‘ट्राफिक प्रहरी एक्लैले चाहेर दुर्घटनाहरू रोकिन्न’

नेपालमा सडक दुर्घटनामा परी हरेक दिन औसत आठ जनाले ज्यान गुमाइरहेका छन्। हरेक दिन हुने ५० भन्दा धेरै साना-ठुला सवारी दुर्घटनाहरूमा सयौँ मानिस घाइते पनि हुन्छन्।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण वा नियन्त्रणका लागि राज्यले सडकहरु चौडा बनाउने, ट्राफिक नियमप्रति सचेतना जगाउने, चालक र व्यवसायीलाई जिम्मेवार बनाउनेतर्फ कार्यहरु गरिरहेको छ। तर, पनि नेपाल दक्षिण एसियाली राष्ट्रहरुमध्ये सबैभन्दा बढी सडक दुर्घटना हुने पहिलो स्थानमा रहेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रस्तावनामै दुर्घटना रोकथाम गर्ने, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने, बिमा व्यवस्था गर्नेलगायतका उद्देश्यहरू पूरा गर्न ऐन जारी गरिएको उल्लेख छ। तर यी उद्देश्य पूरा गर्न ऐन, नियमावली तथा दर्जनौँ कार्यविधि र निर्देशिकाहरूमा गरिएको व्यवस्थाको कार्यान्वयन भने कमजोर देखिन्छ।

नेपालमा भएका सडक दुर्घटनामा खासै कारण खोजिन्नन् र खोजिएका कारणमा समाधानका लागि पहल हुँदैन। सरकारसँग भएको तथ्याङ्कअनुसार सबैभन्दा ठूलो दुर्घटनाको कारण चालकको लापरबाही देखिन्छ।

प्रहरीको तङ्थ्याक हेर्दा दुर्घटनाको प्रकृतिअनुसार विवरण हेर्दा तीन कारणले दुर्घटना बढी हुने गरेका छन्। पहिलो- चालकको लापरबाही, दोस्रो- सडक पूर्वाधार र तेस्रो- यान्त्रिक कारण हो।

सडक दुर्घटना न्यूनीकरणलाई नीतिगत रुपमा प्राथमिकता नदिएको भने होइन। तर पनि नेपालमा दिन-प्रतिदिन सडक दुर्घटना किन बढिरहेको छ? यसबारे बिएल नेपाली सेवाले केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीसँग कुराकानी गरेकाे छ।

सवारी साधनको नियमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई छ। तर प्रत्येक दिन साना तथा ठुला सवारी दुर्घटना भइरहेका छन्। नियमन गर्न किन नसक्नुभएको हो? वा कारण के हुन सक्छन्?

ट्राफिक प्रहरीले मुख्यतः दुर्घटनाका कारणलाई ५ भागमा विभाजन गरेर व्याख्या गरेको छ। पहिलो- चालकका कारण, दोस्रो- सवारी साधनका कारण, तेस्रो- यात्रुका कारण, चौथो- सडकको पूर्वाधार र पाँचौँ- मौसमको कारण दुर्घटना हुने गरेका छन्।

त्यसमा पनि चालकका कारण हुने दुर्घटनामा नियम अवज्ञा, जथाभावी ढोका खुल्ला राख्नु, ओभरटेक, तीव्र गति, चालक निदाउनु, मादक पदार्थ सेवन गर्नु, मोबाइल चलाउनु हो।

यस्तै सवारीका कारण हुने दुर्घटनामा यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर, सवारीको बत्ती पनि कारण छन्। कतिपय दुर्घटनाका कारण यात्रु स्वयम् छन्। जसमा उनीहरूले गर्ने व्यवहार मुख्यतः जिम्मेवार छ।

यसलाई नियमन गर्न मुख्य त सडक विभाग, यातायात मन्त्रालय तथा ट्राफिक प्रहरीको काम हो। यसमा ट्राफिकले मात्रै नियमन गर्ने भन्ने होइन र सम्भव पनि छैन। सडक विभाग, यातायात मन्त्रालय, लाइसेन्स वितरक कार्यालय र ट्राफिक प्रहरी मिलेर नियमन गर्ने हो। नियमन पनि भएको छ। तर कहिलेकाहीँ काम गर्दागर्दै सबै रिजल्ट राम्रो आउँदैन, यहाँ पनि भएको यही हो।

सवारी दुर्घटनामा किन सबै दोष चालकलाईमात्रै दिइन्छ?

सवारी दुर्घटनामा चालकहरुलाई बढी दोष देखाउन खोजिएको होइन, सडक दुर्घटनाका ८० प्रतिशत घटना चालकको लापरबाही तथा हेलचेक्र्याइँका कारण भएका छन्। तोकिएको गतिभन्दा बढी गतिमा गाडी चलाउनु र गलत साइडबाट भरटेक गर्ने, गाडी चलाउँदा चलाउँदै निदाउनेजस्ता चालकका दोष अनि कमजोरी हो।

सवारी दुर्घटना न्यूनीकरण नहुनु भनेको कानुनको अभाव र कार्यान्वयन पनि हो कि?

सायद कुनै कानुनको अभाव पनि हुन सक्छन्। पहिलो- नेपालको यातायात नीति, दोस्रो- सडक सुरक्षा जनचेतना अभाव र तेस्रो- सवारी अनुमतिको खुकुलो व्यवस्था हो।

कुन सडकमा कस्तो सवारी गुड्ने? सडकमा हिँड्दा चालक, यात्रु वा सडक प्रयोगकर्ता बटुवाले कस्तो अनुशासन पालना गर्ने र कस्तो मान्छेले सवारी चालक अनुमति पत्र पाउने भन्ने कुरामा मनपरी गर्ने तथा ट्राफिक नियम उल्लंघनको जरिवाना कम भएका कारण चालकले ध्यान नदिँदा सवारी दुर्घटना बढेका हुन्। 

प्रकाशित मिति: : 2024-01-14 20:55:00

प्रतिकृया दिनुहोस्