राष्ट्रियसभा निर्वाचन: मधेसमा गठबन्धनबाट ढुंगाना र चौधरी विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन्।

बिहीबार सम्पन्न मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गरे।

प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गरे।

त्यसैगरी, चौधरीले प्रदेशसभाबाट ७६ र पालिकाबाट दुई सय पाँच मत गरी जम्मा सात हजार नौ सय २३ मतभार प्राप्त गरिन्।

नेकपा (एमाले) बाट खुलातर्फका उम्मेदवार कुमारी विजेता झाले प्रदेशसभाबाट २५ र पालिकाबाट ६१ गरी दुई हजार चार सय ८४, जनमत पार्टीका रामशङ्कर महासेठले प्रदेशसभाबाट १४ र पालिकाबाट चार गरी आठ सय १८ मतभार प्राप्त गरे।

त्यसैगरी, महिला समूहतर्फ एमाले उम्मेदवार उषादेवी थरुनीले प्रदेशसभाबाट २५ र पालिकाबाट ५९ गरी दुई हजार चार सय ४६ मतभार प्राप्त गरिन्।

यहाँ अन्यतर्फ पालिकामा एक मत र महिला समूहमा प्रदेशसभाका पाँच तथा पालिकाका दुई गरी आठ मत बदर भएका छन्।

बिहान ९ देखि ३ बजेसम्म भएको निर्वाचनमा निर्वाचक मण्डलका तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरे पनि मतपेटिकामा तीन सय ७२ मातमात्र फेला परेका निर्वाचन अधिकृत गुरुङले जानकारी दिए।

यहाँ जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान र मतगणनाको व्यवस्था गरिएको थियो। विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतले आजै प्रमाणपत्रसमेत वितरण गरेका छन्।

प्रकाशित मिति: : 2024-01-25 16:44:00

प्रतिकृया दिनुहोस्