गत असोजमा सुर्खेतको पश्चिम भेग पञ्चपुरी नगरपालिका–६, कुवापानीका ४५ वर्षीया नयाराम बुढाले मामाघरमा बसिरहेकी आफ्नी छोरीलाई भेट्न बोलाएर बलात्कार गरे। आफू बलात्कृत भएको कुरा किशोरीले आफ्ना दाइलाई भनेकी थिइन्।
आफ्ना बुबाबाट आफ्नी बहिनी बलात्कृत भएको सहन नसकी किशोरीका दाइ भरत बुढाले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए। बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए।
गत सोमबार बन्चरोले हानेको अवस्थामा बुबाविरुद्ध जाहेरी दिने छाेराको शव फेला पर्यो। उनको शव सबैभन्दा पहिला उनकै बहिनीले देखेकी थिइन्। त्यसपछि उनले गाउँलेलाई खबर गरिन् र गाउँलेले इलाका प्रहरी कार्यालय बाबिया चौरमा खबर गरेका थिए।
लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो। बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
छोराको हत्यापछि फरार भएका बुबालाई प्रहरीले बिहीबार टिकापुर–१, लम्कीपुरबाट पक्राउ गरेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ट नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोलीले मोबाइल लोकेसनका आधारमा टिकापुरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार घटना घटेको दिनदेखि नै सम्बन्धित नाकाहरुमा प्रहरीलाई खटाइसकिएको थियो। लम्कीपुरमा आफन्तको घरमा बसेर भारत जाने तयारी गरिरहेका उनलाई प्रहरीले पक्राउ गरेको थियो।
उनले आफ्नै छोराको बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले प्राप्त गरेका विभिन्न आधारहरूबाट पुष्टि भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन्। स्थानीयबासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन्।
'पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,' उपरीक्षक थापाले भने, 'स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ।'
प्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ। १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्ने अनुसन्धान खटिएका एक अधिकृतको भनाइ छ।
उनका अनुसार बुबामाथि शंका गर्ने आधारहरू भेटिँदै गएका छन्। यता पीडितले पनि बुबाले नै हत्या गरेको प्रारम्भिक बयानसमेत दिएकी छिन्। उनले आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको बयान दिएकी छिन्।
बुबाले नै हत्यापश्चात् घर अगाडिको बाख्राको खोर नजिकै सुकेको डाले घाँसले शवलाई छोपेर फरार भएका थिए। बुबाले हत्या गर्नुको पछाडि बलात्कारसम्बन्धीको विषय जोडिएको छ।
असोज तेस्रो सातातिर छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। कार्तिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ।
प्रहरीका अनुसार ती बाबुले दुईवटा बिहे गरेका थिए। मृतक छाेरा र बलात्कारको शिकार भएकी छोरी जेठी श्रीमतीतिरका हुन्। बलात्कारको जाहेरी परेपछि कान्छी श्रीमती लिएर भारत गएका थिए।
आफूविरुद्ध जाहेरी दिएको भन्दै रिस साँध्न बाबुले नै छोराको हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ। भारतमा रहेका उनी घटना घट्नुको केही दिनअघि मात्रै नेपाल आएका थिए।
घटना बाबुले नै घटाएको भन्दै बुधवार मृतकका काकाले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसमेत दर्ता गराएका थिए।