राष्ट्रियसभाका १९ नयाँ अनुहारः गठबन्धनको धोकाधडीबीच एमालेको एक सिट

संसदको माथिल्लो सदन राष्ट्रियसभामा आउने फागुन २० गतेपछि १९ जना नयाँ अनुहारले प्रवेश पाउँदैछन्। २०७४ सालमा ६ वर्षका लागि निर्वाचित भएका २० सांसदको फागुन २० मा कार्यकाल सकिँदैछ। र, २० जना नयाँ अनुहारले प्रवेश पाउनेछन्। 

आज (माघ ११ गते) भएको निर्वाचनबाट १९ जना निर्वाचित भइसकेका छन्। एक जना राष्ट्रिपतिबाट मनोनित हुनेछन्। काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीचको गठबन्धनबाट १८ जना र एक जना नेकपा एमालेबाट विजयी भए। 

सात प्रदेशबाट गठबन्धनका १८ जना निर्वाचित हुँदा नेकपा एमालेकी रुक्मिणी कोइराला कोशी प्रदेशबाट विजयी भइन्। उनले एमालेलाई राष्ट्रियसभामा हुन लागेको सून्यताबाट बचाइन्।

उनले ५ हजार ८६ मतभार पाउँदा उनका प्रतिद्वान्द्वी चम्पादेवी कार्की ४ हजार ९९२ मतभार ल्याउँदै पराजित भइन्। कोशीमा गठबन्धनबाट माओवादी केन्द्रकी कार्की पराजित हुँदा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला भने ५ हजार २९२ मतभार ल्याउँदै विजय भए।

एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार भएका राप्रपाका उद्धव पौडेल ४ हजार ५६२ मतभार मात्र प्राप्त गरे। 

अन्य प्रदेशमा गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन्। 

मधेश प्रदेशबाट गठबन्धनका उम्मेदवार काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी निर्वाचित भए। ढुंगानाले ७ हजार ३७० मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्द्वदी एमालेका बिजेता झाले २ हजार ४८४ मतभार पाए।

यस्तै चौधरीले ७ हजार ९२३ मतभार प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी एमालेकी उषा चौधरीले २ हजार ४४६ मतभार पाइन्।

बागमति प्रदेशबाट चार जना विजयी भएका छन्। नेपाली काँग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका छन्। 

बस्नेतले ६ हजार ५३१, पुडासैनीले ६ हजार ६२२ मतभार प्राप्त गर्दा अधिकारीले ६ हजार ३८३ र रिजालले ६ हजार ५१२ मतभार पाए। 

यस्तै गण्डकी प्रदेशबाट ३ सिटका लागि काँग्रेसका किरणबाबु श्रेष्ठले ३ हजार ८०८, पदमबहादुर परियारले ३ हजार ७७९ र माओवादी केन्द्रबाट पर्वतकी मनरुपा शर्मा ३ हजार ६६० मतभार ल्याउँदै विजयी भए। 

लुम्बिनीबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र काँग्रेसकी विष्णुकुमारी सापकोटा ५ हजार ४३५ मतभार प्राप्त गरेर विजयी भए।

कर्णालीबाट नेकपा एसकी सावित्री मल्ल ३ हजार ७२२, माओवादी केन्द्रका विष्णु विक ‘विकल्प’ ३ हजार ८१७ र काँग्रेसबाट कृष्णबहादुर रोकाया ३ हजार ८७० मत भार ल्याएर विजयी भए। 

सुदुरपश्चिमबाट राष्ट्रियसभाका लागि तीन जना विजयी भए। माओवादी केन्द्रकी रेणु चन्द ४ हजार ४५३ र काँग्रेसका नारायण भट्ट ४ हजार ४१९ र काँग्रेसकै बलदेव बोहरा ४ हजार ३४७ मतभार ल्याउँदै विजयी भए। 

राष्ट्रपतिबाट मनोनित हुनेमा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल रहेकी छन्। 

प्रकाशित मिति: : 2024-01-25 20:30:00

प्रतिकृया दिनुहोस्