राष्ट्रियसभा निर्वाचन: कर्णालीमा मतदान सकियो, काे-काे भए अनुपस्थित?

कर्णालीमा राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदान सकिएको छ। मतदान गर्ने समय ३ बजेसम्म तोकिएको भएपनि सबै मतदाताले मत हालेपछि मतदान सकिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभातर्फका ४० सदस्यले मतदान गरेका छन्। यस्तै, ७९ स्थानीय तहका कुल एक सय ५८ मतदातामध्ये एक सय ५६ जनाले मतदान गरेका छन्।

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएकाे हुँदा दुई जना अनुपस्थित देखिएका हुन्।

बिहान ९ बजेदेखि सुरु भएको मतदान १ः१५ बजे सकिएको हो। प्रदेशसभातर्फ घनश्याम भण्डारीद्वारा पहिलो र सभामुख नन्दा गुरुङद्वारा अन्तिम मत खसेको थियो भने स्थानीय तहतर्फ सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनद्वारा पहिलो र जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले अन्तिम मतदान गरेका थिए।

मतदान सकिएसँगै छलफलबाट मतगणनासम्बन्धी छलफल भइरहेको छ भने आजै नतिजा आइसक्ने निर्वाचन कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशबाट तीन पदका लागि छ जनाको उम्मेदवारी परेको थियो। सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विक उम्मेदवार छन्।

यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विक उम्मेदवार छन्। यसपटक भएको निर्वाचनमा प्रति प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार छ।

यसरी गणना हुँदा कर्णाली प्रदेशको कुल मतभार पाँच हजार ८४ छ।

प्रकाशित मिति: : 2024-01-25 13:58:00

प्रतिकृया दिनुहोस्