अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेकाे छ।
आयोगले बिहीबार मुड्केचुला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज आरोपपत्र दायर गरेको हो।
मुड्केचुला गाउँपालिका–८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरेअनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम गरेर अधिक गरेको प्राविधिक मूल्याङ्कन गराइ भ्रष्टाचार गरेकाले निजहरूमाथि कैद र जरिवानाको सजायको माग गरिएको छ।
उनीहरूले ११ लाख भ्रष्टाचार गरेकाे अख्तियारले जनाएकाे छ।
यस्ताे छ अख्तियारकाे आरोपपत्र
जिल्ला डोल्पा, मुड्केचुला गाउँपालिकाको मिलेमतोमा गाउँपालिकाबाट सञ्चालन भएको महादेव खोलादेखि घाम्टा खोलासम्म मोटर बाटो निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब-इन्जिनियर दिप नारायण यादवले आ.व. २०७6/०७7 को जिल्ला डोल्पा मुड्केचुला गाउँपालिका वडा नं. 8 स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरे अनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम भएको गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्कनसहितको नापी कितावमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी रु.१०,९७,८५२।२९ उपभोक्ता समितिलाई भुक्तानी दिएको देखिँदा निजहरु सिंहराज डाँगी, देवराज रावत र दिप नारायण यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.१०,९७,८५२।२९ (दश लाख सन्तानव्वे हजार आठ सय बाउन्न रुपैयाँ उनान्तीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी निजहरुबाट बिगो असुल उपर हुन एवं निजहरु सिंहराज डाँगी, देवराज रावत र दिप नारायण यादवले नभए नगरेको कामको समेत भए गरेको भन्ने गलत प्राविधिक मूल्याङ्कन प्रतिवेदन तयार गरी सोही आधारमा भुक्तानी सदर तथा भुक्तानीको लागि पेश गरी भुक्तानीसमेत गरेको देखिँदा निजहरु सिंहराज डाँगी, देवराज रावत र दिप नारायण यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको छ।
मुड्केचुला गाउँपालिका वडा नं. ८ का तत्कालीन का.बा. वडा अध्यक्ष धन बहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य राम कुमार नेपाली (दमाई), वडा प्राविधिक (असिस्टेन्ट सब-इन्जिनियर) इशारा बुढाले सडक निर्माण योजनामा भए गरेका कुरा लुकाई छिपाई र नभए नगरेका कुरा देखाई प्रतिवेदन पेश गरेको र मुड्केचुला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, डोल्पालाई उक्त योजनाको कार्य सम्पन्न भएकोले रकम भुक्तानी गर्न सिफारिससमेत गरेकोमा उक्त निर्माण कार्यको भुक्तानीसमेत भई रु.१०,९७,८५२।२९ बढी भुक्तानी भएको देखिँदा निजहरु धन बहादुर रोकाया, राम कुमार नेपाली (दमाई) र इशारा बुढाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदाबी लिइएको छ।
साथै, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाले सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता गरी कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको भनी उपभोक्ता समितिले कार्यसम्पन्न प्रतिवेदन, विल भरपाई, डोरहाजिरी लगायतका कागजात पेश गरेको तर शर्त एवं सम्झौताविपरीत सम्झौताबमोजिमको कार्य नगरी भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी बढी मूल्याङ्कन गरी गराई रु.१०,९७,८५२।२९ बढी भुक्तानी लिएको देखिँदा निजहरु मान बहादुर रोकाया र निर्मला रोकायाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई बिगो रु.१०,९७,८५२।२९ (दस लाख सन्तानब्बे हजार आठ सय बाउन्न रुपैयाँ उनान्तीस पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।