अमेरिका न्यु ह्याम्पसायर प्राइमरी: बाइडेन र ट्रम्पको विजय प्रक्षेपण

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाको न्यूह्याम्पसायर राज्यमा भर्खरै सम्पन्न प्राइमरीको मत गणना जारी छ । यद्यपि, अमेरिकी सञ्चार माध्यमहरूले पूर्वअनुमान अनुसार नै जो बाइडन र डोनल्ड ट्रम विजयी हुने अनुमान सार्वजनिक गरिसकेका छन्।

सत्तारूढ डेमोक्रेटिक पार्टीमा जो बाइडन ठूलो मतान्तरले विजयी हुने प्रक्षेपण गरिएको छ । यद्यपि, उनको नाम नै मतपत्रमा थिएन। उनको नाम नै लेखर पनि अत्याधिक डेमोक्रेटिक मतदाताले बाइडनलाई मतदान गरेका छन्।

विपक्षी रिपब्लिकन पार्टीमा निक्की हेलीले डोनल्ड ट्रम्पलाई पछि पार्दै अनौठो गर्ने झिनो आशा पनि निराशामा परिणत भएको छ । मतगणनामा निक्की मत सर्भेक्षणमा देखाएजस्तै दुई अंकले पछि परेकी छिन्। 

अमेरिकी सञ्चारमाध्यमहरूले ट्रम्प विजयी हुने प्रक्षेपण गरेलगत्तै उनले एक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पलाई वधाइ दिएकी छिन्। तर, उनले उम्मेद्वारी नत्याग्ने घोष्णा गर्दै फेब्रुअरू २४ मा साउथ क्यारोलाइनमा भेट्ने चुनौति दिएकी छिन्। हेलीले ट्रम्पलाई सिधा वहसका लागि आमन्त्रण पनि गरेकी छिन्। 

उनले नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा ट्रम्पले बाइडनलाई जित्न नसक्ने बताउँदै आफूले मात्र उनलाई जित्ने दावी गरिन्। उनले रिपब्लिकन पार्टीलाई जिताउने हो भने अझै पनि आफूलाई मतदान दिन आग्रह गरिन् ।

हेलीको सार्वजनिक प्रतिक्रियालगत्तै ट्रम्पले रोष प्रकट गरेका थिए  उनले हेलीलाई हरूवा भएको भन्दै उनले भनेजस्तो केही नहुने बताए। 

त्यसलगतै  आयोजित अर्को एक समारोहलाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले हेलीलाई गाली गर्दै आफूले मात्र जो बाइडनलाई हराउने दाबी गरे । समारोहमा उनलाई समर्थन गर्दै राष्ट्रपति उम्मेद्वारी त्यागेका विवेक रामास्वामी र टिम स्कट पनि सहभागी थिए। 

प्रकाशित मिति: : 2024-01-24 07:31:00

प्रतिकृया दिनुहोस्