इरानले गरेको एउटा हवाई आक्रमणको जवाफमा पाकिस्तानले पनि इरानमाथि आक्रमण गरेको छ। मंगलबार इरानी फौजको एउटा हवाई टोलीले पाकिस्तानको सिमानामा आक्रमण गर्दा दुईजना बालबालिकाको मृत्यु भएको थियो।
इरानको त्यो आक्रमणपछि पाकिस्तानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको थियो।
इरानले पाकिस्तानमा लुकिबसेको ‘इरानी आतंकवादी समूह’को आश्रयस्थलमा आक्रमण गरेको भनेको छ। त्यही जवाफ इरानलाई फर्काउँदै पाकिस्तानले पनि इरानमा लुकेर बसेको ‘पाकिस्तानी आतंकवादी’माथि हमला गरेको जनाएको छ।
पाकिस्तानले ‘अप्रत्यासित’ भनेको यो आक्रमण पाकिस्तान र पाकिस्तानी जनतामा लक्षित नभएको भन्दै इरानले आफ्नो राष्ट्रमाथि धावा बोल्ने समूहको खोजी गर्न र उसलाई नष्ट गर्न यो अप्रेशन चलाएको बताएको छ।
‘मित्र राष्ट्र र भ्रातृ राष्ट्र पाकिस्तानका कुनै पनि नागरिकलाई इरानले निशाना बनाएको छैन’, इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानले भनेका छन्, ‘हामी इरानी आतंकवादी समूह जैश अल-अदल समूहको खोजी गरिरहेका छौँ र उसलाई नष्ट गर्न चाहन्छौँ।’
इरानको एउटा क्षेप्यास्त्र सैनिक टोलीले पाकिस्तानी भूमिमाथि प्रहार गरिरहँदा यी विदेशमन्त्री अब्दुल्लाहियान भने स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चमा भाषण गरिरहेका थिए।
इरानले यसअघि इराक र सिरियामा पनि त्यस्तै आक्रमण गरेको थियो। त्यसपछि मंगलबार उसले पाकिस्तानको बलुचिस्तानमा आक्रमण गर्यो। यो आक्रमणको निन्दा गर्दै पाकिस्तानले इरानबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ भने इरानका राजदूतलाई इस्लामावाद फर्किन रोक लगाएको छ।
इरानले केही समयअघि सिमाना नजिकैको रस्क सहरमा भएको आक्रमणको जवाफ भनेको छ। त्यो आक्रमणमा कम्तीमा १२ जना इरानी प्रहरी मारिएका थिए। त्यसको जिम्मेवारी इरानले ‘आतंकवादी’ भनिरहेको जैश अल–अदल समूहले जिम्मेवारी लिएको थियो।
जैश अल–अदल भनेको ‘न्यायको सेना’ भन्ने बुझिन्छ। यो इरानको राज्यसत्ताविरुद्ध विद्रोह गर्दै आएको एउटा सशस्त्र समूह हो। पटक-पटक धावा बोलिरहेको यो समूहलाई ‘नष्ट’ गर्न भन्दै इरानले इराक र सिरियामा पनि आक्रमण गर्दै आएको छ।
सन् २०१२ मा गठन भएको जैश अल–अदल सुन्नी मुस्लिम चरमपन्थी समूह हो जसलाई इरानले ‘आतङ्कवादी’ समूहका रूपमा कालो सूचीमा राखेको छ।
‘यो त्यही समूह हो, जो अहिले पाकिस्तानको बलुचिस्तान प्रान्तका केही भागमा आश्रय लिएर लुकिरहेको छ’, इरानका विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले भनेका छन्, ‘हामीले यस मामिलामा धेरै पटक पाकिस्तानी अधिकारीहरूसँग कुराकानी गरेका छौँ।’
गाजामा इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच युद्ध चर्किरहेका बेला इरानले आफ्ना छिमेकी देशमा आक्रमण गरिरहेको छ।हमासलाई इरानको समर्थन छ।
पाकिस्तानले पनि जवाफी आक्रमण गरेको जनाएको छ।
इरानले क्षेप्यास्त्र हानेको दुई दिनपछि पाकिस्तानले पनि इरानमाथि आक्रमण गर्दै त्यसको जवाफ फर्काएको हो। पाकिस्तानी विदेशमन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै त्यो आक्रमणको पुष्टि गरेका छन्।
त्यसमा इरानमा शरण लिएर बसेका पाकिस्तानी मूलका आतंकवादी समूहलाई ‘निशाना’ बनाइएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।
‘पाकिस्तानले इरानको सिस्तान तथा बलुचिस्तान प्रान्तमा हाम्रा गुप्तचरहरूले दिएको सूचनाका आधारमा आतंकवादी आश्रयस्थलमा आक्रमण गरेको छ’, पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तानले ती आतंकवादीको समूह त्यहाँ लुकेर बसेको भनेर प्रमाण पनि दिएको थियो। पाकिस्तानमा आम नागरिकमाथि हिंसा गरिरहेको त्यो आतंकवादी समूहलाई इरानले शरण दिएर राखेको छ।’
पाकिस्तानले आफ्नो राष्ट्र र राष्ट्रिय सुरक्षाका लागि कुनै पनि सम्झौता नगर्ने र त्यसलाई जोगाउनका लागि जुनसुकै कदम उठाउन पनि तयार रहेको जनाएको छ।
इरानले निरन्तरता दिइरहेको यी आक्रमणहरूको अमेरिकाले निन्दा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले इराक र सिरियापछि पाकिस्तानमा इरानले गरेको आक्रमणबाट अमेरिका ‘चिन्तित’ भएको जनाएका छन्।
‘हामीले देखिरहेका छौँ, पछिल्ला केही दिनमा इरानले तीन छिमेकी देशमा आक्रमण गरिरहेको छ’, उनले भनेका छन्, ‘इरान आफैँ नै आतंकवादी समूहहरूलाई सहायता दिने देश हो।’
उनले यी समस्याहरूको समाधान अमेरिकाले ‘शान्तिपूर्ण’ चाहेको पनि बताए।
भारतले यी आक्रमणहरूबारे आफू जानकार रहेको भन्दै दुई देशको आपसी मामिलामा नबोल्ने जनाएको छ। बरु उसले दुई देश आपसमा मिलेर समस्याको समाधान गर्न पनि भनेको छ।
चीनले पनि दुवै देशलाई ‘शान्ति र संयम’ अपनाउन भनेको छ।
‘इरान र पाकिस्तान दुबै एकदमै नजिकका अनि दुबै ठूला इस्लामिक राष्ट्र हुन्’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेका छन्, ‘हामी दुबै पक्षलाई संयम अपनाउन र अझ तनाव बढाउने खालका कदमहरू नउठान अपिल गर्दछौँ र समस्याको समाधान शान्तिपूर्ण ढंगले खोज्न पनि आग्रह गर्दछौँ।’