नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको ‘गठबन्धन’ सरकारमा सबै भ्रष्टाचारीहरूको शरीर गाँसिएको बताएका छन्।
‘एउटा कसैले भनेको थियो, हाम्रो त घाँटी जोडिएको छ’ एमाले निकट खेलकूद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले भने ‘तर यो गठबन्धन सरकारमा भएकाहरूको त घाँटी मात्रै होइन उनीहरूको त पूरै शरीर नै जोडिएको छ।’
सरकारप्रति ब्यंग्य गर्दै उनले यो ‘गठबन्धन’ सरकारको ’कुण्डली’ पनि बताइदिए।
‘यी एकै बंशका, एकै नश्लका हुन्। यिनको वंशका भ्रष्टाचार हो, यिनका गोत्र निकम्मा गोत्र हो अनि यिनको जात देशद्रोही हो त्यसकारण यिनीहरू एकै ठाउँमा बस्छन्’ उनले भने।
गठबन्धन सरकारलाई बुख्याँचा भन्दै उनले त्यसलाई निकम्मापनको पराकाष्ट पनि भने।
‘यो सरकार तरकारीबारीको बुख्याँचाजस्तो छ। त्यसको केही काम छैन। त्यसमा अहिले त सुगा पनि बस्छन् चराहरू पनि बस्छन्। त्यसले पनि चिनिसकेको छ सरकार बुख्याँचा नै हो’ ओली भने ‘यस्तो निक्मा सरकार छ। निकम्मामात्रै होइन भ्रष्टाचारी सरकार छ।’