जब मैले पहिलो चोटी चौडा छाती फुलाएर पूरै गर्वका साथ शिक्षक सेवा आयोग प्रावि तहमा शिक्षकको रुपमा नियुक्तिपत्र बुझेको थिएँ, त्याे दिन थियो २०७१ भदौ १५ गते। सोही दिन अधिक खुसीका साथै जिम्मेवारीको डर पनि थपिएको थियो। यी सबैको रहस्य त्यही नियुक्तिपत्र थियो। जसलाई खामभित्र बन्द गरी बाहिर लेखिएको थियो, आ.वि(आधारभूत विद्यालय) कोइरेली, जुम्ला।
हातमा परेको नियुक्तिपत्र र त्यसमा लेखिएको विद्यालयको नाम अ.. पनि कहाँ थियो र? मात्र थियो आ.वि कोइरेली। मलाई लाग्यो, विद्यालयको नाम पनि आ.वि हुन्छ र? कस्तो बेनामे विद्यालय रहेछ? कुनै नाम त हुनुपर्ने हो? नियुक्तिपत्र बोकेर घर फर्किएँ। बेलुकी सुत्नेबेला मनमा विद्यालयको नाम, गाउँ, ठाउँ, त्यहाँका अभिभावक र मेरो जिम्मेवारीबीच मनमा अनेकौँ जिज्ञासाहरु मन्थन हुन थाले। जसबाट कुनै नौनीजस्तो बहुमूल्य पदार्थ निस्कने सम्भावना पनि थिएन। केवल मनको कल्पना न थियो। यत्तिकैमा निन्द्राले झ्याम्पै समात्यो। मस्त निद्रामा देखियो स्वर्ण सपना। मेरो अबको कार्य क्षेत्र यानिकी खाममा उल्लेखित बेनामे विद्यालय।
आहा! सानो चिटिक्क परेको नाग्म-गमगढी राजमार्गअन्तर्गत नाग्म पूर्वतर्फ १० कि.मि टाढा कोइरेली बजारभन्दा थोरै माथि गाउँको बीचमा पूरै हरित विद्यालय। विद्यालयको मैदानमा फूलबारी, त्यसैमा खेलिरहेका थिए थरिथरीका पुतलीजस्तै बालबालिकाकाहरु। रङरोगनयुक्त भवन। जसका कक्षाकोठा पूरै छापामय। जहाँ बालबालिका तल-माथि दाँया-बाँया जताबाट पनि अध्ययन गर्ने सक्ने। विद्यालयमा रहेका बालबालिका मैत्री बसाइ व्यवस्थापन, डेस्क-बेन्च पनि बालमैत्री।
अपाङ्घमैत्री शौचालय, सबै-सबै बालमैत्री थिए। जसलाई साना बालबालिकाले सजिलै बन्द गर्न अनि खोल्न सक्ने। लहरै बनेका खानेपानीका धारा। बालबालिकाको उमेर र उचाइलाई ध्यानमा राखिएको हेर्दै धाराको पानी खानलाई चलाउँ-चलाउँ जस्तो लाग्ने। मैदानमा फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै रुपमा डस्विनको पूर्ण व्यवस्थापन। कक्षाकोठाभित्रै बालबालिकाका लागि शुद्ध खानेपानीका लागि फिल्टरको व्यवस्था।
बालमैत्री शिक्षण सिकाइ पद्धति अवलम्बन हुने गरेको, जहाँ बालबालिकालाई गुणस्तरीय समान, निःशुल्क र अनिवार्य शिक्षा प्रदान गर्ने गरेको। जहाँ बालबालिकाहरुको सर्वाङ्गिण विकास सशक्तिकरण, स्वावलम्बन, सामाजिक न्याय र शान्ति प्रवर्द्धन गर्ने शैक्षिक क्रियाकलापहरु सञ्चालन हुने गरेको। भेदभाव, भयमुक्त तथा द्वन्द्वरहित वातावरण अर्थात् विद्यालय होइन मानौँ, बालबालिकका लागि मामा घर नै हो।
बालबालिकासँग सधैँ घुलमिल भइरहने शिक्षक, शिक्षिका, अभिभावकको साथ र सहयोग सँगै सुमधुर सम्बन्धबारे छलफल गर्न के लागेको थिएँ, झल्याँसै ब्युँझिएँ। मानौँ, एकछिन स्वर्गबाट सिधै खसेको जस्तो लाग्यो। त्यस्तो सपना, जसले मलाई स्वर्गको अनुभूति दियो। अनि सोचेँ साँच्चिकै यस्तो होला त, म जाने विद्यालय?
