल्लाहकार’ निकाय हो।

‘हामीले उहाँहरूसँग राय, सल्लाह माग्ने हो। सबै कुरा मान्नैपर्छ भन्ने त छैन नि’ लिङ्देननिकट एकजना पदाधिकारी भन्छन् ‘केन्द्रीय समितिभन्दा माथि त कुनै पनि पार्टीमा कुनै निकाय नै हुँदैन। हामीले त सल्लाह चाहिन्छ। सबै सल्लाहकारलाई एकै ठाउँमा राखौं भनेर निर्देशन समितिको परिकल्पना गरेका हौं।’

२०७८ सालको महाधिवेशनमा सबै राप्रपाका ‘टुकुडी’हरू एकै ठाउँमा आएका थिए। त्यो बेला गीताको किताब हातमा समाएर ‘राप्रपा फुटाउँदिन’ भनेका कमल थापा आफू अध्यक्षमा पराजित भएपछि भने केही नेता र कार्यकर्ताहरू बोकेर अर्को राप्रपा बनाए।

थापालाई हराउन एक भएका पूर्वेली लिङ्देन र पश्चिमेली राणाको गठजोड ‘नयाँ राप्रपा’को नेतृत्व बन्यो। बाँकी रहेका लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीजस्ता पुराना नेताहरू पनि लिङ्देनसँगै रहे। तर लिङ्देनको ‘बागी’ बनेर।

छुट्टिएका कमल थापाले नयाँ पार्टीको संगठन विस्तार गरिरहँदा राणा पनि त्यही ‘बागी’ समूहमा मिसिए। राजेन्द्र लिङ्देन आफैँले ‘टीकाटाला’ गरेर भित्र्याएका मिश्र पनि अलिकति पर सर्न थाले। राणासँगै उनी पनि त्यही ‘पाका’ नेताहरूको ‘बागी’ समूहका प्यारा हुन थाले। 

अहिले मिश्र त राप्रपाभित्र सबैभन्दा चर्को ‘राजावादी’ भएका छन्। सार्वजनिक समारोह होस् वा आफ्ना निजी सामाजिक सञ्जालहरू ‘राजा’ चाहिन्छ भनेर सबैभन्दा बढी वकालत गर्ने अहिले मिश्र नै छन्, राप्रपाकै संस्थापक नेताहरू भन्दा धेरै।

अहिले फेरि लोहनी अनि मिश्र ग्याङसँग लिङ्देनको भनसुन सतहमै पोखिएको छ। लिङ्देन लगातार सार्वजनिक कार्यक्रम अनि अन्तर्वार्ताहरूमा मिश्रको व्यक्तिगत टीकाटिप्पणीमा उत्रिन थालेका छन्। निर्देशक समितिको बारेमा पनि उनले चर्को आलोचना गरिरहेका छन्।

केही दिनअघि लिङ्देनले एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा मिश्रले राप्रपा बुझ्दै नबुझेको भनेर टिप्पणी गरेका थिए।

‘हिँजअस्ती आउनुभएको हो। मिश्रजीले राप्रपा अझै बुझ्नु भएकै छैन’ एभिन्यूज टेलिभिजनसँग उनले भनेका थिए ‘उहाँले राप्रपा बुझ्नु भएकै छैन।’

निर्देशन समितिकै भाषामा मिश्रले पनि सभामुखको उम्मेदवारी फिर्ता हुनुपर्ने बताएका थिए र यसअघि राप्रपा सरकारमा जानुलाई पनि ‘गल्ती’ भएको टिप्पणी गर्दै आएका थिए।

शनिबारमात्रै एउटा सार्वजनिक कार्यक्रममा पत्रकारहरूसँग छुट्टै कुरा गर्दै मिश्रले अध्यक्ष लिङ्देनको टिप्पणीमा ब्यङ्ग्यात्मक जवाफ फर्काए।

‘पहिले बुझ्न कठिन। झन् बुझ्यो झन् कठिन। झन् झन् बुझ्यो झन् झन् कठिन…’ लक्ष्मीप्रसाद देवकोटाको कविताका शब्दहरू सापटी लिँदै मिश्रले भनेका थिए ‘हो त मैले बुझेकै छैन। ३० वर्षदेखि राप्रपामै लागेको मान्छेहरू हुनुहुन्छ। १५ महिना अघि छिरेको मैले त राप्रपा बुझ्दैछु…।’

हत्तपत्त पत्रकारहरूलाई ‘बाइट’ नदिने मिश्र अहिले भने पत्रकारहरू देख्यो कि अघि सरिहाल्छन् अनि सामाजिक सञ्जालमा ‘राजा र हिन्दूराज्य’का पक्षमा आफ्ना भावनाहरू ‘सनसनी’ बनाउँछन्। 

राप्रपाभित्र अहिले पलाइरहेको ‘मिश्र-राणा’ गुटबाट लिङ्देन पक्ष भने हडबडाएको छ। मिश्रहरूलाई ‘नवप्रवेशी’ भन्नेहरू र राणालाई ‘अवसरवादी’ भन्ने राप्रपाका नेता कार्यकर्ताहरूले यो ‘ग्याङ’लाई शंकाको नजरले हेर्नुपर्ने बताउँदै आएका छन्।

‘राप्रपा हिँज पनि फुटेको थियो। गर्भमै फुटेर जन्मिएको पार्टी हो। अझ भर्खरै छिरेकाहरूले पुराना र हाम्रा पाका नेताहरूलाई भाँड्ने काम गरिरहेका छन्’ लिङ्देन पक्षका एक पदाधिकारी भन्छन् ‘गीता समाएर कसम खानेहरूले त पार्टी फोडेर लगे। आफू गए। अब ‘नवीन राप्रपा’ भन्नेहरूले पनि त्यस्तो नगर्लान् भन्ने के नै छ र!’

प्रकाशित मिति: : 2024-01-28 21:40:00

प्रतिकृया दिनुहोस्