राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा पुग्याे मतपत्र, कुन प्रदेशमा कति?

File Photo
File Photo

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका मतपत्रहरू सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पुर्याएकाे छ।

आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई गरी शुक्रबार सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुर्याएकाे हाे।

निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्थाअनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छपाई भएकाे आयोगले जनाएकाे छ।

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्रहरू रहेका छन्।

यसैगरी बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरु रहेका छन्।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्य पदको लागि यही माघ ११ गते निर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि सम्बन्धित प्रदेशका तोकिएका मतदानस्थल तथा मतदान केन्द्रहरुमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मतदान प्रयोजनका लागि ३८ प्रकारका कूल ६९१० मतपत्रहरु छपाई गरी पठाइएको छ।

याे निर्वाचनबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ गते देखि ६ वर्षसम्म रहनेछ।

प्रकाशित मिति: : 2024-01-19 15:20:00

प्रतिकृया दिनुहोस्