चुनौती छिचाेल्दै ‘राष्ट्रिय खेलकुद’ आँटेकाे कर्णाली 

Breaknlinks
Breaknlinks

१०औँ संस्करणको राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुँदैछ।

आगामी वर्ष मसिंर २ देखि ९ गतेसम्म हुने दशाैँ राष्ट्रिय खेलकुदअघि नवाैँ संस्करणकाे खेल गण्डकी प्रदेशमा भएकाे थियाे।

नवौँ राष्ट्रिय खेलुकद समापनपछि गण्डकीले कर्णाली प्रदेशलाई झन्डा हस्तान्तरण गरिएको थियो। सोहीअनुसार १०औँ राष्ट्रिय खेलकुद आयोजना हुन लागेको हो।

अहिले राष्ट्रिय खेलकुदकाे तयारीमा नै जुटिरहेकाे छ, कर्णाली प्रदेश।

कर्णालीमा पहिलोपटक राष्ट्रिय खेलकुद आयोजना गर्न पाउँदा सिङ्गो कर्णाली प्रदेश नै उत्साहित भइरहेकाे कर्णाली खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र सञ्ज्यालले बताए।

उनका अनुसार कर्णालीलाई समृद बनाउने त्याे एउटा सुनाैलाे अवसर हाे।

‘हामी धेरै खुसी छौँ। अहिले हामी यही खेलकुदको तयारीमा जुटिरहेका छौँ’, उनी भन्छन्, ‘यही खेलकुदको कारण कर्णालीमा पर्यटकहरू आउनुहुन्छ भनेर विश्वास राखेका छौँ।’

विगतमा कर्णाली प्रदेशमा एउटा पनि रंगशाला थिएन तर अहिले त्यही कर्णालीले राष्ट्रिय खेलकुदका लागि रंगशाला निर्माण थालेर ७० प्रतिशत काम पूरा गरिसकेको छ।

कर्णालीले आउँदो जेठको दोस्रो सातासम्म रगंशाला निर्माणकाे काम सक्काउन ठेकेदारसँग सम्झौता गरेको छ।

'हामीले पूर्वाधारको हिसाबमा सबैभन्दा ठूलो भेन्यू रगंशालाको काम यही आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखेका छौँ', उनले भने, 'काममा कुनै कमी हुने छैन। यसअघि खेलकुदमा भएका अपूराे काम पनि यसपटक पूरा गर्ने लक्ष्य राखेका छौँ।'

कर्णालीमा खेल विकासका लागि सरकारले यसअघि नै रंगशाला बनाउने काम तीव्रसँग अघि बढाइरहेको थियो।

सोही कारण यतिबेला कर्णालीले फुटबल मैदानको काम लगभग पूरा गरिसकेको छ। ६ हजार कुर्सीको काम सम्पन्न गरिसकेको कर्णालीले कर्भड हलतर्फ सिभल स्टकको कामहरू पनि सकाइसकेको छ।

पूर्वाधारतर्फ एथ्लेटिक्सको लागि ट्रयाक र लाइन मार्किङको कामहरू भइरहेको छ।

१०औँ राष्ट्रिय खेलकुदलाई एउटा अवसरको रुपमा लिएको कर्णालीले १० हजार दर्शक अटाउने रगंशालाको निर्माण गरिरहेकाे छ।

'१० हजार मानिस अट्ने र‍‌ंगशाला निर्माण गर्न लागेका छौँ। त्यहीअनुसार काम अहिले ६ हजार मानिस अट्ने भइसकेकाे छ। अब ४ हजार दर्शक अटाउने प्याराफिट जाेड्न बाँकी छ, त्याे पनि छिट्टै हुन्छ', उनले भने।

राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नपाएको र भौतिक पूर्वाधारको रुपमा कमजोर रहेको कर्णाली प्रदेशले १०औँ राष्ट्रिय खेलकुदलाई चुनौतीभन्दा पनि एउटा अवसरको रुपमा लिएको छ।

राष्ट्रिय खेलकुद आफैँमा एउटा ठूलो प्रतियोगिता हो। तर त्याे मात्र एउटा प्रतयाेगिता मात्र हाेइन, खेलाडीले आफूलाई चिनाउने एउटा प्लाटफर्म पनि हो। त्यही प्रतियोगितामा सहभागी हुन हजारौँ खेलाडी, सयौँ प्रशिक्षक र लाखाैँ समर्थकको भीड लाग्ने गर्छ।

त्यही हिसाबले भौतिक रुपमा कर्णालीले सबै व्यवस्थापन गर्न कठिन देखिने आशंकाहरू पनि गरिएकाे छ। तर राष्ट्रिय खेलकुदमा ती कुराको कुनै पनि अप्ठ्याराे नपर्ने उनकाे दाबी छ।

'कर्णालीमा कसरी बस्ने भन्ने जस्ता प्रश्नहरू उब्जिरहेकाे छ तर त्यसले कुनै असर गर्दैन। हिजाे दिनमा यहाँ कुनै पूर्वाधार थिएन। त्यसैले कसरी व्यवस्थापन गर्ने भनेर प्रश्न गरिन्थ्याे तर अहिले पूर्वाधारलाई चुनाैतीभन्दा पनि अवसरमा लिएका छाैँ',उनले बिएल नेपाली सेवालाई भने, 'त्यसैगरी हामीले बासस्थानकाे व्यवस्थालाई पनि गम्भीररुपमै लिएका छौंँ र हामीले यसलाई पाहुनाको रुपमा लिएर अघि बढाउने छौँ।'

कर्णालीको सुर्खेतमा डेढ लाख मानिसको बसाेबास छ। तिनै मानिसहरूकाे व्यवस्थापनमा कुनै कमी नल्याउने गरी कर्णाली प्रदशले काम अघि बढाइरहेको छ।

१०औँ प्रतियोगिताकाे आयोजनाका लागि बजेट विनियोजन गरिसकेकाे छ। जसमा कर्णाली प्रदेशले आफ्नो टीम तयारीको लागि ८ करोड बजेट छुट्याएको छ भने राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि पहिलो चरणको पूर्वाधारको कामका लागि प्रदेशले ९१ करोड बजेट विनियोजन गरेको छ।

तर नेपाल सरकारले भने कर्णाली प्रदेशलाई १०औँ राष्ट्रिय प्रपितयोगिताकाे लागि भनेर कुनै बजेट छुट्याएको छैन।

प्रदेशले संघीय सरकारलाई डेढ करोडको बजेट मागसहित खेलकुद मन्त्रालयलाई फाइल बुझाएको थियो।

'खेलको हिसाबले राखेपको बोर्ड बैठकले निर्णय गर्ने कुरा हो। राखेपले निर्णय गर्ला तर खेल नयाँ थप्ने कुरा हामी आयोजकले भन्दा राखेपले निर्णय गर्छ। त्यसैले मैले याे खेल हुन्छ भनेर भन्न सक्ने अवस्था छैन', सदस्य-सचिव सञ्ज्यालले भने।

प्रकाशित मिति: : 2024-01-18 19:31:00

प्रतिकृया दिनुहोस्