कौतुहलताले सिमा नाग्यो। त्यहाँ जाने तिव्र अभिलाषा मनदेखि जागेर आयो। भोलिपल्ट बिहानै गएँ, सपनाको बेनामे विद्यालयतिर।
कच्ची बाटोमाथि कुदिरहेको गाडी अनि गाडीभित्र बसेको म निकै आनन्दित भावमा यात्रा गर्दै-गर्दै पुगेँ, बेनामे विद्यालयको प्राङगणमा। मन स्थिर भयो। सँगै खिन्न पनि। आँखाका परेली नथाकेरै हेर्न थाले वरिपरिका दृश्यहरु। हल्लाखल्लाले कुनै असर नै गरेन मलाई। आँखा अगाडि केवल अर्को नौलो विपना जगजाहेर भइसकेको थियो। शरीर थाक्यो। त्यहीँ भुइँमै बसेँ। कसैसँग कुराकानी भएन। एकोहोरो टोलाइरहेँ म।
भत्किन लागेको भवन। प्वाल परेको छत। फुटेका भ्याल ढोका, हिँड्दा पनि टाउको ठोकिने छत। कुनै विद्यालय नभएर खण्डहर जस्तै लाग्थ्यो। धुलाम्य कक्षाकोठा। ठ्याक्कै कर्णाली राजमार्गभन्दा कम थिएनन्। न बाेर्ड, न मार्कर, न बस्ने व्यवस्था, न व्यवस्थित शौचालय, न त खानेपानी नै। उफ! अब अन्य कुरा उल्लेख नगरेकै राम्रो होला। मैले सपनामा देखेको बालमैत्री विद्यालय र आँखा अगाडि देखेको विद्यालयको केही दृश्य, जुनकुनै कोणबाट समानता पाएको थिइनँ।
सबै मान्छे खुसी थिए, शिवाय म। उनीहरु विद्यालयमा नयाँ सर आउनुभयो भनेर खुसी थिए। म कस्तो विद्यालयमा आउन पुगेँ भनेर दुःखी थिएँ। ठीक विपरीत। मनले सोच्यो यो विद्यालयमा अब बस्नुहुन्न। म सक्दिनँ पनि। केही गरेर भए पनि यो ठाउँबाट जानुपर्छ भन्ने लोभी इर्ष्या पलाएर आयो।
यतिकैमा त्यहाँका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले, 'सर...सर...' भनेर अलि ठुलो स्वरमा बोलाउनुभयो। म झसङ्ग भएँ र हजुर भनेँ। उनले थपे, 'सर विद्यालयको हालत यस्तो छ। तुमीले सोच्या भुन्दा फरक पक्कै होला, अब यसलाई कसोरी हुन्छ बुनाया। टटकी तुम्मा जिम्मा भया। सप्पै गाउँलेले तुम्मो आशा मान्या छुन्, भरोसा गर्याका छुन्। अहिलेसम्म यै विद्यालयमा कोही पुनि सर आया छियानुन्। तुमी आयौ साह्रै खुसी छुन्, न्याका माइस(मान्छे)।
जुन शब्दले मेरो कुद्न लागेको मन ब्रेक लागेझैँ भयो। रोकिदियो ठाउँको ठाउँ। सोचेँ विद्यालय सानो र खक्तम नै किन नहोस्, आखिर चीनको संविधान पनि माओत्सेतुङले नदीको किनारमा रहेको एक सानो घरमा बसेर लेखेका थिए। जसले हाल विश्वमा शत्तिशाली उदयमान राष्ट्र चीन बन्न सफल भयो। सानो ठाउँमा बसेर पनि ठुला काम सुरु गर्न सकिन्छ भन्ने युक्तिले मैले यही विद्यालयबाट आफ्नो जागिरे कर्मको सुरुवात गर्ने निर्णय गरेँ।
सपनामा देखेको भन्दा ठ्याक्कै विपरीत रहेको यो बेनामे विद्यालयलाई नाम दिनु थियो। साना बालबालिकाको सुन्दर भविष्य निर्माण स्थल बनाउनु थियो। जसका लागि सुरु भयो सपनाको बालमैत्री विद्यालय निर्माण अभियान।
शिक्षक, विद्यार्थी तथा अभिभावक सँगै स्थानीय तह र संघसंस्थाको सहकार्य गर्ने कार्यको थालनी गरेँ। यो समय करिब ८ वर्षसम्म निरन्तर रुपमा चल्यो। हाल यस विद्यालयले नाम पाएको छ, 'हिमा आधारभूत विद्यालय कोइरेली', जो हिमा गाउँपालिकाको नमुना विद्यालय हो। यहाँ शिक्षण गर्ने शिक्षक तथा अभिभावकले पहिचान पाएका छन्।
स्थानीय बालमैत्री प्रारुप २०६७ मा रहेका विविध पक्षहरु समावेशीकरण, प्रभावकारिता, शिक्षामा लैङ्गिक पक्ष, परिवार र समुदायको सहभागिता, स्वास्थ्य र सुरक्षा, विद्यालयको भौतिक अवस्था, शिक्षण सिकाइ क्रियाकलाप र विद्यालय व्यवस्थापन जस्ता विविध पक्षको आन्तरिक सुचकांकहरु पूरा गर्दै-गराउँदै अझ यस विद्यालयलाई बालमैत्री बनाउने सपना रहेको छ। भनिन्छ, सपना कहिल्यै पूरा हुँदैन। तर यहाँ सपना पूरा हुँदैछन् मेरा, अभिभावकका अनि समग्र बालबालिकाका।
यहाँ कोही सिक्नका लागि पढ्न आउँछन्। अनि कोही पढ्नका लागि सिक्न आउँछन्। तसर्थ, विद्यालयको अबको गन्तव्य भनेको बालबालिकालाई समान व्यवहार गर्दै जहाँ बालबालिकाको भावना र लोकतान्त्रिक अभ्यासलाई प्रोत्साहन प्रदान गर्दै बालबालिकाले बालमैत्री ढंगले शिक्षा प्राप्त गरून्।
साथै बालबालिकाको अधिकार, दायित्व तथा जिम्मेवारीको पालना र सम्मानजनक रुपमा सुरक्षित वातावरण निर्माण गरून्। बालबालिकालाई कुनै पनि किसिमको भेदभाव नगरी विद्यालयमा स्वागत गर्ने परम्पराको विकास गर्नुछ। विद्यालयलाई लैङ्गिक र जातीय रुपबाट विभेदमुक्त र भौतिक रुपमा सुरक्षित बनाउनुछ।
सबै बालबालिकाको आत्मविश्वास बढाउन र जिज्ञासा तथा उत्साहलाई अभिप्रेरित गर्ने प्रयास गर्नुछ। सिकाइमा दुर्व्यवहार, यातना र शारीरिक तथा मानसिक सजाय नगरी वैकल्पिक उपायहरु अपनाउनुपर्ने छ।
सबै बालबालिकाको शैक्षिक सुधारको लागि समय, संयमता, समझदारी र सहभागितालाई ध्यान दिनुपर्ने छ। उपलब्ध स्रोत-साधनको रचनात्मक तथा सिर्जनात्मक ढंगले अधिकतम सदुपयोग गरी बालबालिकाको समग्र भविष्य निर्माण नै मेरो अबको सपना रहनेछ।
(लेखक हिमा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। उनी नेतृत्वमा आएदेखि विद्यालय नमुनाको रुपमा परिचित छ। जहाँ विद्यार्थीले बालमैत्री वातावरणमा व्यवहारिक र पाठ्यक्रममा आधारित ज्ञान हासिल गरिरहेका छन्।)